१६ चैत्र २०८० शुक्रबार
समाज

कोरोनाबाट मृत्यु भएकाको शव गाड्न स्थानीयको अवरोध

दिनभर झडप र अश्रृग्याँस प्रहार, १४ घण्टापछि गाडियो शव

कोरोनाबाट मृत्यु भएकाको शव अन्त्येष्टी गर्न अवरोध गरेपछि प्रहरी सँग भएको झडप । तस्बिर : नागरिक

गोरखामा शनिवार बिहान ५ बजे पहिलो कोरोना संक्रमितको मृत्यु भयो । असार १६ गते कतारबाटफर्किएका पालुङटार नगरपालिका ७ का ४४ वर्षिय पुरुषको मृत्यु्र भएपछि शव व्यवस्थापनको काम स्थानीय प्रशासनलाई चुनौती बन्यो । कारणः शव गाडेको ठाउँबाट कोरोना समुदायमा फैलन्छ भन्ने स्थानीयको बुझाई र प्रशासनको कमजोर तयारीले दिनभर गोरखा तनाबग्रस्त बन्यो ।  

शव गाड्न ठिक्क पारिएको गोरखा नगरपालिका १२ र शहिदलखन गाउँपालिका १ को सिमाना लुदी खोलाको दोभानमा भेला भएर स्थानीय दिनभर अवरोध गरे । प्रशासनले शसस्त्र र नेपाल प्रहरी परिचालन गर्यो । सात राउण्ड अश्रुग्यासँ र समान्य बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए । अश्रुग्याँस प्रहार गर्दा समेत स्थानीयले अवरोध गर्न नछाडेपछि शनिवार दिनभर लुदी दोभान र अबुवा क्षेत्र तनाग्रस्त बन्यो । शव गाडिएको ठाउँबाट कोरोना संक्रमण फैलन्छ भन्दै स्थानीय वृद्धवृद्धा र महिला समेत अवरोधमा उत्रिए । प्रहरीको लाठीचार्जबाट केही स्थानीय घाईते भएका छन् भने अवरोधमा उत्रिएका स्थानीयले ढुङ्गा प्रहार गर्दा एक प्रहरी पनि घाईते भएका छन् ।  

शनिवार मृत्यु भएका पुरुषलाई क्वारेन्टिनमा बस्दा स्वास्थ्य समस्या देखिएपछि शुक्रवार राती गोरखा अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको अस्पतालका डाक्टर नबिन थापाले बताए । उनी बिदेशबाट आएलगत्तै क्वारेन्टिनमा एक्लै बसेकाले समुदायमा र अन्य ब्यक्रीमा सर्ने संभावना कम रहेको च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेले बताए ।  

जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर शव व्यवस्थापन लुदी दोभानमा गर्ने निर्णय भएपछि तयारी गर्न जेसिभी लिएर प्रहरी त्यसतर्फ पुग्यो । प्रहरी पुग्दा नपुग्दै सुचना पाएका स्थानीय भेला भएर अवरोध गर्न थाले । स्थानीयको अवरोध हटाउन जनप्रनिनिधीको पनि कुनै उपाए लागेन । कोरोनाको त्रास सुरु भएदेखि नै गोरखामा नेपाल प्रहरी र नेपाली सेनाले शव व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारे नमुना अभ्यास गरेका थिए । कसरी गाड्ने भन्ने मात्रैको अभ्यासले समुदायबाट हुन सक्ने अवरोधको कुनै परिकल्पना गरेन । जसको परिणाम स्थानीय र प्रशासकले दिनभर तनाब खेप्नुप¥यो । ‘परम्परागत घाटमा शव व्यवस्थापन गर्ने भन्ने तयारी पहिल्यै थियो’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने ‘स्थानीयको गलत बुझाइले शव व्यवस्थापनमा समस्या भयो ।’

सुरक्षा समितिले कोरोनाबाट मृत्यु हुन सक्ने संभावना बारे तयारी नगर्दा बिहान ५ बजे मृत्यु भएका पुरुषको शव व्यवस्थापन गर्दा साँझ ७ बजेको थियो । शव के मा लैजाने भन्नेमा पनि निकै बेर अन्यौल भयो । शव लैजानुपर्ने भएपछि सदरमुकाममा भएका एम्बुलेन्स बाहना बनाएर जिल्ला बाहिर भागेका थिए । एम्बुलेन्स खोज्न प्रहरी र सेना प्रयोग गर्नुपर्ने अवस्था आयो । ‘योजना र पूर्व तयारी खासै देखिएन’ पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले भने ‘कसले के गर्ने भन्ने समन्वय नै देखिएन ।

पालुङटारको ७ र ८ वडा सिल  

शनिवार गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएपछि र थप तीन जनामा कोरोना पुष्टि भएपछि पालुङटारको दूईवटा वडा सिल गरिएको छ । वडा नम्बर ७ को जिबनज्योती माविको क्वारेन्टिनमा बसेका तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै वडा सिल गर्ने निर्णय गरिएको नगरप्रमुख दिपकबाबु कंडेलले बताए । ‘थप जोखिम न्यूनिकरण गर्न असार २६ गते सम्म वडा कार्यालय सिल गर्ने निर्णय भएको छ’ उनले भने । शनिवार चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गोरखामा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ । शनिवार पालुङटार नगरपालिकाका ३ र शहिदलखन गाउँपालिकाका एक गरी चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  ३० जना उपचारपछि निको भएर फर्किएका छन् भने बाँकी आइसोलेसनमा उपचाररत छन् ।

प्रकाशित: २० असार २०७७ १५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App