१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुदूरपश्चिम प्रदेश : खोला तर्न साँघुकै भर !

बझाङको घाटगंगामा पुल नहुँदा वारपार गर्न स्थानीयले निर्माण गरेको साँघु । तस्बिरः जगत खड्का/नागरिक

२०७२ असोज २५ गते  पहिलोपटक प्रधानमन्त्री निर्वाचितपछि पदभार ग्रहण गर्दै तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर रहेका तुइन, साँघु र फट्केलाई विस्थापित गरेर ती ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने भन्दै निर्णयमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेको दोस्रो पटक उनी देशको प्रधानमन्त्रीको पदमा पुनः आसिन छन् । तर, उनी दोस्रो पटक प्रधानमन्त्री बन्दा समेत दुर्गम क्षेत्रका केही तुइन विस्थापित भए पनि साँघु र फड्केको अवस्था उस्तै छ ।  

सुदूरपश्चिमका सात पहाडी जिल्लाका साथै कैलालीका दुई पहाडी गाउँपालिकाका स्थानीय खोला तर्न साँघु र फड्केकै प्रयोग गर्न बाध्य छन् । बझाङको विकट गाउँपालिकाका रुपमा रहेको साइपालमा फड्के तथा साँघुकै भरमा  स्थानीयले खोला वारपार गर्नु परेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर बोहरा बताउँछन् । ‘हाम्रो गाउँपालिकाका २० ठाउँमा साँघु तथा फड्के प्रयोग गरेर स्थानीय खोला वारपार गर्न बाध्य छन्,’ उनले भने,‘ती ठाउँमा झोलुङ्गे पुल निर्माणका लागि पटक पटक गाउँपरिषद्को निर्णयसहित प्रदेश र संघीय सरकारलाई पत्राचार गर्दा पनि सुनुवाइ नै भएको छैन ।’ 

गाउँमा जाँदा स्थानीयले पहिलो मागका रुपमा फड्के तथा साँघु विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गरिदिन आग्रह गर्ने गरेको उनले बताए । ‘गाउँलेको पहिलो विकास भनेकै साँघु र फड्के विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गरिदिनु भन्ने छ,’ उनले भने,‘गाउँपालिकाको बजेटले भ्याउँदैन, माथिकाले हाम्रा कुरा सुन्दैनन् ।’ सदरमुकाम चैनपुरसँगै जोडिएको डुग्रीगाड, बाउलीगाड, सुनिगाड, लाक्षीगाड, डिलगाडका वारिपारिका बस्तीमा आउजाउ गर्न स्थानीय साँघु प्रयोग गर्दै आएका छन् ।  

सेती  नदीमा पुल नहुँदा साँघुको  भरमा वारपार गर्नुपर्ने बाध्यता रहेको साइपाल–१, धलौनाका नरबहादुर बोहरा बताउँछन् । ‘सेती नदीमा वारपार गर्ने झोलुङ्गे पुल नहुँदा ज्यान हत्केलामा राखेर कतै फड्के त कतै साँघु तर्नुपर्ने बाध्यता छ,’ उनले भने,‘राज्यसँग हामीले केही विकास मागेका छैनौ, मात्र झोलुङ्गे पुल माग्दै आएका छौँ ।’ 

केपी ओली प्रधानमन्त्रीको सपथ खाँदै गर्दा देशलाई तुइन, साँघु र फड्के मुक्त बनाउने भनेको सुन्दा खुसी लागेको बताउँदै काँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक उज्जले बोहराले भने,‘ओली प्रधानमन्त्री भएको पाँच वर्ष वितिसक्दा पनि अहिलेसम्म गाउँमा साँघु विस्थापित भएर झोलु्ङ्गे पुल निर्माण हुन सकेको छैन ।’ पुल नहुँदा वर्षेनि विद्यार्थीले विद्यालय आउँदा खोलामा बगेर ज्यान गुमाउनु परेको तीतो यथार्थ उनले सुनाए । ‘हाम्रै विद्यालयमा आउने कयौँ विद्यार्थीले पुल नहुँदा खोलामा बगेर ज्यान गुमाएका छन्,’ उनले भने,‘यसतर्फ सरकारले चाँडै ध्यान पुर्याएर आवश्यक ठाउँमा झोलुङ्गे पुल निर्माण गरिदेओस् ।’  

साँघु तथा फड्के तर्दै गर्दा  रिँगटा लागेर नदीमा खस्दा मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । हत्केलामा ज्यान राखेर साँघु तथा फड्के तर्नुपर्ने बाध्यता रहेको बताउँदै डोटीको कानाचौर मेल्टाका शेरबहादुर साउँद बताउँछन् ।

प्रकाशित: २३ असार २०७७ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App