coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छथर जोरपाटी गाउँपालिकामा बसाई सरेर आए, लहिनो गाई उपहार

सुविधा भएको ठाउँमा बसाई सर्नेक्रम बढेको बेला धनकुटाको छथर जोरपाटी गाउँपालिकाले स्थायी रुपमा बसाइँ सरी आउने परिवारलाई आकर्षित गर्न दुहुनो गाई उपहार दिन थालेको छ । गाउँको बाँझो जमिनको उपभोग र कृषि उत्पादनलाई बृद्धि गर्नको लागि दुहुनो गाई उपहार कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले बताए ।  

खाली, खोल्सा तथा बाँझो जमिनको सदुपयोग गर्न चालू आर्थिक वर्षमा छथर जोरपाटी गाँउपालिकामा स्थायी रुपमा बसाइँ सरी आएका नौ घरपरिवारलाई लहिनो दुहुना गाई उपहार दिइएको छ । गाउँपालिकाभित्र स्थायी रुपमा बसाइँ सरी आएको कम्तीमा तीन महिना भएका परिवारलाई दुहुनो गाई वितरण गरेको अध्यक्ष लिम्बूले बताए ।  

छथर जोरपाटी गाउँपालिका कोशी राजमार्गको दायाँबायाँमा रहेको छ । सिधुवा, जोरपाटी, काजिमाने, चुलाचुली जस्ता साना बजारसमेत विस्तार भएको यो गाउँपालिका कृषि र पशुपालनको लागि अग्रणी मानिन्छ । यो गाउँपालिका मौसमी र बेमौसमी सिजनमा तरकारी उत्पादन हुन्छ । दुध उत्पादन हुने मुख्य क्षेत्र नै यही हो । यो गाउँपालिकाबाट मात्र वार्षिक करीब एक अर्बको तरकारी र दुध निकासी हुने गरेको तथ्य रहेको छ । त्यसैले बसाइँ सरी आएका परिवारलाई तत्कालको लागि जीविकोपार्जनमा समस्या पर्ने र दुहुनो गाई भएपछि तत्काल दुध बेचेरै पनि केही आम्दानी हुने भएकाले यो कार्यक्रम अघि सारिएको अध्यक्ष लिम्बूको भनाइ छ ।  

गाउँपालिकामा स्थायी बसोबास गर्न आएकाहरूलाई गाई उपहार कार्यक्रमले प्रोत्साहन मिल्नुको साथै खाली, खोल्सा तथा बाँझो जमिन सदुपयोग गर्न सहयोग पुग्नेछ । चालू आर्थिक वर्षमा यस गाउँपालिकामा महालक्ष्मी नगरपालिकाबाट दुई, पाख्रीबास नगरपालिकाबाट एक र धनकुटा नगरपालिकाबाट नौ घरपरिवार बसाइँ सरी आएको गाउँपालिकाको रेकर्ड रहेको छ ।  

गाउँपालिकाले जिल्ला भित्र वा बाहिरी जिल्ला जहाँसुकैबाट बसाइँ सरी आएको भए पनि ती परिवारहरूलाई दुहुनो गाई उपहार दिने जनाएको छ । गाईको गाउँपालिकाले नै निःशुल्क बीमाको समेत व्यवस्था गरेको छ ।

यसैबीच गाउँपालिकाले खाली तथा बाँझो रहेका जग्गा सदुपयोग तथा कृषि व्यवसायलाई व्यवसायीकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बढाउन कृषि प्रवर्द्धन स्रोत भर्ना सापटी कार्यक्रमका लागि २० लाख रुपैयाँ छुट्याइएको छ । यस्तै कृषि क्षेत्रमा किसानलाई प्रोत्साहन गर्न ‘सय मुरी धान उत्पादन गरे बीस हजार रुपैयाँ पुरस्कार’ कार्यक्रमहरू समेत रहेको अध्यक्ष लिम्बुले बताए । यी कार्यक्रम सञ्चालनको लागि आर्थिक वर्ष २०७७/७८ मा एक करोड ४७ लाख ४५ हजार बजेट विनियोजन गरेको छ । पशुपालन कार्यक्रमको लागि एक करोड १५ लाख २ हजार बजेट रहेको छ ।

प्रकाशित: २३ असार २०७७ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App