coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोला तर्न साँघुकै भर

सुदूरपश्चिम प्रदेश

बझाङको घाटगंगामा पुल नहुँदा वारपार गर्न स्थानीयले निर्माण गरेको साँघु। तस्बिरः जगत खड्का/नागरिक

२०७२ असोज २५ गते पहिलोपटक प्रधानमन्त्री हुँदा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर रहेका तुइन, साँघु र फट्केलाई विस्थापित गर्ने भन्दै निर्णयमा हस्ताक्षर गरेका थिए। ती सबै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने उक्त निर्णयमा उल्लेख थियो। हस्ताक्षर गरेको दोस्रो पटक उनी देशको पुनः प्रधानमन्त्रीको बनाएका थिए। दोस्रो पटक प्रधानमन्त्री भएको पनि करिब तीन वर्ष पुग्न थालेको छ। तर पनि दुर्गम क्षेत्रका केही तुइन विस्थापित भए पनि साँघु र फड्केको अवस्था भने उस्तै छ।  

सुदूरपश्चिमका सात पहाडी जिल्लाका साथै कैलालीका दुई पहाडी गाउँपालिकाका स्थानीय खोला तर्न साँघु र फड्केकै प्रयोग गर्न यहाँका स्थानीयवासी बाध्य छन्। बझाङको विकट गाउँपालिकाका रूपमा रहेको साइपालमा फड्के तथा साँघुकै भरमा स्थानीयले खोला वारपार गर्नु पर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर बोहरा बताउँछन्।  

‘हाम्रो गाउँपालिकाका २० ठाउँमा साँघु तथा फड्के प्रयोग गरेर स्थानीय खोला वारपार गर्न बाध्य छन्,’ उनले भने, ‘ती ठाउँमा झोलुङ्गे पुल निर्माणका लागि पटक पटक गाउँपरिषद्को निर्णयसहित प्रदेश र संघीय सरकारलाई आग्रह गर्दा पनि कुनै वास्था भएन।’ गाउँमा जाँदा स्थानीयले पहिलो मागका रूपमा फड्के तथा साँघु विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गरिदिन आग्रह गर्ने गरेको अध्यक्ष बोहराको भनाइ छ।  

झोलुङ्गे पुल निर्माणका लागि पटक पटक गाउँपरिषद्को निर्णयसहित प्रदेश र संघीय सरकारलाई आग्रह गर्दा पनि कुनै वास्था भएन। –साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर बोहरा।  

‘गाउँलेको पहिलो विकास भनेकै साँघु र फड्के विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गरिदिनु भन्ने छ,’ उनले भने, ‘गाउँपालिकाको बजेटले पुग्दैन, माथिका सरकारले हाम्रा कुरा सुन्दैनन्।’ सदरमुकाम चैनपुरसँगै जोडिएको डुग्रीगाड, बाउलीगाड, सुनिगाड, लाक्षीगाड, डिलगाडका वारिपारिका बस्तीमा आउजाउ गर्न स्थानीय साँघु प्रयोग गर्दै आएका छन्।  

सेती  नदीमा पुल नहुँदा साँघुको भरमा वारपार गर्नुपर्ने बाध्यता रहेको साइपाल–१, धलौनाका नरबहादुर बोहराले बताए। ‘सेती नदीमा वारपार गर्ने झोलुङ्गे पुल नहुँदा ज्यान जोखिममा राखेर कतै फड्के त कतै साँघु तर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘सरकारसँग हामीले केही विकास मागेका छैनांै, मात्र झोलुङ्गे पुल माग्दै आएका छौँ।’  

केपी ओली प्रधानमन्त्रीको सपथ खाँदै गर्दा देशलाई तुइन, साँघु र फड्के मुक्त बनाउने भनेको सुन्दा खुसी लागेको बताउँदै काँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक उज्जले बोहराले भने, ‘ओली दुई पटक गरेर प्रधानमन्त्री भएको पाँच वर्ष वितिसक्दा पनि अहिलेसम्म गाउँमा साँघु विस्थापित भएर झोलु्ङ्गे पुल निर्माण हुन सकेको छैन।’  

पुल नहुँदा वर्षेनी विद्यार्थीले विद्यालय आउँदा खोलामा बगेर ज्यान गुमाउनु परेको बाध्यता यथार्थ भएको उनको भनाइ छ। ‘हाम्रै विद्यालयमा आउने कयौँ विद्यार्थीले पुल नहुँदा खोलामा बगेर ज्यान गुमाएका छन्,’ उनले भने, ‘यसतर्फ सरकारले चाँडै ध्यान पु¥याएर आवश्यक ठाउँमा झोलुङ्गे पुल निर्माण गरोस्।’  साँघु तथा फड्के तर्दै गर्दा रिंगटा लागेर नदीमा खस्दा बालबालिका तथा स्थानीयको मृत्यु हुनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ। 

प्रकाशित: २४ असार २०७७ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App