३१ श्रावण २०७७ शनिबार
समाज

आज गुरु पूर्णिमा

हिन्दु धर्मावलम्बीहरूको महान् पर्व गुरूपूर्णिमा आइतबार धुमधामका साथ मनाइँदै छ। धर्मशास्त्रका आधारमा प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई व्यासपूजा पूर्णिमा वा व्यासजयन्ती पनि भनिन्छ।  

पौराणिक कालमा पराशर ऋषि र माझीपुत्री मत्स्यगन्धाबाट यसै दिन वेदव्यासको जन्म भएको, आषाढ शुक्ल पूर्णिमाकै दिन उनले आफ्ना छोरा शुकदेवसहित ऋषिहरूलाई वेदवेदांग आदि धार्मिक ग्रन्थको दर्शन गराएको र गौतम बुद्धले पनि सोही पूर्णिमाकै दिन आफ्ना शिष्यलाई पहिलो उपदेश दिएकाले महत्वपूर्ण पर्वका रूपमा मनाउने चलन वैदिक कालदेखि नै सुरु भएको नेपाल संस्कृत विश्वविद्यालय, धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा. देवमणि भट्टराई बताउँछन्। बौद्ध धर्मावलम्बीहरू यस दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा मनाउँछन्।

‘गुरु’ शब्द दुईवटा अक्षर मिलेर बनेको हुन्छ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। तसर्थ, शास्त्रले अन्धकाररूपी अज्ञानतालाई हटाउन ज्ञानरूपी उज्यालो वा शिक्षादीक्षा प्रदान गर्ने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर वा परब्रह्मस्वरूप मानेको छ।  

यस दिन ब्रह्म मुहूर्तमा वा सूर्योदयअगावै उठेर स्नान, सन्ध्याबन्धन गरी गुरूपूजा गर्ने विधान छ। साक्षात् गुरुको नजिकमा र नजिकमा गुरु नभए गुरुको मूर्ति वा तस्बिरको मानसिक छवि निर्माण गरेर भक्तिभावपूर्वक पूजा  गर्ने गरिन्छ।  

त्यसपछि ‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः÷गुरुः साक्षात्परब्रह्म तस्मै श्री गुरवे नमः’ भनेर गुरुको उपासना गरिन्छ। त्यसपछि गुरुलाई फूलमाला लगाई मीठामीठा फलफूल, पक्वान्नादि तयार पारेर खुवाउने, अभिवादन गर्ने र विभिन्न लत्ताकपडा, पुस्तक आदि उपहार दिई खुसी पार्ने चलन छ, यसो गर्नाले गुरुबाट आफूले लिएको शिक्षा वा ज्ञानको ऋणबाट मुक्ति पाइन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ। ‘अध्यात्म र भौतिक ज्ञानद्वारा भुक्तिमुक्ति दिलाउने व्यक्ति गुरु हुन्,’ प्राध्यापक डा. भट्टराईले भने, ‘जीवनमै उपासनायोग्य व्यक्ति गुरु हुन्।’  

शास्त्रअनुसार ‘वास्तवमा गुरु ब्रह्मा हुन्, जसले अज्ञानी तथा अहंकारी शिष्यलाई ज्ञान दिएर सत्पुरुष बनाउँछन्। गुरु विष्णु हुन्, जसले ज्ञानको क्षेत्रलाई बढाएर फुलाउँदै–फलाउँदै एक कक्षामा भर्ना भएको कखगघ..., अआइउ..., १२३४... आदि केही पनि पढ्नलेख्न नजान्ने विद्यार्थीलाई पढाईलेखाई स्नातकोत्तर हुँदै विद्यावारिधिसम्म गराएर विद्वान्, वैज्ञानिक, दार्शनिक, समाजशास्त्री, अर्थशास्त्री, भूगर्भशास्त्री, लेखक, साहित्यकार, प्राध्यापक, पाइलट, इन्जिनियरआदि बनाउँछन्। गुरु शिवस्वरूप छन्, जसले पढ्नेलेख्ने विद्यार्थी यदि घमण्डी भए, क्रूर बने, उसले मनमा काम–क्रोध–लोभ–मोह–मद–मात्सर्य–अहंकार आदि दुर्गुण वा दुर्भाव पाले, अनुशासनहीन वा चरित्रहीन बने नैतिक ज्ञानद्वारा उसमा रहेको अज्ञानता वा अन्धकारलाई नाश गरेर सत्पात्र बनाउँछन्।  

जन्मगुरु आमा, कर्मगुरु बाबु र शिक्षादीक्षा गुरु गुरु हुन्, जसले भोग शिक्षाभन्दा योगशिक्षा तथा व्यावहारिक शिक्षामा जोड दिन्छन्। वास्तवमा गुरु ज्ञानका खानी हुन्। गुरु संसारलाई प्रत्याभूत गराउने दीप हुन्। अनि मानवजीवनका बहना हुन् अथवा मानवजीवनका आधार हुन्, जसरी पानीलाई आधार बनाएर नाउ बहन्छ र नाउलाई बहनाले दिशानिर्देश गर्छ, त्यसरी नै मानिसको जीवन पनि गुरुलाई आधार बनाई आफ्नो गन्तव्यमा पुग्छ।

गुरुलाई शिक्षक, आचार्य, उपाध्याय आदि नामले पनि पुकारिन्छ। योगी विकासानन्दका अनुसार शिक्षक भनेका सिकाउने व्यक्ति हुन् र जसले अँध्यारोबाट उज्यालोतर्फ प्रकाशरूपी ज्ञानको प्रत्याभूति दिलाउँछन्, ती गुरु हुन्। आचार्य पनि गुरुकै पर्याय शब्द हो। जसले आफूले सिकाएका सम्पूर्ण कुरा आफ्नो व्यवहार वा आचरणमा ल्याउ“छन्, ती आचार्य हुन्। अन्य शब्दभन्दा आचार्य शब्दले विशिष्ट अर्थ धारण गरेको योगी विकासानन्दको भनाइ छ।

प्रकाशित: २१ असार २०७७ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App