६ चैत्र २०८० मंगलबार
समाज

असार १० भित्रै ल्याउनुपर्ने नीति कार्यक्रम गोरखाका दुई पालिकाले ल्याएनन

गाउँपालिकाको फोटोहरू ।

असार १० गते भित्र ल्याउनुपर्ने नीति कार्यक्रम दुई साता बितिसक्दा समेत गोरखाका दुईवटा गाउँपालिकाले ल्याउन सकेको छैन । दुई नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा सिरानचोक र गण्डकी गाउँपालिकाले नीति कार्यक्रम ल्याउन बाँकी छ ।

चुमनुब्री गाउँपालिकाले गत शनिबार नीति कार्यक्रम ल्याएको हो भने अन्य सबै पालिकाले असार १० भित्रै ल्याएका थिए । गण्डकी गाउँपालिका र सिरानचोक गाउँपालिकाको केन्द्रको बिषयमा सहमती जुट्न नसक्दा आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रम आउन नसकेको हो ।  

स्थानीय तहको योजना तथा बजेट तर्जुमा गर्दा असार १० भित्र नीति कार्यक्रम र असार मसान्त भित्र बजेट कार्यक्रम ल्याइसक्नुपर्छ । नीति कार्यक्रम ल्याउन ढिला गरेका स्थानीयतहलाई बजेट समयमै ल्याउन चुनौती थपिएको छ भने सरकारले दिने अनुदान घट्ने खतरा पनि बढेको छ ।  

‘तयार गर्दागर्दै केही ढिला भयो,’ सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले भने, ‘असार मसान्त भित्र ल्याउने तयारीमा छौं।’ नीति कार्यक्रम र बजेट सँगै ल्याउने योजना सिरानचोकको छ । गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाले कोरोना संक्रमित धेरै देखिदाँ व्यवस्थापनमा कर्मचारी, जनप्रतिनिधी व्यस्त रहेकाले ढिला भएको बताए । ‘केही दिन भित्र हामी पनि ल्याउने तयारीमा छौं,’ उनले भने । केन्द्रको विषयपनि सँगै टुङ्याउने गरी तयारी गरेकाले ढिला भएको उनी स्विकारछन्।  

यी दुबै पालिकाको केन्द्र कहाँ तोक्ने भन्ने यकिन नहुँदा नीति कार्यक्रम ल्याउने विषयमा सहमती जुट्न नसकेको गुनासो कतिपय जनप्रतिनिधीहरूकै छ । ‘कार्यपालिकाको बैठकमा पहिले केन्द्रको विषय टुङ्ग्याएर अरु छलफल गर्ने भनेपछि नीति कार्यक्रमको थप काम अघि बढेन ।’ गण्डकी गाउँपालिकाका एक वडाअध्यक्षले भने ।

सिरानचोक गाउँपालिकाले केन्द्र टुङ्ग्याउने तयारी सहित काम गरिरहेकाले नीति कार्यक्रम आउँदा साता ल्याउने योजना रहेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । ‘केन्द्र तोक्ने काम पनि सकौं भन्ने थियो, हामीले उपयुक्त ठाउँ छनोटका लागि कार्यदल बनाएर अघि बढ्ने सोच राखेका छौं’ उनले भने ।  

केन्द्र यकिन गर्न दुई तिहाई सदस्य एकमत हुनुपर्छ । सिरानचोक गाउँपालिकाका कांग्रेसका सदस्य बिच केन्द्रको विषयमा एकमत देखिँदैन भने गण्डकी गाउँपालिकामा नेकपा र कांग्रेसको केन्द्रका विषयमा मत बिभाजित छ । दुवै पक्षको दुई तिहाई मत पुग्ने अवस्था छैन । कानुनतः केन्द्र स्थानान्तरण गर्न दुबै पालिकालाई असहज छ ।

प्रकाशित: २२ असार २०७७ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App