१६ चैत्र २०८० शुक्रबार
समाज

११ वर्षीया छोरीकाे बलात्कारपछि हत्या, आमाको बिलौना

मुर्छा परेकी कंचनकी आमा ।

‘मेरो बाबु ! मलाई छोडेर किन गयौं ? कसरी बाँच्छु म अब ? मेरी छोरीले कसको के बिगारेकी थिइन् ? हे भगवान मेरी छोरी ल्याइदेऊ,’ छोरीको हत्या भएको छेउमै दर्जनौ महिलाको भीडमा विलौना गर्दै थिइन् संगिता । छोरी हत्याको वियोगमा तडपीरहेकी थिइन । उनी अचेत हुन्थिन् । मुर्छा परेपछि भीडमा रहेकी महिलाहरूले उनलाई सम्हाल्न खोज्दै थिइन् । तर निमर्म हत्या भएको देखेर उनीहरू समेत कमजोर भइसकेका थिए । शव हेर्न टोलका सयौं मानिसहरूको घुँइचो थियो । सबैको आँखा रसाएकै देखिन्थ्यो ।  

जानकी मातालाई भाकल गरी पाएकी एक्ली छोरीको हत्या भएको उनलाई पत्यारै लागिरहेको थिएन् । तर सबैले मरिसकेको भनेपछि छोरीलाई जिउँदो बनाइदिन भगवान र भीडका मानिसहरूसित उनी गुहार लगाउँदै थिइन् । तर दुई दिनदेखि छोरी हराएको पीडाले भोकै बसिरहेकी उनलाई रुन शक्ति समेत बाँकी थिएन् । फेरी मुर्छा परेपछि आफन्तले बोकेर उनलाई लगे ।  

गत बुधबारदेखि बेपत्ता भएकी जनकपुरधाम उपमहानगरपालिका—२१ स्थित कुर्थाकी ११ वर्षीया कंचन पंजियारको शव शुक्रबार विहान घरभन्दा करिब एक किलोमिटरको दुरीमा रहेको दुधमती नदीको किनार झाडिमा फेला परेको थियो । बुधबार विहान करिब ११ बजे पाडापाडी चराउन हिँडेकी उनी रातिसम्म घर नआएपछि उनको परिवार तथा छिमेकीले खोज्न सुरु गरेका थिए ।  

‘घरमा खाना पाकिसकेको थिएन् । आमाले खाना खाएर मात्र पाडी चराउन जानु भन्दा कंचनले मानिन् । तीनवटा पाडापाडी लिएर चराउन उनी भोकै निस्किन,’ कंचनकी जेठा दाई राजुले भने, ‘हामीलाई तरकारी किन्न ढल्केवर बजार जानु थियो । खाना पकाएर १२ बजे पुग्दा आँपको बगैँचामा पाडापाडी चर्दै थियो । तर कंचन त्यहाँ थिइनन् । बगैँचा छेउमै आँप बेचिरहेकी काकीलाई खाना दिएर आमासँगै म पनि बजार हिँडे ।’ उनका काका महेन्द्रका अनुसार कंचन उनकै घरमा खाना खाएर पाडापाडी चराउन हिडेकी थिइन् ।  

कंचनकी बुवा विनोद पंजियार सहित उनका परिवारका सबैजना तरकारी व्यवसाय गर्दै आएका छन्। तर गरिब परिवार भएकाले उनका बुवा टोलमा कहिलेकाहीँ मजदुरी समेत गर्छन् । कंचन हराएको दिन उनका बुवा विनोद पंजियार र कान्छा दाइ रोशन अरुको खेतमा धान रोप्न गएका थिए ।  

खाना दिन पुग्दा कंचन नभेटिएपछि उनकी आमा र दाईलाई कंचन गाउँमै महासेठ सेवा समितीको भवनमा आयोजित शुद्धि भोजमा सामिल हुन गएको हुनसक्ने आशंका थियो । ‘बजारबाट फर्किदा पनि कंचन भेटिनन् । हामीहरू तीन÷चार पटक भोजमा खोज्यौँ । तरपनि नभेटेपछि महेन्द्रनगरमा काकाकी सासु बित्नु भएको थियो । काकासँगै त्यहीँ गएकी होलान जस्तो लाग्यो । तर साँझमा काकासँग नगएको हामीले थाहा पायौं,’ राजुले थपे ।

त्यसपछि आफन्त र छरछिमिक सबैजना कंचनको खोजीमा लागे । तर कतै नभेटिएपछि उनका घरपरिवार, आफन्त सबै आत्तिए। उनको घरमा रुवाबासी सुरु भयो । बिहीबार विहान करिब ८ बजे कंचन हराएको प्रहरीलाई खबर आएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए । प्रहरीको सहयोगमा बिहीबार राति ११ बजेसम्म झारपात, पोखरी, खेत सबैतीर उनको खोजी भयो । तर कतै भेटिएनन् ।  

शुक्रबार विहान करिब साढे १० बजे खेतमा धान रोपिरहेकी एक स्थानीय महिला दाँत सफा गर्न दत्युन लिन दुधमती किनार पुगिन् । ‘हामी खेतमा धान रोप्दै थियौँ । घरबाट खाजा आइसकेपछि उनी दत्युन लिन गएकी थिइन् । उनलाई त्यहाँ केही गन्याएको जस्तो लाग्यो । के हो भनेर हेर्न जाँदा लास देखिन् । उनले हामी सबैलाई बोलाइन् र त्यसपछि मैले प्रहरीलाई फोन गरे,’ स्थानीय रामबाबु साहले भने । 

पाडापाडी चराउने ठाउँबाट करिब तीन सय मिटर पर शव भेटिएको छ । शव अर्धनग्न अवस्थामा नदी किनारमै झाडिमा पल्टिएको अवस्थामा देखेको उनले बताए । शव नग्न देखिएकाले बलात्कार गरी हत्या गरिएको स्थानीयहरूको भनाइ छ । शवको प्रकृतिले बलात्कार भएर हत्या गरिएको हुनसक्ने देखिएपनि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविक कुरा भन्न सकिने प्रहरी प्रवक्ता डिएसपी कार्कीले बताए ।

‘शवको प्रकृतिले बलात्कार गरी हत्या भएको जस्तो लाग्छ । बालिकाको हत्या भएकाले बलात्कारको शंका छ,’ उनले भने ।  

शव फेला परेको नजिकै धान खेतबाट ओछयाएर सुत्ने कपडा समेत बरामद भएको उनको भनाइ छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सोधपुछकालागि शव फेला परेको स्थान नजिकै चिहानमा बस्दै आएका अघोरी बाबा भनिने भारतीय एक नागरिकलाई पक्राउ गरेको छ । उनी जाँड, रक्सी, गाँजा लगायतका धुम्रपान तथा मद्यपान सेवन गर्दै गाउँमा हिडेपछि करिब एक वर्षपहिले गाउँलेहरूले त्यहाँबाट भगाएका थिए । 

तर करिब चार महिनादेखि निरन्तर त्यहीँ बस्दै आएको स्थानीय विजय साहले बताए । उनका अनुसार हत्या गरिएको ठाउँ वरपर दिनहुँ गाँजा, चरेश, रक्सी लगायतका धुम्रपान तथा मद्यपान गर्नेको भिड हुन्छ । घटनामा उनीहरूको समेत संलग्नता हुनसक्ने स्थानीयहरूको आशंका छ ।

प्रकाशित: १९ असार २०७७ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App