६ चैत्र २०८० मंगलबार
समाज

‘खत्र्याङ खुत्रुङ’ अत्तरिया

अत्तरिया चौकको सडकको अवस्था । तस्बिर : पुष्पराज जोशी/नागरिक

मोहनापुल–अत्तरिया निर्माणाधीन ६ लेन सडकको एकतर्फी बाटो कालोपत्रे भइसकेको छ । धनगढी चौराहदेखि सुदूरपश्चिम प्रदेश सरकारले तोकेको प्रदेशको राजधानी अत्तरिया पुग्न अहिले केही बेर लाग्दैन । चिल्लो बाटोमा मोटर गुडाउँदै जब अत्तरिया चौराहमा पुगिन्छ, तब आइपुग्छ ‘खत्र्याङ खुत्रुङ’ सडक । चौकमै पुग्दा लाग्छ कुनै दुर्गम ग्रामीण क्षेत्रको ग्राभेल सडकमा सवारी सधान गुडिरहेको छ । 

यस्तै पूर्व पश्चिम राजमार्गबाट अत्तरियास्थित ट्राफिक पोष्ट नजिक पुग्दा गज्जबकै सडक निर्माण भएको भान हुन्छ । ट्राफिक पोष्टदेखि चौक नजिकसम्म आरसिसी ढलान गरी चाक्लो सडक बनाइएको छ । तर, आरसिसी सकिने वित्तिकै पुनः उस्तै ‘खत्र्याङ खुत्रुङ’ सडक ।  

अत्तरिया चौक अर्थात् सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला तथा कैलाली सदरमुकाम धनगढी र कञ्चनपुर सदरमुकाम महेन्द्रनगर जाने प्रमुख प्रवेशद्वार हो । प्रवेशद्वारकै सडकको अवस्था नाजुक रहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा बताउँछन् । 

‘यो सडक महिनौदेखि बिग्रिएको अवस्थामा छ,’ उनले भने,‘अहिलेसम्म कसैले पनि बनाउने प्रयास गरेको छैन ।’ खाल्डाखुल्डी परेको ठाउँमा टाल्न नसके पनि ग्राभेल हालेर खाडल पुरिदिन पटक पटक स्थानीय तह र सडक डिभिजन कार्यालयलाई आग्रह गर्दा पनि कसैले नसुनिदिएको स्थानीय गुनासो गर्छन् । 

‘अगाडि पछाडि राम्रो सडक छ, अत्तरिया चौकैमुनि खाल्डाखुल्डी छन्,’ अर्का स्थानीय विपिनकुमार साउँद भन्छन्,‘चौकमा पुग्ने जो कोही अत्तरियाको सडकको अवस्था देख्दा चिन्तित हुन्छन् ।’ अगाडि पछाडिको चिप्लो सडक देखेर सवारी हुइँक्याउँदै आउनेहरू चौकमा पुगेपछि ब्रेक हान्दा दुर्घटना हुने भय बढेको बताउँदै उनले भने,‘खाल्डा खुल्डीले दैनिक दुर्घटना बढीरहेका हुन्छन् ।’ सामान्य वर्षा हुँदा समेत अत्तरिया चौकका खाल्डाखुल्डी भरिएर जलमग्न हुने गरेको उनले बताए । 

‘सडकमा परेका खाल्डाखुल्डीमा पानी जमेको हुन्छ, त्यसमैमा रफ्तारमा सवारी गुडाउँदा दुर्घटनाको भय उत्तिकै छ भने पैदल यात्रुलाई पानी छ्याप्ने समस्या पनि उस्तै छ ।’ सडकमा परेको दुर्घटनाका कारण पूर्वी दक्षिण लाइनमा ग्राहकहरू हिँडडुल गर्नै छोडेको उनी बताउँछन् । ‘खाल्डाखुल्डीकै कारण पैदल यात्रुहरू समेत अफ साइड हिँड्न थालेका छन्,’ उनले भने,‘अफ साइड हिँड्दा दुर्घटनाको भय पनि उत्तिकै हुन्छ ।’  

अत्तरिया चौकमा खाल्डाखुल्डी भएका कारण पूर्वी लाइनमा जानै छोडेको बताउँदै अर्का स्थानीय योगेन्द्र रावलले भने,‘पूर्वी–दक्षिण चौकमा मोटरसाइकल लैजाँदा ‘खत्र्याङ खुत्रुङ’ सडकमा दुर्घटनाको त्रासले जानै छोडेको छु ।’ कामै परेपनि बाइपासको सडकबाट ओहोर दोहोर गर्ने गरेको उनले बताए । 

प्रदेशको राजधानी तोकिएको अत्तरिया मुख्य चौकको सडक व्यवस्थित बनाउनु पर्ने उनले बताए । ‘कमसेकम प्रदेशको राजधानी तोकिएको सहरको सडकको अवस्था प्रदेश सरकारले राम्रो बनाइदिनुपथ्र्यो,’ उनले भने । प्रदेशको मुख्य प्रवेशद्वार नै थोत्रो देखिएपछि त्यसले समग्र सुदूरपश्चिमको अवस्था देखाउने भएकाले यसलाई राम्रो बनाउनुपर्ने उनले सुझाव दिए ।

महिनौदेखि भत्किएको सडकलाई आउँदो आर्थिक वर्षमा पुनर्निर्माण गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर लक्ष्मणदत्त जोशीले बताए । उनले भने,‘अत्तरिया चौकको सडक टुटफुट भएको छ, त्यसलाई आगामी आर्थिक वर्षको बजेटमा समेटिएको छ ।’ अत्तरिया चौकमा परेका खाडललाई टेण्डर आह्वान गरेरै पूर्व–पश्चिम र उत्तरी सडकलाई चार लेनको बनाइने उनले बताए । ‘त्यसका लागि साउनपछि ठेक्का आह्वान गर्छौँ,’ उनले भने ।

प्रकाशित: २२ असार २०७७ ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App