१५ चैत्र २०८० बिहीबार
समाज

पहिरोको जोखिममा स्थानीय तह, विपद् व्यवस्थापन योजना छैन

बैतडीका ८ वटा स्थानीय स्थानीय तह पहिरोको जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका १० स्थानीय तहमध्ये पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलासैनी गाउँपालिका पहिरोको जोखिममा रहेका छन् ।

पहिरोको जोखिममा रहेका स्थानीय तहमध्ये ४ स्थानीय तहले विपद् व्यवस्थापन योजना बनाएका छैनन । पहिरो लगायतका प्रकोपबाट हुने क्षति कम गर्न विपद् व्यवस्थापन योजना बनाएर लागू गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।  प्रत्येक स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन योजना हुन ुपर्ने भएपनि जिल्लाको सुर्नया गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले अझै पनि विपद् व्यवस्थापन योजना बनाएका छैनन् । उनीहरुले कार्यविधि बनाएर काम गरिरहेको बताउका छन् ।

जिल्लाको पुर्चौंडी नगरपालिकाले पनि योजना बनाएको भए पनि नगरसभाबाट पारित भने गर्न सकेको छैन् । चालु आर्थिक वर्षमा विपद् व्यवस्थापन योजना बनाएको नगरपालिकाले केही दिनमा पारित गर्ने तयारी गरेको नगरपालिकाका सूचना अधिकारी प्रबीन धानुकले बताए ।

अहिलेसम्म पहिरोले पुर्याएको क्षति, प्रकोपको स्तरीकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा ८ ओटा स्थानीय तह पहिरोको जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए । सुर्नया र पाटन बाहेक अरु स्थानीय तह पहिरोको जोखिममा छन् ।

ती दुई स्थानीय तहमा पनि पहिरोको जोखिम कायमै रहेको छ । जिल्लामा विभिन्न किसिमका प्रकोपहरुको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । जिल्लाको पुर्चौडी नगरपालिकाको मल्लादेही क्षेत्र, न्वादेउ, डिलासैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन् । यस्तै मेलौली नगरपालिकाको–८ र ९, विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा छन् ।

पहिरोका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको  स्थानीय बताउँछन् । स्थानीय तहहरुसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा के गर्ने कसो गर्ने भन्ने अलमल हुने गरेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए । विपद् व्यवस्थापन योजनाको अभावमा राहत, उद्धार तथा अन्य कार्यहरु परिचालन गर्न समस्या हुने गरेको छ ।

प्रकाशित: २३ असार २०७७ ०९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App