coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सरकारलाई जिम्मेवार बनाउन भोकै संघर्ष

११ दिनदेखि धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा अनशन बसिरहेका बम र ईः । तस्बिरः नागरिक

११ दिनदेखि शरीरअन्नपानी बिहिन छ । जिउ लल्याकलुलुक र अनुहार टिठ लाग्दो । बाँच्ने सहारा केवल स्लाइन पानी बनेको छ । उनी हुन्, ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ताद्वय पुकार बम र ईः।

उनीहरू कुनै रोग लागेर अस्पतालको शड्ढयामा पुगेका होइनन् । सरकारको ‘जटिल’ घाउ पुर्न अस्पताल पुगेको बताउँछन् । बम र ईः ११ दिनदेखि धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा अनशन बसिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९)का बेला सरकारले गर्नुपर्ने आधारभूत काम नगरेको भन्दै उनीहरू सरकारको ध्यानाकर्षण गराउन अनशन बसेका थिए । ५ दिन पाटनको मंगलबजारमा अनशन बसेका उनीहरू शरीरथला पर्न थालेपछि ह्याम्स अस्पताल सरेका थिए ।  

अस्पताल पुगेको ६ दिन भयो । दुवैको शरीरमा उर्जा कम हुँदै गएको छ । आइतबार नागरिकसँग कुरा गर्दैगर्दा उनीहरूको स्वरमा थोरै दम थियो, तर सवालजवाफ गर्नुपर्ने कुरा धेरै थिए । अस्पतालको बेडमा पल्टिरहेका उनीहरूसँग पालैपालो कुराकानी भयो । कुराकानीको क्रममा उनीहरु एक अर्काको कुरालाई खुब ध्यान दिइरहेका थिए ।

स्वर सुन्दै बम निकै गलिसकेको महसुस हुन्थ्यो । तर पनि उनी आफ्ना कुरा सानो स्वरमा सुनाउँदै थिए । ‘केही शीर्ष व्यक्तिहरू आइरहनु भएको छ, प्रधानमन्त्री ज्यु पनि भेट्न आउनु भएको थियो, तर उहाँले हामीले उठाएको मागभन्दा पनि बाहिरी विषयमा कुराकानी गर्नुभयो,’ उनले भने ।

दुई युवा अनशन बस्दैगर्दा धेरै व्यक्तिहरू अस्पताल पुगेसकिकेका छन् । नेपाली कांग्रेसका नेता गगनकुमार थापा, साझा पार्टीका नेता रविन्द्र मिश्र, पूर्व युवराज पारस शाहलगायत व्यक्तिले अनशनरत दुई युवालाई भेटिसकेका छन् । बिहिबार प्रधानमन्त्री केपी शर्मा ओली पनि अभियन्ताद्धयलाई भेट्न अस्पताल पुगेका थिए ।  

उनले अभियन्ताद्धय समक्ष अनशन तोड्न आग्रह गर्दै माग पुरा गर्ने बचन दिएका थिए । तर, हालसम्म पनि सरकारले ठोस समाधान खोज्न सकेको छैन । सरकार अनिच्छुक भएको उनीहरूको भनाइ छ । पानीसमेत नखाएर अस्पताको कक्षमा बम र ईः वल्लोपल्लो बेडमा सुतेका छन् । यो सत्याग्रहको सुरुवात ईः ले नै गरेका हुन् । सत्याग्रहको धेरै दिन भएकाले उनको शरीर कमजोर भएको छ ।

सकिनसकी ईः अभियानको बारेमा बोल्न खोज्दै थिए । ‘हामीले अरु केही मागेका थिएनौं, नत हाम्रो कुनै स्वार्थ थियो, सरकारले गर्नुपर्ने र आम नागरिकले पाउनुपर्ने अधिकार उठाएका थियौं, सरकार सुन्दैन,’ ईःले भने । जेठकोे पहिलो सातादेखि काठमाडौंलगायत देशभर भएको प्रदर्शनको मुख्य जिम्मा ईःकै काधँमा थियो । उनको कलात्मक डिजाइनमा अन्य धेरै व्यक्तिले सहयोग गरेपछि ‘इनफ इज इनफ’ अभियानले व्यापकता पाएको थियो ।

ईः ले हामीसमक्ष केही कुरा राखेपछि बेडमा अडेस लगाएर बसेका बमले पनि केही कुरा थपे । ‘हामी मर्न तयार छौं, तर, सरकारले युवाले राखेका माग पूरा नगरेसम्म अनशन तोड्दैनौं,’ उनले भने । लामो समय सडकमा प्रदशर्न गरेर सरकार निकम्मा बनेको भन्दै उनीहरूले सत्याग्रह थालेका थिए । सडकमा प्रदर्शन भइरहेका बेला उनीहरूप्रति चासो नराखेका प्रधानमन्त्री ओली बिहीबार दुई युवालाई भेट्न ह्याम्स अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री त्यहाँ पुगेर युवालाई फरक आश्वासन दिएका थिए । अभियन्ता बमकाअनुसार प्रधानमन्त्रीले आफूहरूलाई भेट्न आएको बेला बेसार पानी पिउन अनुरोध गरेका थिए । तर, आफ्ना मागका विषयमा खास कुराकानी नगरेको उनले बताए । ‘माग पुरा गर्ने भए पहिले नै हुन्थे, प्रधानमन्त्री अस्पताल पुग्नुको कारण भावना र ध्यान खिच्न हो,’ ‘इनआफ इन इनअफ’ गु्रपका सदस्य मिथिलेस शर्माले भने । ईः र बमसँगै सुदन गुरुङ रसुबानी सिजपतिले पनि अनशन बसेका थिए । उनीहरूले स्वास्थ्य समस्याका कारण अनशन तोडिसकेका छन् ।  

कोभिड–१९ रोकथाममा सरकारको भूमिका ठिक नभएको र त्यसलाई प्रभावकारी बनाउन ‘इनअफ इज इनअफ’ अभियानका युवाहरू सरकारको ध्यानाकर्षण गराउन एक महिनादेखि सडकमा छन् । तर, सरकारले ती माग पूरा गर्न सकेको छैन ।  

अन्य समयमा युवाको प्रदर्शन र बिरोधलाई वास्ता नगर्ने प्रधानमन्त्री ओलीले आफूमाथि चौतर्फी आलोचना र कमजोर बनाउने आधारहरू तय भइरहेको बेला युवालाई भेट्न अस्पताल पुगेका हुन् । साझा पार्टी नेपालका सहप्रवक्ता शरदराज पाठकले राज्यको नागरिकप्रतिको कर्तव्य युवाहरूले स्मरण गराएको बताए । तर, सरकारले त्यसलाई वास्ता नगरेको उनको भनाइ छ । प्रशर्दनको माध्यमबाट सरकारको आवाज नसुनेपछि उनीहरू अनशन बसेका थिए ।

प्रकाशित: २३ असार २०७७ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App