coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निरन्तरको बर्षाले पहाडी भेगका सडक अस्तव्यस्त

३ घण्टाको सडक छिचोल्न १२ घण्टा

लिमचुङबुङ ५ हिम्मामा खनिएको घुम्ती सडक । तस्बिरः महेश्वर

बर्षा सुरु भएसँगै उदयपुरको पहाडी भेगका सडकहरु पहिरो र हिलोले अस्तव्यस्त बन्न पुगेका छन् । विगत वर्षको दाँजोमा यसपाली छिट्टै बर्षा सुरु भएपछि पहाडी भेगका अधिकांश कच्ची सडकहरु पहिरो जाने, पुरिने र हिलाम्य हुनुले यातायात आउजाउमा कठिनाई आईपरेको हो ।  

यसवर्ष असार सुरुदेखि नै लगभग निरन्तरजस्तो बर्षा भईरहेको छ । बर्षाका कारण खासगरी सदरमुकामसँग जोडिएका उत्तरी भेगका बिभिन्न पहाडी स्थानीय तहहरुमा सवारी साधन आउजाउमा कठिनाई आईपरेको यातायात व्यवसायीहरु बताउँछन् । केही दिनअघिको अविरल बर्षाले जताततै पहिरो गएपछि पहाडी भेगमा सातादिनयता यातायात सेवा अवरुद्ध हुन पुगेको हो । पहिरोले पुराना सडक र नयाँ ट्र्याक भत्काएपछि एउटा गाउँदेखि अर्को गाउँम्सम्म पुग्नसम्म नसक्ने स्थिति सिर्जना भएको यातायात व्यवसायीहरु बताउँछन् ।

सडक खन्ने क्रमले पुराना गोरेटा बाटाहरु सबै मासिएका र सडक पनि पहिरोले भत्काएपछि अहिले गाउँ ‘न सडक न गोरेटो’ को अवस्थामा पुगेको गाउँले बताउँछन् । ‘गाउँमा सडक नहुँदा गोरेटो र घोडेटोबाट गाउँघर आउजाउ गर्न सदरमुकाम जाने आउने गरिन्थ्यो’ लिमचुङबुङ ५ का प्रेम राईले भने ‘८/१० वर्षयता सडक खन्न थालेपछि खुसी भएका जनता वर्षेनी पानीले पहिरो जाने गरेपछि न सडक रह्यो न गोरेटो ।’

पुरानो बाटो, बाली उब्जिने जमिन र जंगल मासेर खनिएका सडक पहिरोले सबै धुजाधुजा बनाएपछि पैदल हिड्ने बाटोको नामोनिशान नरहेको बुढाथोकीले बताए । अलिअलि सरकारी रकममा धेरैजसो गाउँलेले श्रमदानमा सडक पुर्‍याएको खुसी हरेक वर्षायाममा पीडामा परिणत हुने गरेको वडा सदस्य तिलकबहादुर कार्कीले बताए । सदस्य कार्कीका अनुसार गतवर्षकोे बजेटले खनेको वडादेखि गाउँपािलका केन्द्र बाराहा जोड्ने चनौटे–चौलाने–बुईखा–हिम्मा खण्डको २२ किलोमिटर सडकमा पहिरोले हिड्नै नसक्ने बनाएको छ ।  

बुईखादेखि टोड्के–जाँते–मीनासिका हुँदै गाउँपालिका केन्द्र बाराहा जाने सडक १ किलोमिटर दूरीमा १५ ठाउँसम्म पहिरोले भत्काएको वडाध्यक्ष भुपाल खड्काले बताए । उनका अनुसार लिमचुङबुङका सडक कुनै पनि हिड्न हुने खालका बाँकी छैनन् । ५ वटै वडाका आन्तरिक र गाउँपालिका केन्द्र जोड्ने सडक सबै पहिरोले जिर्ण बनाएको छ । सदरमुकाम आउने बाराहा–माझखर्क–मुर्कुची खण्डको ६५ किलोमिटर दूरीमा दर्जनौं ठाउँ भत्केर यातायात चल्न नसक्ने अवस्थामा पुगेको छ । सो सडक प्रदेश सरकारले मर्मत गर्दै गरेकाले थप हिलाम्य बनाएको स्थानीय बताउँछन् । बलम्ता–रसुवा–फोक्सिन्टार–रानीबास–साउने हुँदै गाईघाट आउने अर्को रुटको सडकमा पनि रसुवासम्म २० ठाउँभन्दा बढी भत्केर पहिरो बन्न पुगेको खड्काले बताए ।  

बर्षाअघिसम्म बोलेरो र मोटरसाईकलबाट आउजाउ गर्ने सडकहरु पहिरोमा परिणत भएपछि अव नयाँ गोरेटो खनेर हिड्नुपर्ने बाध्यता सिर्जना भएको छ । गाउँपालिका अध्यक्ष मेजरकुमार राईले गाउँपालिकाका सडकहरु सबै भत्केको र तत्काल मर्मत गर्नसक्ने स्थिति नभएकाले पैदल हिड्नुको विकल्प नभएको बताए । उनका अनुसार सडक मर्मत गर्न जनशक्तिले सम्भव नभएको र स्काभेटर र डोजर लाने बाटो नभएकाले केही महिना सडक बन्ने संभावना छैन । ‘गाउँपालिकाका सबै सडकमा पहिरो नै पहिरो छ’ उनले भने ‘तत्काल मर्मत गरेर याताायत सुचारु गर्ने संभावना छैन, त्यसैले २÷३ महिना पैदलै हिड्नुपर्ने बाध्यता छ ।’

एक वर्षअघि मात्र सडक सञ्जालमा जोडिएको लिमचुङबुङ गाईघाट आउजाउ गर्न अहिले अढाईदिनको पैदल यात्रा गर्नुपर्ने अवस्था आएको लेखा अधिकृत ताराकिरण राईले बताए । ‘सडक नहुँदा ९÷१० घण्टामा गाईघाट आईन्थ्यो’ कठिनपूर्वक गाउँपालिका पुगेका अधिकृत राईले भने ‘सडक खनेपछि ४ घण्टामा पुग्ने दूरी दुई अढाई दिन लाग्न थालेको छ ।’ गाउँमा सडक पुगेपछि चामल, नुन, तेल, दाल, मसला र लत्ताकपडाजस्ता सबै उपभोग्य सामग्री ट्याक्टरमार्फत पुग्ने गरेको लिमचुङबुङमा सडक अवरुद्ध भएपछि सबैको अभाव हुन थालेको छ । बर्षाअघि बेच्न लगेका सबै सामग्री सकिदै गएपछि अव खाद्यान्नको चर्को अभाव हुने गाउँका व्यापारीहरु बताउँछन् । स्थानीय व्यापारी लैनसिंह राईले सडक अवरुद्ध भएपछि ट्याक्टरसम्म नचलेपछि पिठ्युँमा बोकेर सामग्री ल्याउनुपर्ने स्थिति आएको बताए ।  

लिमचुङबुङसँगै ताप्ली गाउँपालिकाका ठानागाउँ, इनामे, ओख्ले, लेखगाउँ, रुपाटार ५ वटै वडाको अवस्था उस्तै खराव छ । छिमेकी गाउँपालिका रौतामाई ३ को लाफागाउँ, १ नामेटार, २ भुट्टार, ४ सल्लेलगायतका सडकहरु पनि भत्केर मोटरसाईकलसम्म चल्न नसक्ने स्थिति उत्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताए । तल्लो भेगको ५ नं. वडालाई भने गाईघाट–दिक्तेल सडक खण्डले छोएका कारण सो वडाबासीलाई भने सदरमुकाम आउजाउ गर्न सहज भएको वडाध्यक्ष पाण्डव राईले बताए ।  

 

 

प्रकाशित: २१ असार २०७७ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App