७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोले गाउँ नै विस्थापित

पहिरोका कारण गुल्मी इस्मा गाउँपालिकामा सिंगो गाउँका बासिन्दा विस्थापित भएका छन्। मल्दी, जुकेपानी, खहरे र ढाँडा गरी १ सय १६ घर पहिरोका कारण क्षतिग्रस्त भएपछि विस्थापित भएका हुन्।  

गाउँमाथिबाट पहिरो निरन्तर खसेकाले गाउँपालिकाले सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाएको छ। इस्मा–१ का १६ महिनाका बालक सुरज सारु र ८ वर्षकी बालिका अपेक्षा खत्रीलाई घरसँगै पहिरोले बगाएको थियो। शुक्रबार यी दुवैजनाको शव भेटिएको थियो। पहिरोले घरसँगै आफ्ना सन्तान बगाएका परिवारले अहिले आश्रय लिएको ठाउँमै काजकिरिया गरिरहेका छन्। कोरोना कहरसँगै पहिरोले विनाश निम्त्याएपछि सिंगो गाउँ अस्तव्यस्त भएको छ।  

सन्तान गुमाउनेलाई दोहोरो पीडा छ भने अन्य गाउँलेलाई पनि पहिरोले बिचल्ली बनाएको छ। अधिकांशको घरसँगै गाईभैंसी, अन्नपात र खेतीयोग्य जमिनसमेत बगाइदिएको छ। मुस्किलले ज्यान बचाएकाहरूलाई बाससँगै गाँसको समेत चिन्ता थपिएको छ। स्थानीयका अनुसार मानवीय क्षति कम भए पनि भौतिक क्षति ठूलो भएको छ। ‘१ सय १६ घरमा अहिले बस्न मिल्ने अवस्था छैन, विद्यालय, प्रतीक्षालयमा व्यवस्थापन गरेका छौं,’ इस्मा गाउँपालिकाका उपाध्यक्ष विमला खत्रीले भनिन्। गाउँपालिकाले पहिरोले अलपत्र परेकालाई राहात व्यवस्थापन गर्ने काम गरिरहेको उनले बताइन्। मल्दी, जुकेपानी, खहरे र ढाँडा अहिले सञ्चार, विद्युत् र यातायातको सम्पर्कबाट विच्छेद भएको छ।  

उक्त गाउँमा पहिरो छिचोल्दै पुग्नुपरेको छ। विद्युत्का पोल ढलेका छन् भने खानेपानीको पाइप पहिरोले बगाएको छ। राहत सामग्री लैजानसमेत अप्ठ्यारो भएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर विष्टले बताए। उनका अनुसार इस्मा गाउँपालिकाभित्र २ सय घर पहिरोले विस्थापित भएका छन्। ‘पहिरोले ठूलो क्षति गराएको छ, कतिपय ठाउँमा सम्पर्कसमेत नभएकाले क्षतिको यकिन विवरण आइसकेको छैन,’ उनले भने। इस्मा–१ का ४ वटा टोल नजिकमै छन्। तर, यी सबै ठाउँमा फरक–फरक पहिरो खस्ने क्रम जारी हुँदा अझै क्षति हुनसक्ने स्थानीयले बताए।  

गाउँपालिकाले प्रदेश र संघीय सरकारलाई समेत जानकारी गराएको छ। पहिरो प्रभावित गाउँसम्म पुग्न सडकमा गएको पहिरोकाले समस्या भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए। उनले पहिरो प्रभावित क्षेत्रमा तत्कालका लागि आवश्यक पर्ने राहत सामग्री व्यवस्थापन गरिएको बताए। उनले ठूलो भौतिक क्षति भएकाले तत्कालका लागि पहिरोबाट प्रभावित परिवारको व्यवस्थापनलाई ध्यान दिइएको बताए। यस क्षेत्रमा दुई वर्षअघि पनि पहिरो गएको थियो। गाउँमाथिको ख¥यानबारीबाट पहिरो गएको हो।  

घाइते ६ जनाको काठमाडौंमा उपचार  

पहिरोमा परी घाइते भएका ६ जनाको काठमाडौंमा उपचार भइरहेको छ। पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्टको पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको हो। घाइतेमध्ये २ जनाको शिक्षण अस्पताल र ४ जनाको छाउनीमा उपचार भइरहेको छ।

मुसिकोटका घिमिरेको अवस्था पत्ता लागेन  

मुसिकोट नगरपालिका–२ हाँडीखोलास्थित घुम्ती पसलबाट पहिरोले बगाउँदा बेपत्ता भागीरथ घिमिरेको अवस्था अझै पत्ता लागेको छैन। पहिरोले शुक्रबारदेखि बेपत्ता घिमिरेको अवस्था पत्ता लगाउन जनपथ, सशस्त्र प्रहरी र नेपाल आर्मीको टोली खटिएको छ। पहिरोसँगै उनी बगेको हुनसक्ने प्रहरीको अनुमान छ। पहिरोले मुसिकोट–२ का स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ। बाँचपाटा, बुढाथोक, पात्लाकोट, दुलुङ, ढुँगेपोखरी, बोक्सीओडार, खस्थोक अमराई, आरूपाटा, बतासेडाँडा, चित्रुङ, सारुटोला, भर्जुवा, पास्तीलगायत दर्जनाैं क्षेत्रमा पहिरो खसेको प्रहरीले जनाएको छ। वडा नं. २ मा मात्रै ५१ घर जोखिममा परेका छन्। पहिरोले पशुचौपाया र घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ असार २०७७ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App