७ वैशाख २०८१ शुक्रबार
समाज

रोपाइँ रोक्दा खोकनामा झडप

सरकारले फास्ट ट्र्याक (द्रुत मार्ग) का लागि अधिग्रहण गरेको जग्गामा रोपाइँ गर्दा शनिबार खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ। स्थानीयले धान रोप्न थालेपछि रोक्न प्रहरी खोकना पुगेको थियो।

असार १५ गते स्थानीय र प्रशासनबीच बैठक बसी अधिग्रहण गरिएको जग्गामा यो वर्ष बाली लगाउन र भित्यार्उन दिने सहमति भएको थियो। सोहीअनुसार भइरहेको रोपाइँ रोक्न प्रहरी टोली खोकना पुगेपछि स्थानीय आक्रोशित बनेका थिए। उनीहरूलाई तितरबितर पार्ने क्रममा प्रहरीले अश्रुग्याससमेत प्रहार ग¥यो। जवाफमा स्थानीयले ढुंगा र इँटा प्रहार गर्न थालेपछि दोहोरो झडप भएको थियो। झडपमा भैंसेपाटी र जावलाखेल परिसरमा कार्यरत चार प्रहरी घाइते भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए। उनका अनुसार प्रशासनकै आग्रहमा प्रहरी त्यहाँ पुगेको थियो।  

स्थानीयलाई प्रतिआना डेढ लाख मुआब्जा दिएर जमिन अधिग्रहण गरी सरकारले फास्ट ट्र्याक निर्माणको काम थालेको थियो। सोहीअनुसार खोकनानजिकै फर्सिडोलमा अहिले फास्ट ट्र्याक निर्माण भइरहेको छ। फास्ट ट्र्याक, बाग्मती करिडोर, त्रिशूली हाइटेन्सन लाइन, बाहिरी चक्रपथ र सुरुङ मार्गको योजनाका कारण यो बस्तीमा रहेका मठमन्दिर र इनार भएको ४२ रोपनी क्षेत्रफल मिचिने देखिएको छ। उक्त क्षेत्रफलभित्र धर्माकरको मूर्ति, शिव लिंगरूपी ढुंगाको मूर्ति, शिकाली जात्रा हुने स्थल कुदेश (बस्तीको तल्लो भाग), १३ सय वर्षअघिको इनारलगायत अन्य ऐतिहासिक सम्पदा पर्छन्। फास्ट ट्र्याकको रुट परिवर्तन नभए यी सबै सम्पदा भत्कनेछन्। यसबाहेक स्थानीयको उर्वरभूमि पनि सडकको नक्सामा परिसकेको छ।

स्थानीयले ऐतिहासिक थातथलोमा विकासका गतिविधि गर्न नदिने भन्दै लामो समयदेखि विरोध गर्दै आइरहेका छन्। केही स्थानीयले मुआब्जासमेत बुझ्न मानिरहेका छैनन्। प्रशासनले देशकै महत्वाकांक्षी योजनाका लागि अधिग्रहण गरिएको जग्गामा धान नरोप्न स्थानीयलाई आग्रह गरेको थियो। स्थानीयले आफूले वर्षौंदेखि रोपाइँ गर्दै आइरहेको फाँटमा सडक खन्न नहुने माग राख्दै आएका छन्। स्थानीय महेश महर्जनले भौतिक विकास नै संस्कृति संरक्षणमा बाधक बनेर देखापरेको बताए। उनले ठूला योजना सञ्चालन गर्दा सामान्य ध्यान नदिएका कारण प्राचीनकालीन बस्तीको संस्कृति भत्कन लागेको जानकारी दिए। ‘हामी आफ्नो ठाउँ छाड्दैनौं,’ उनले भने, ‘यो उर्वरभूमिमात्रै होइन, सम्पदा क्षेत्र पनि हो।’

प्राचीन बस्ती खोकना देशकै महत्वाकांक्षी योजनाको चेपुवामा पर्न थालेपछि त्यहाँका सम्पदा मासिने खतरा बढेको भन्दै स्थानीय चिन्तित बनेका छन्।  

यसअघि पुरातत्व विभागका प्रतिनिधि, स्थानीय, रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृतिविद्लगायत त्यस क्षेत्रमा पुगेका थिए। तर, इनार र कुदेश तर्काएर लग्ने कि नलग्ने भन्ने विषयमा अझै कुनै छलफल भएको छैन। ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले फास्ट ट्र्याकले यो बस्तीमा झनै समस्या निम्त्याएको जानकारी दिए। उनले फास्ट ट्र्याकका कारण स्थानीयवासी र प्रशासनबीच एक वर्षयता विवाद चुलिँदै आएको बताए।  

विवाद हुन थालेपछि असार १५ गते सम्बद्ध सरोकारवालाको बैठक बसेको थियो। प्रजिअ, सांसद, मेयर, स्थानीय, प्रहरी प्रशासनबीच भएको बैठकमा यो वर्षको बाली भित्यार्एपछि मात्रै स्थानीयले जमिन छाड्ने सहमति भएको थियो। तर, प्रशासनले रोप्न अधिग्रहण गरिएको फाँटमा धान रोपाइँ रोक्न भन्दै प्रहरी पठाएपछि झडप भएको वडाध्यक्ष महर्जनको भनाइ छ। ‘यो विषयमा स्थानीयवासी निकै गम्भीर देखिएका छन्। केहीले जमिन खुरुक्क छाडे पनि केहीले मुआब्जा पनि मागेका छैनन्,’ उनले भने, ‘१५ गतेको निर्णयअनुसार रोपिसकेको बाली भित्यार्उन दिने सहमति भएको थियो।’ उनले प्रचीन बस्ती र सम्पदासँग साइनो जोडिएकाले स्थानीयले जग्गा छाड्न गाह्रो मानेको बताए।  

प्राचीन बस्ती खोकना देशकै महत्वाकांक्षी योजनाको चेपुवामा पर्न थालेपछि त्यहाँका सम्पदा भत्किने चिन्ता परेको स्थानीय प्रशान्त महर्जनले बताए। उनले आधुनिक विकासको नाममा प्राचीन बस्तीमा प्रहार गर्न थालेपछि आफूहरूले विरोध गरेको बताए। ‘यहाँ पैसाले किन्नै नसक्ने कला–संस्कृति छन्, देशलाई उँचो राख्ने बस्तीमध्ये खोकना पनि एक हो,’ उनले भने, ‘ठूला योजना सञ्चालन गर्दा खोकनाको सिकाली जात्रा हुने कुदेश मिचिन आँटेको छ।’ उनका अनुसार करिब १७ सय वर्षपहिले सुरु भएको यो जात्रा हुने स्थान फास्ट ट्र्याकले भत्काउन नहुने स्थानीयले बताउँदै आएका छन्।

प्रकाशित: २१ असार २०७७ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App