coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सीमावर्ती क्षेत्रमा संक्रमणको जोखिम बढ्दै

विराटनगरको रानीस्थित सीमा क्षेत्र । लकडाउन खुकुलो भएसँगै यो क्षेत्रबाट सीमावारपार गर्नेहरू बढेका छन् । तस्बिर : चुमन बस्नेत/नागरिक

कोरोनाको त्रास बढ्दै गएपनि मोरङमा भारतसँगको सीमा क्षेत्रमा ओहोरदोहोर गर्ने क्रम रोकिएको छैन । दुवै देशमा लकडाउन गरी अन्तर्राष्ट्रिय सीमा बन्द भए पनि लुकिछिपी ओहोरदोहोर गर्ने क्रम सीमावर्ती क्षेत्रमा बढ्दो छ ।  

भारतसँगको मुख्य नाकाहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहे पनि अन्य सहायक नाकाहरूबाट सजिलै मानिसहरू आवतजावत गरिरहेका छन् । खुला सीमानाका कारण भारतबाट नेपाल भित्रन सजिलो हुने गरेको छ । आवतजावत बढेसँगै सहायक नाकाहरूबाट चोरी तस्करी मौलाएको छ । मुख्य नाकामा सुरक्षाकर्मीहरूले कडाइ गरे पनि साना नाकाहरूबाट हुने आवतजावतलाई सुरक्षाकर्मीहरूले वेवास्थागर्दै आएका छन् । भारतबाट अवैध रूपमा आउने मानिसहरूका कारण प्रदेश १ को राजधानी विराटनगरलगायतका सीमावर्ती क्षेत्रका बस्तीहरू कोरोना संक्रमणको उच्च जोखिममा छन् ।  

पछिल्लो समय विराटनगरको जोगबनी नाका आसपासका सहायक नाकाहरूबाट भारततर्फ किनमेलका लागि जानेहरूको भीड बढेको छ । यसरी जाने नेपाली उपभोक्ताबाट नेपालमा कोरोना भित्रने र समुदायमै संक्रमण फैलने खतरा रहेको स्थानीयवासीको भनाइ छ । नाकाबाट अवैध रूपमा हुने आवतजावत रोक्न विराटनगर महानगरपालिकाले विशेष पहल गरिरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी  पोखरेलले बताए । 

उनले नेपालबाट भारततर्फ किनमेलका लागि विराटनगरस्थित मटेरुवा र दरैया बस्ती नाका प्रयोग गरी दैनिक सयौंको संख्यामा मानिसहरू जाने गरेको गुनासो आएपछि प्रहरीलाई जानकारी गराएर तीनाकाबाट हुने आवतजावत रोकिएको दाबी गरे । ‘मटेरुवा र दरैया बस्तीको नाका प्रयोग गरी भारतर्फ किनमेल गर्न जानेहरूलाई  रोक लगाइएको छ ।’ पोखरेलले भने । भारतसँग खुला सीमाना भएका कारण अवैध रूपमा हुने आवतजावत पूर्णरूपमा नियन्त्रण गर्न भने चुनौती रहेको उनले स्पष्ट पारे ।

यसका साथै मोरङका अन्य गाउँपालिका तथा नगरपालिकाका नाकाहरूबाट पनि अवैध रूपमा आवतजावत गर्ने क्रम बढेको छ । लकडाउन खुकुलो भएसँगै किनमेलका लागि सीमापारी जानेहरूको संख्या बढ्दो छ । मोरङको जहदा, धनपालथान, रंगेली, सुनवर्षी र रतुवामाई नगरपालिका भारतसँग सीमा जोडिएका छन् । यी स्थानीय तहका विभिन्न नाकाहरूबाट लुकिछिपी आवतजावत गर्ने क्रम बढ्दो छ ।

मल र बीउको जोहो गर्न पनि भारत नै जानुपर्ने बाध्यताका कारण कतिपय नाकामा प्रहरीले समेत नजरअन्दाज गर्दै आएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले सहजै रूपमा आवतजावत गर्न नदिइएको दाबी गरे । उनले नेपाल र भारतबीच भएको सहमति अनुसार मुख्य नाकाबाट मात्रै सुरक्षाका उपाए अपनाएर भारततर्फ जाने र नेपाल भित्रने व्यवस्था गरिएको जानकारी दिए  । प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा निगरानी बढाएसँगै अवैधरूपमा आवतजावत गर्नेहरू धमाधम पक्राउ परिरहेको डिएसपी राईले बताए ।  

उनले अवैध रुपमा पक्राउ परेकाहरूलाई कारबाही थालिएको जानकारी दिए । ‘अवैध रूपमा आवतजावत गर्नेलाई पक्राउ गरी कारबाही गर्न थालिएको छ ।’ उनले भने । कतिपय अवस्थामा व्यवहारीक समस्याका कारण पूर्णरूपमा रोक लगाउने समस्या भएको प्रहरीको भनाइ छ । भारतीयहरू नेपालतर्फ खेतीगर्न आउने र नेपालका पनि भारततर्फ खेतीगर्न जाने गरेका कारण यस्ता किसानहरूलाई रोक्न समस्या हुने गरेको डिएसपी राईले बताए । यसरी भारततर्फ खेतीगर्न जाने नेपाली किसान र नेपालतर्फ खेतीगर्न आउने भारतीय किसानको निगरानी गर्न स्थानीयतहमार्फत व्यवस्था गरिएको बताइएको छ ।

प्रकाशित: २३ असार २०७७ १४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App