१६ चैत्र २०८० शुक्रबार
समाज

सशस्त्रलाई बाढी उद्धार तालिम

प्रदेशको आन्तारिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र राय यादवको उपस्थितिमा सशस्त्र प्रहरी बलको बाढीबाट उद्धारसम्बन्धी अभ्यास तालिम सम्पन्न भएको छ। पाँच दिने तालिमको समापन प्रदेशभित्र बग्ने सबैभन्दा ठूलो नदी बागमतीमा गरिएको छ।नेपाल प्रहरीको प्रदेश प्रमुख डिआइजी धीरजप्रताप सिंह तथा सशस्त्र प्रहरीको प्रदेश प्रमुख डिआइजी राजु अर्यालसहित प्रदेशका आठवटै जिल्लाको सुरक्षा अधिकारीहरुको उपस्थितिमा बाढीमा फसेका तथा खोलामा डुब्दै गरेकाहरुको उद्धार कसरी गर्ने भनेर व्यावहारिक तालिमको समापन गरिएको छ।

पुलबाट डोरीसहित हाम फालेर बागमतीको भेलमा बगिरहेको उद्धार गर्नु, एक साथ कैयौँ गाउँलेले गुहार माग्दा  रबर बोटको सहयोगले उद्धार गर्नु र तत्काल मेडिकल टिमले प्राथमिक उपचार गरेको कला प्रस्तुत गर्दा उपस्थित मन्त्री तथा सुरक्षा अधिकारीका साथै संचारकर्मीहरु पनि छक्क परेका थिए।मन्त्री यादवले सशस्त्र प्रहरीको उद्धार अभ्यास कला देखेर प्रशंसा गरेका छन्। बाढीको भेलमा बगिरहेकालाई आफ्नो ज्यानको परवाह नगरी उद्धार गरेको दृश्य निकै मार्मिक थियो। सशस्त्र प्रहरीको साहस र कौशलको म प्रशंसा गर्दछु– मन्त्री यादवले भनेका छन्।बाढीमा फसेको नागरिकको उद्धार गर्न सशस्त्र प्रहरी सफल हुने विश्वास आफूलाई भएको मन्त्री यादवले थपेका छन्।

 विपद्को बेला सशस्त्र प्रहरीले पुगेर उद्धार कार्य गर्ने जनशक्ति तयार पार्नु प्रदेशको लागि खुसीको विषय भएको मन्त्री यादवको भनाइ छ। उद्धारकको व्यक्तिगत सुरक्षा र उद्धारको आवश्यक पर्ने सामग्रीको लागि आफूले सहयोग गर्ने मन्त्री यादवको प्रतिबद्धता रहेको छ।

सशस्त्र प्रहरीको जल उत्पन्न प्रकोप उद्धार अनुशिक्षण पाँच दिने तालिमको अन्तिम दिन नमुना प्रदर्शन समारोहमा विपद् र विपदपश्चात तत्काल उद्धार गर्न तालिम प्राप्त उद्धारकहरुले आफ्नो कला प्रदर्शन गरेका थिए।प्रदेश २ मा बाढी र डुबानको समस्याहरु आउने हुनाले विपत भन्दा पहिलेको पूर्व तयारीको अभ्यास प्रशिक्षण गराइएका सशस्त्र प्रहरीका डिआजी राजु अर्यालले बताए। ‘आठ जिल्लाका गणहरुमा उद्धारकहरुको ११ जनाको एक सेक्सन राखिएको छ।’ डिआइजी अर्यालले भने “छिन्नमस्ता बाहिनीमा विपताका बेला परिचालन हुने गरि एउटा रिजर्भ टिम राखिएको छ।’ प्रदेश २ मा १३५ जना तालिम प्राप्त उद्धारकहरु रहेको र हरेक सशस्त्र प्रहरीलाई समेत अनुशिक्षण तालिम दिएर उद्धार गर्न योग्य बनाउने काम भएको उनले बताए।  

प्रकाशित: २१ असार २०७७ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App