२५ श्रावण २०७७ आइतबार
समाज

भासिएको ठूलोबेंसी फाँट पूर्ववत् अवस्थामा फर्किंदै

केही वर्षयतादेखि गोलो आकारको भकारी जस्तै भ्वाङ परेर भासिएपछि त्रास उत्पन्न भएको पोखरा महानगरपालिका वडा–१६ स्थित अर्मलाको ठूलोबेंसी फाँट यतिखेर भने पूर्ववत् अवस्थामा फर्केको छ । २०७० मंसिर ५ गते यो फाँटका केही जग्गामा भ्वाङ पर्न थालेपछि लगातार जमिन बाँझिएको थियो । तर, अहिले भने यहाँका बासिन्दा रोपाइँमा व्यस्त छन् ।         

यहाँको जमिनमा एकाएक भ्वाङ पर्न थालेपछि भूगर्भविद्हरुको टोलीले अनुसन्धान थाल्यो र पछि उनीहरुको सुझावमा फाँटहुँदै बग्ने कालीखोलामा चेकड्याम निर्माण गरिएको हो । पछिल्ला वर्षमा भ्वाङ पर्न छोडेपछि स्थानीय ढुक्कसँग कृषिकर्ममा फर्किएका हुन् ।

राम्रो कृषिजन्य उत्पादन हुने उर्वर यो फाँटको लगभग ५०० रोपनी जमिनमा एक सयभन्दा बढी ठाउँमा भ्वाङ परेको थियो । अहिले ती सबै पुरिएका छन् । अघिल्लो वर्षसम्म बाँभैm रहेको यहाँको खेत यस वर्ष पूरै रोप्ने तयारी छ र कतिपय स्थानमा रोपाइँ सकिएर पनि हरियो देखिएको छ ।           

भ्वाङको मुख्य केन्द्र रहेको बिर्ताखेतमा रोपाइँ धमाधम छ । बस्तीतर्फ समेत परेको भ्वाङका कारण विस्थापित भएका लगभग ५० परिवार अहिले सामान्य अवस्थामा सोही स्थानमा बसोबास थालेका छन् र नयाँ घर पनि बनिरहेका छन् । यो जमिनमा भ्वाङ थपिँदै गएपछि स्थानीयमा त्रास बढेको थियो र यसले सञ्चारमाध्यममा चर्चा पनि पाएको थियो । भौगर्भिक क्षेत्रमै अनौठो मानिएको यस घटनाको अध्ययन अनुसन्धान सुरु भएको थियो ।           

विगतमा कालीखोलामा नदीजन्य वस्तु निकाल्नेक्रम बढेसँगै खोला गहिरिएपछि जमिनको तल्लो भागमा रहेको कमेरो माटो पग्लेर क्रमिकरुपमा बगेर फाँटमा भ्वाङ परेको तत्कालीन जल उत्पन्न प्रकोपका सिनियर डिभिजन इञ्जिनीयर भूगर्भविद् श्रीकमल दिवेदी बताउँछन् । उनका अनुसार चेक ड्याम निर्माण गरेपछि खोलाको सतह एक मिटरमाथि उठेको छ र जमिनमुनिका प्वालसमेत बन्द भएका छन् ।           

अर्मलाको जमिनको प्राकृतिक बनोट कमजोर रहेको र त्यहाँ मानवीय त्रुटि पनि बढेकाले यसको रोकथामपछि अहिले भ्वाङ पर्न रोकिएको उनले बताए । चेकड्याम निर्माण हुनुअघि सेताम्मे देखिने कालीखोलो अहिले सङ्लिएको छ । खोलामा छ वटा चेकड्याम तथा दुहुनी खहरे खोलाको निकास खोल्न ५  करोड ५० लाखभन्दा बढी रकम खर्च भएको र प्रदेश र स्थानीय सरकारबाट थप तीनवटा चेकड्याम निर्माण गरिएको बताए ।       

‘अर्मलाको त्यो स्थानको भू–गर्भ कमजोर हुनुका साथै भित्री सतहमा कमेरो माटो रहेको छ,’ जियोलोजिस्ट दुवेदीले भने, ‘जमिनमुनिको भित्री भागमा पसेको पानीले कमेरो माटो पगालेपछि बाहिरी भाग भासिन सुरु भएको टोलीको अनुमान थियो ।’

जलउत्पन्न प्रकोप व्यवस्थापन विभागले दायाँबायाँबाट पानी जमिनभित्र पस्न नदिन दुहुनी खोलामा सिमेन्टेड नहर निर्माण गरिएको बताउँदै उहाँले फाँटमा परेका भ्वाङमा ढुङ्गा र माटो हालेर पुर्न तत्कालीन जिविस कास्कीले स्थानीय बासिन्दालाई सघाएको बताए । नेपालमा यस प्रकारको प्रकोप पहिलो भएकाले यो रोकथामको प्रयासले बस्तीसँगै अन्न भण्डारकैरुपमा रहेको फाँट बचाउन सफल भएको अनुभव उनको छ ।       

प्रधानमन्त्री राहत कोषबाट प्राप्त रु दुई लाख र स्थानीय जनसहभागिताको  ६० हजार परिचालन गरी फाँटमा परेका भ्वाङ पुर्नुका साथै संरक्षणका लागि कालीखोलामा ग्याबिन वाल निर्माण गरिएको अर्मला दैविक प्रकोप विपद् व्यवस्थापन समितिका उपाध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए ।     

अहिले फाँटमा रोपाइँको चटारो छ र बस्ती पनि सुरक्षित रहेको उनले सुनाए ।  ६ वर्षअघिको काहालीलाग्दो अवस्था सम्झँदा यो सम्भव नहुनेजस्तो देखिएको उनको अनुभव छ । गण्डकी प्रदेश सरकारको  ८० लाख सहयोगबाट कालीखोलाको माथिल्लो भागमा अर्को चेक ड्याम निर्माण एवं तटबन्धको काम भइरहेको छ ।           

भ्वाङका कारण छ वर्षपछि पहिलो पटक सबै खेत रोपिएको लामाचौरका कृषक शिव बानियाँ बताउँछन् । जग्गामा भ्वाङ परेपछि प्रत्येक वर्ष पुर्दै आएको र यस वर्ष मात्र रोपाइँ सम्भव भएको भन्दै उनले सो खेतमा आफूले १८ मुरी जेठोबुढो धान उत्पादन गर्ने गरेको बताए ।       

विशेषगरी बिर्ताखेत भ्वाङको मुख्य केन्द्र थियो । त्यसबाहेक जोगीमणि गाउँका घरतिर पनि यसको समस्या थियो । यसबाट १०९ घर उच्च जोखिममा थिए । कृषकले फाँटमा धानखेतीबाहेक मकैसहित मौसमी तथा बेमौसमी तरकारीखेतीसमेत गर्दै आएका छन् । अहिले पनि फाँटमा रोपाइँ गर्दा कतैबाट कहिलेकाहीँ कमेरो बगेको सेतो पानी कालीखोलामा देखिने गरेको बताउँदै स्थानीय सीता आचार्यले त्यस्ता प्वाललाई बेलैमा अनुसन्धान गरेर समस्याको समाधान गर्न आग्रह गरे ।

पोखरा महानगरपालिकाले गत आर्थिक वर्षको  ४० लाखको लगानीमा कालीखोला र घुरकुनाको सङ्गमस्थलमा दुई वटा चेकड्याम निर्माण गरेको पोखरा– १६ का वडाध्यक्ष जीवन आचार्यले बताए । फाँट र बस्तीको संरक्षणका लागि वडाकोतर्पmबाट आवश्यक सहयोग रहेको उनको भनाइ छ ।           

‘पर्यटकीय क्षेत्र बाटुलेचौरस्थित महेन्द्रगुफाभन्दा पूर्वपट्टि रहेको यस फाँटमा धानमध्येकै अब्बल मानिने जेठोबुढोको बीउ उत्पादन गरिएको छ,’ उनले भने, ‘विशेषगरी कालीखोलाको पूर्वपट्टिको भागमा कृषि ज्ञान केन्द्र स्याङ्जाको सहयोगमा स्थानीय किसानले सो धानको बीउ उत्पादन गर्ने गरेका छन् ।’           

सन् १९९० मा जर्मन भूगर्भविद् टोलीमार्पmत गरिएको एक अध्ययनले अर्मला ठूलोबेंसी फाँटको भू–गर्भ कमजोर रहेको देखाउनुका साथै टोलीले सो क्षेत्रमा बस्ती बसाल्न नहुने सुझावसमेत दिएको थियो । सो फाँटमा पानी कम लाग्ने जातको धानबाली लगाउनुपर्नेसमेत उक्त प्रतिवेदनमा उल्लेख छ ।           

विभिन्न बहानामा मुलुकका नदी तथा खोला दोहन तीव्ररुपमा भएका कारण खोला गहिरिँदै गएको र ठूला शहरबस्तीसमेत जोखिममा पर्दै गएका छन् । नदीजन्य वस्तु निकासीमा रोक लगाएर गहिरिएका खोला तथा नदीमा आवश्यकताअनुसारका चेकड्याम निर्माण नगर्ने हो भने अर्मलाको ठूलोबेंसी फाँटको नियति अन्यत्रको जमिनले पनि भोग्नुपर्ने हुन सक्छ । 

प्रकाशित: २२ असार २०७७ १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App