coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अनशनरत अभियान्ताका माग सम्बोधन गर्न आग्रह

विभिन्न क्षेत्रका आठजना व्यक्तिले इनफ इज इनफका अभियान्ताका माग छिटो सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।  आइतबार विभिन्न राजनीतिक दलका नेतासहितका आठजनाले संयुक्त विज्ञप्ति जारी गर्दै ह्याम्स अस्पतालमा अनशनरत अभियन्ताद्वय ई. र पुकार बमको जीवन रक्षा गर्न सरकारसँग माग गरेका हुन्। उनीहरूले सरकारको असक्षमता र निर्णयहीनताका कारण कुनै अप्रिय स्थिति उत्पन्न हुनपुगेमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।  

कोभिड–१९को महामारीले विकराल रूप लिँदै गर्दा सरकारका कदममा संगति र समन्वयको अभाव देखिएको उनीहरूको आरोप छ। उनीहरूले क्वारेन्टिन र आइसोलेसन वार्डहरू अव्यवस्थित र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएकाले संक्रमणको जोखिम रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।  

काठमाडौं उपत्यकामा नै कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएका दर्जनौं संक्रमित फेला पर्नु र काठमाडौंका ढलमा कोरोना भाइरस देखिनुले संक्रमण समुदायस्तरमा नै फैलिसकेको भन्ने तर्कमा बल पुगेको उनीहरूले बताएका छन्।  

तीन महिनाभन्दा लामो बन्दाबन्दीले गरीब तथा बिपन्न वर्गलाई थप आहत पारेको र स्वास्थ्य सामग्रीको खरीदमा अनियमितता हुँदा पनि सरकारले यसलाई वेवास्ता गरेको उनीहरूको आरोप छ। सरकारका कामबारबाहीबाट आहात भएर युवाहरूले सरकारलाई झक्झक्याउन र कोरोनासँग जुध्न सरकारलाई सकारात्मक दबाब दिन ‘इनफ इज इनफ अभियान सञ्चालन गरे पनि अनसनको १० दिन भइसक्दा पनि सरकारले बेवास्ता गरेको उनीहरूको आरोप छ।  

अभियान्ताका माग सम्बोधन गर्न आग्रह गर्नेहरूमा नेपाली कांग्रेसका नेता गगन थापा, पूर्व सचिव डा. द्वारिकानाथ ढुंगेल, बालकृष्ण न्यौपाने, विराजबहादुर बिष्ट, डा. भोजराज पोखरेल विवेकशील नेपाली दलका नेता मिलन पाण्डे, डा. सुरेन्द्र भण्डारी र पूर्वमन्त्री हिसिला यमी रहेका छन्।

प्रकाशित: २२ असार २०७७ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App