८ वैशाख २०८१ शनिबार
समाज

भारतबाट लागूऔषध भित्र्याउने समूह सक्रिय

सुनसरी कोशी गाउँपालिका वडा नं. ४ का ३७ वर्षे करमुन मियाँ विहीबार राति लागू औषधसहित पक्राउ परे। उनी भारतबाट लुकिछिपी नेपालतर्फ लागूऔषध ल्याउने क्रममा पक्राउ परेका हुन्।  

कोशी गाउँपालिका वडा नं. ५ को श्रीपुरमा सीमाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेका साथबाट प्रहरीले स्पास्मोप्रोक्सिभन प्लस ४४० ट्याब्लेट, डाइलेक्स डिसि सय एमएलको ३१ बोतल, नगद चार हजार एक सय ५५ पनि बरामद गरेको छ।  

दुई दिनअघि मात्र इनरुवा वडा नं. १० जल्पापुरका ३० वर्षे अल्लाउदिन मियाँ र २५ वर्षे अखतर आलमलाई पनि प्रहरीले लागूऔषधसहित पक्राउ गर्योह। पक्राउ पर्नेका साथबाट प्रहरीले स्पास्मोप्रोक्सिवन ९० क्याप्सुल, डाइलेक्स डिसि सय एमएल १० बोतल, नगद तीन हजार र को १० प १९९ नं. को मोटरसाइकल बरामद गरियो।

असार ५ गते कोशी गाउँपालिका वडा नं. ७ हरिपुरमा भारतको विहार राज्य सुपौल ग्राम पञ्चायत फत्तेहपुर वडा नं. १ का २० वर्षे लक्ष्मणकुमार पासवान र सोही स्थानमा बस्ने १९ वर्षे अर्जुनकुमार पासवानलाई प्रहरीको टोलीले लागूऔषधसहित पक्राउ गरियो। लक्ष्मणकुमार र अर्जुनकुमारलाई प्रहरी टोलीले कालो प्लाष्ट्रिकभित्र लुकाई राखेको ब्राउन सुगर ८५० मिलीग्राम र भारतीय पैसासहित पक्राउ गरेको थियो। पक्राउ परेकालाई लागूऔषध ऐन २०३३ बमोजिम मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ।  

कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि चैत ११ गतेदेखि देश लकडाउन छ। त्यही बेलादेखि सीमामा सशस्त्र र जनपथ परिचालन थप गरिएपनि एकपछि अर्को श्रृखलाबद्द रुपमा भारतबाट नेपाल लागूऔषध भित्रयाउने क्रम रोकिएको छैन्।  

असार १० गते सुनसरी कोशी गाउँपालिका वडा नं. ८ भाण्टावारी चोकबाट एक जना कारोबारीलाई प्रहरीले पक्राउ गर्योर। लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र सिमा प्रहरी चौकी भाण्टावारीबाट खटिएको गस्ती टोलीले विशेष सुराकीको आधारमा सोही स्थानका २३ वर्षे मिथुनकुमार यादवलाई शंका लागि चेक गर्दा लागूऔषधसहित पक्राउ परे। यादवले बोकेको प्लाष्टिकको पोका चेक गर्दा प्रहरीले फेनारगन ४१ एम्पुल, डाईजेल्याव ३९ एम्पुल, लुपिजेसिक ४० एम्पुल, नाईट्रोशन १०० ट्याव्लेट र स्पास्मो प्रोक्सिभन १४४ क्याप्सुल पनि फेला पारियो।  

कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम र नियन्त्रणका लागि देश लकडाउनमा भएको बेला २०७७ जेठ पहिलो साता लागूऔषधसहित कोशी गाउँपालिका क्षेत्रबाट सोही ठाउँ वडा नं. ६ का २६ वर्षे रुपेश झा पक्राउ  परे। उनलाईं प्रहरीले २५ बोतल कोरेक्ससहित पक्राउ गरेको हो। अर्का एक जना फरार भए।  

यी माथिका घटनाक्रम त उदाहरण मात्र हुन्। छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई आक्रान्त बनाएको छ। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेदेखि नेपालमा लकडाउनमा लाग्यो। त्यसयता भारतबाट नेपाल लागूऔषध ल्याउने क्रम जारी छ।  

जिल्ला प्रहरी कार्यालय सुनसरीको रेकर्ड अनुसार कोरोना भाइरसको महामारीको समय चैत, बैशाख र जेठको अवधिमा जिल्लाभर १० लागूऔषध कारोबारका मुद्दा दर्ता भएका छन्। असारमा पनि थप पक्राउ पर्दा छन्।  

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सरोज खनालले निरन्तर रुपमा भारतबाट लागूऔषध भित्रयाउने समूह सक्रिय भएको बताए।  

लागूऔषध प्रयोगकर्ताको हिसावले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट पनि लागूऔषध नेपाल भित्र्याउन सहजै छ।  

लागूऔषध सेवन तथा कारोबार गर्नेको संख्या हेर्दा ग्राफमा उकालो लागेका बेला चालु आर्थिक वर्ष २०७६–०७७ को जेठ मसान्तसम्मको अवधिमा सुनसरी प्रहरीले १२३ वटा मुद्दा चलाएको छ। यो अवधिमा १४७ जना पुरुष र तीन महिलालाई पक्राउ गरि मुद्दा चलाएको छ। अन्य २२ जना फरार भएको प्रहरीको रेकर्डमा  छ। पक्राउ पर्नेका साथबाट प्रहरीले नाइट्राभेट ट्याब्लेट, गाजा, ब्राउन सुगर, एभिल, लुपिजेसिक, डाइजेल्याब, नाइट्रेजापाम,  स्पास्मोप्रोक्सिबन, स्पेस्पेन, ट्रामाडोल, हामाजोक, डाइलेक्स डिसि, फेनारागन, खैरो हिरोइनजस्ता लागूऔषध बरामद गरेको छ।  

आर्थिक वर्ष २०७५–०७६ को अवधिमा लागूऔषध कारोबार गरेको आरोपमा सुनसरी प्रहरीले १८१ वटा मुद्धामा २८९ पुरुष र छ जना महिलालाईं पक्राउ गरि मुद्दा चलाएको थियो।  

मानिसको मस्तिष्क र स्नायू प्रणालीलाई प्रभावित पार्ने अथवा हाम्रो सोच्ने, सम्झने शक्तिलाई विकृत तुल्याई बानी र व्यवहारमा परिवर्तन ल्याई दिने कुनै पनि पदार्थलाई लागूऔषध भनिन्छ। यसको प्रयोगबाट सबैभन्दा पहिले मानिसको केन्द्रीय स्नायू प्रणालीमा असर पर्दछ भने अन्य भागहरु जस्तै (मृगौला, कलेजो, फोक्सो, मुटु, मांशपेशी आदिको कामलाई पनि प्रभावित पार्दै जान्छ।

लागूपदार्थको निरन्तर जथाभावी प्रयोग गर्दा गर्दै शरीरमा एक प्रकारको सहने क्षमताको विकास हुदै जान्छ अर्थात शरीरिक तथा मानसिक रुपले लागू पदार्थमै निर्भरताको अवस्था सिर्जना हुन्छ, जसको परिणाम स्वरुप लागूपदार्थ विना दैनिक जीवन सामान्य अवस्थामा व्यतित गर्न नसक्ने हुन्छ, त्यही अवस्था नै दुर्व्यसन हो।

 

प्रकाशित: १९ असार २०७७ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App