coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

४१ प्रतिशतभन्दा बढी कोरोना संक्रमित निको

नेपालका कुल कोरोना संक्रमितमध्ये ४१.५ प्रतिशत निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबारसम्ममा नेपालमा १५ हजार ७ सय ८४ जना कुल संक्रमित छन्। तीमध्ये ६ हजार ५ सय ४७ निको भएका हुन्। आइतबार २ सय ९३ जना एकदिनको अवधिमा संक्रमित पुष्टि भएका हुन्।  

निको हुनेमा सबैभन्दा बढी प्रदेश २ मा २३ सय ३४ जना छन् भने प्रदेश ५ मा १७ सय २५ छन्। यी दुवै प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी कर्णालीमा ११ सय ९१ जना निको भइसककेका छन्। सुदूरपश्चिममा ६ सय ८०, प्रदेश १ मा ४ सय ६९, बाग्मतीमा २ सय ३४ र गण्डकीमा ६ सय ८० छन्।  

५ सयभन्दा बढी सक्रिय संक्रमित भएका कैलाली, पाल्पा, महोत्तरी, रौतहतट, अछाम र बाजुरा गरी छ जिल्ला छन्। नेपालमा हालसम्म ३४ जना कोरोना संंक्रमितको मृत्यु भइसकेको छ। सबैभन्दा प्रदेश २ मा ४ हजार १ सय ६० जना र प्रदेश ५ मा ३ हजार ९ सय ६८ जना संक्रमित छन्। पछिल्लो समयमा सुदूरपश्चिममा संक्रमित संंख्या बढिरहेको तथ्यांकले आंैल्याएको छ। आइतबार यो प्रदेशमा ३ हजार ६ सय ७८ जना पुगेका छन्। त्यसैगरी कर्णाली प्रदेशमा १५ सय ७९, गण्डकीमा १४ सय ४२, प्रदेश १ मा ६ सय ९४, प्रदेश ३ मा ५ सय ६३ जना छन्।  

१५ दिन अघिसम्म ग्रिन जोनका रूपमा रहेको काठमाडौंमा केही दिनयता काठमाडौं उपत्यकामा दैनिक संक्रमितको संख्या वृद्धि भइरहेको छ। आइतबार उपत्यकामा ३० जना नयाँ संक्रमित देखिएका छन्। त्यसैगरी उपत्यकाबाहिर सबैभन्दा बढी कञ्चनपुरमा ३२, सिराहा, धनुषा र रौतहटमा २७ जना संक्रमित छन्। आइतबार काठमाडौंमा अघिल्लो दिनको तुलनामा बढी संक्रमित देखिएका हुन्।  

‘ढलमा देखिएको कोरोना भाइरस सर्दैन’  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै भएको एक अनुसन्धानले राजधानीको ढलमा कोरोना भाइरस भेटिएको विषयबारे ध्यानाकर्षण भएको बताएको छ। टिप्पणी गर्दैै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा भेटिन कोरोना भाइरसको अवशेषले कोरोना संक्रमण नहुने बताए। ढलमा देखिने भाइरस सर्ने अहिलेसम्म अनुसन्धानवाट पुष्टि नभएको डा. गौतमले बताए। तर यस्तो पानीमा अन्य रोगको संक्रमण गर्ने जीवाणु पर्याप्त हुने भएकाले सतर्क हुनुपर्ने बताए। विशेष गरी ढलमा काम गर्ने सफाइकर्ताले बाक्लो पञ्जा, बुट, माक्स, सुरक्षा सामग्री लगाएर मात्र काम गर्नुपर्ने सुझाए। तर कोभिड–१९ संक्रमित व्यक्तिले छोएको ठाउँ, हात तथा हाच्छिउँ गर्दा निस्केको छिटाबाट सर्ने उनले बताए।  

मृत्युपछि कोरोना पुष्टि

म्याग्दी, २१ असार (नागरिक)– बागलुङको ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका एक युवाको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसिरहेको अवस्थामा निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विश्वकर्माको स्वाब संकलन गरेर पठाएको ९ दिनपछि मात्रै कोरोना पोजेटिभको रिर्पोट आएको हो। रिपोर्ट आउँदा उनको मृत्यु भइसकेको थियो।  

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निसीखोला–२, का २९ वर्षीय युवाको रिपोर्ट पोजेटिभ देखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए। मृतक विश्वकर्मा चार वर्ष पहिलेबाट क्षयरोगका बिरामी थिए। ‘भारतबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका थिए। भारतमा उपचार गरेर फर्किएका हुन्,’ डा. मल्लले भने। उनका अनुसार मिर्गौला, फोक्सो र स्वासप्रस्वासमा समस्या देखिएपछि भारतमा उपचार गराउन गएका उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि फर्किएका थिए। भारतबाट केहि दिनअघि उनका परिवारका ५ जना फर्किएको र स्वाब परीक्षणमा ३ जनाको नेगेटिभ आएको र एकजना बच्चाको रिपोर्ट आउन बाँकी रहेको डा. मल्लको भनाइ छ। मृतक विश्वकर्माको शव ढोरपाटन नगरपालिका–४, लुकुरवन खोलामा नेपाली सेना र नेपाल प्रहरीको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ।

गण्डकी प्रदेशको कास्की, गोरखा जिल्लामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध आएको अवस्थामा बाग्लुङमा समेत सुरक्षाकर्मीले आवश्यक सतर्कता अपनाएको थियो। असार २ गते भारतबाट फर्किएका विश्वकर्मा ढोरपाटन नगरपालिका स्थित ससुरालीमा होम क्वारेन्टिनमा बसेका थिए। श्रीमती र छोरा छोरीसहित असार १२ गते स्वाब संकलनका लागि ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा पुगेका विश्वकर्माको परिवारलाई सोही दिनबाट क्वारेन्टिनमा राखिएको वडा अध्यक्ष तिलक पुनले बताए। ‘उहाँ बिरामी हुनुहुन्थ्यो। हामीले समेत उच्च निगरानी राखेका थियौं,’ पुनले भने। श्रीमती, २ छोरी र १ छोराको समेत स्वाब संकलन गरी पठाइएकोमा मृतक विश्वकर्मा र एक छोरीको मात्र रिपोर्ट आउन बाँकी थियो। १ छोरी, छोरा र श्रीमतीको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आएको भए पनि विश्वकर्माको स्वास्थ्य अवस्था नाजुक भएको कारणले परिवारका सबै सदस्य एकै कोठमा बसेका थिए। नेगेटिभ आएका सबैको पुनः पिसिआर परीक्षण गरिने जनाइएको छ।

प्रकाशित: २२ असार २०७७ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App