४ वैशाख २०८१ मंगलबार
समाज

बढ्दो आवतजावतले संक्रमण बढायो

लकडाउन कडा हुन्जेल उपत्यकामा संक्रमित निकै थोरै थिए। त्यति बेला उपत्यकामा सहज रूपमा भित्रिन सक्ने वातावरण थिएन। सरकारले असार १ गतेदेखि मोडल परिवर्तन गर्दै लकडाउन खुकुलो पा¥यो। त्यसपछि उपत्यकामा आवतजावतमात्रै होइन, संक्रमितको संख्या पनि बढ्न थालेको छ। सोमबार एकै दिन उपत्यकामा ५४ संक्रमित थपिए। उपत्यकाको हकमा एकै दिन भेटिएको यो संख्या हालसम्मकै बढी हो। बढी जनघनत्व भएको ठाउँमा संक्रमण बढ्दा त्यसले भयावह रूप लिने सक्ने अवस्था देखिएको छ।  

उपत्यकामा बढ्दो संक्रमणको मुख्य कारण सवारीसाधनको चाप र मानिसको भिडलाई मानिएको छ। यातायातकर्मी प्रेमबहादुर थापाले उपत्यकामा निजी सवारीसाधन र मानिसको अनियन्त्रित आवतजावतले जोखिम बढाएको बताए। ‘अहिले एकातिर लकडाउन पनि भनिएको छ, अर्कोतिर जोरबिजोर प्रणालीका आधारमा निजी सवारीसाधन चल्न पनि दिइएको छ,’ उनले भने, ‘तर नियम मिच्ने निजी सवारीसाधनलाई कारबाही पनि गरिएको छैन।’ सरकारले जोरबिजोर प्रणालीमा कडाइ गर्न भने पनि ट्राफिक प्रहरीबाट त्यसको पालना हुन नसकेको उनको भनाइ छ।

उपत्यका प्रवेश गर्ने सीमा नाकामा खासै कडाइ छैन। प्रहरीले वडाको सामान्य सिफारिस र कोही चिनजानका मानिसको नाम लिएकै भरमा यात्रुलाई उपत्यका प्रवेश गर्न दिने गरेको छ।

उपत्यका प्रवेश गर्ने सीमा नाकामा खासै कडाइ छैन। प्रहरीले वडाको सामान्य सिफारिस र कोही चिनजानका मानिसको नाम लिएकै भरमा यात्रुलाई उपत्यका प्रवेश गर्न दिने गरेको छ। कोरोना संक्रमित नदेखिएका बेला लकडाउन कडा पार्नु र संक्रमित बढेसँगै खुला गर्दै जानु सरकारकै लापरबाही रहेको यातायात अधिकारकर्मी नरेन्द्र चुदालीको बुझाइ छ। उनले सीमा नाकामा केही समय अझै कडाइ गर्नुपर्ने आवश्यकता औंल्याए। ‘उपत्यकाका सबै नाकामा झारा टार्नेखालका जाँच भइरहेका छन्, संक्रमितको संख्या बढिरहँदा ती नाकामा भइरहेको निगरानी सन्तोषजनक छैन,’ उनले भने, ‘यो उपत्यकाको स्थिति भयावह बन्ने संकेत हो।’  

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले गृहले सीमा नाकामा कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको बताए। पास लिएर पनि उपत्यकामा प्रवेश गर्नेको संख्या बढिरहेकाले जोखिम देखिएको हुन सक्ने उनले बताए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले उपत्यकाका नाकाबाट दैनिक पाँच हजार सवारीसाधन उपत्यका बाहिरिने र त्यति नै संख्यामा भित्रिने गरेको जानकारी दिए। ‘उपत्यका भित्रिने गाडीमा यात्रुवाहक मात्र पर्दैनन्, अत्यावश्यक सामग्री बोक्ने पनि पर्छन्,’ उनले भने। उनका अनुसार यात्रुवाहकबाहेक करिब आठ सयवटा टिपर र अत्यावश्यक सामग्री बोकेका १२ सय सवारीसाधन उपत्यका प्रवेश गर्छन्। उपत्यका भित्रिने सवारीसाधनमध्ये तीन÷चार सयवटाले मात्रै पास लिएका हुन्छन्। पछिल्लो समय दैनिक १५ सयदेखि दुई हजार सवारीसाधनलाई लकडाउन उल्लंघनकै कारण कारबाहीमा पर्ने गरेको उनको भनाइ छ।

मास्क नलाई घरबाहिर निस्के कारबाही
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गृह मन्त्रालयले मास्कबिना ओहोरदोहोर गर्न रोक लगाएको छ। सोमबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न भनेको हो।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई नियम मंगलबारदेखि देशैभर कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ। पक्राउ परेकालाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही अघि बढाउने जनाइएको छ।  

मन्त्रालयका सूचना अधिकारीले रोग सार्ने डरका कारण यस्तो निर्णय गरिएको बताए। ‘कोरोनाबाट बच्ने न्यूनतम साधन मास्क पनि हो,’ उनले भने, ‘त्यसैले गृहले यस्तो निर्णय गरेको हो।’

उनका अनुसार लामो यात्रा गर्दा, कार्यालयमा बस्दा र सडकमा निस्कँदा अनिवार्य मास्क लगाउने गृहले आग्रह गरेको छ। यसबाहेक भेटघाट वा छलफल हुँदा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न पनि आग्रह गरिएको छ।

प्रकाशित: २३ असार २०७७ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App