१६ चैत्र २०८० शुक्रबार
समाज

सिन्धुपाल्चोकमा एक वर्षे बालिकासहित तीन संक्रमित थपिए

सिन्धुपाल्चोकमा एक वर्षीया बालिकासहित तीन कोरोना संक्रमित थपिएका छन्। योसमेत जिल्लामा संक्रमितको संख्या ३५ पुगेको छ।  इन्द्रावती गाउँपालिका–१२ की एक वर्षीया बालिका तथा २३ र २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए। उनका अनुसार बालिका आमाबुबासँगै भारत तथा दुई पुरुष स्याङ्जा जिल्लाबाट फर्केका थिए।  

असार ९ गते भारतबाट फर्केकी बालिका आमाबुबासँगै इन्द्रावतीको ढोटार आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी थिइन्। त्यस्तै भीमेश्वर माविको क्वारेन्टिनमा बस्दै आएका दुई पुरुष भने असार ७ गते स्याङ्जाबाट फर्केका थिए। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले थ्रोट स्वाब परीक्षण गरी बिहीबार उनीहरुमा कोरोना संक्रमण पुष्टि गरेको हो।  

संक्रमित तीनै जनाको मेलम्चीस्थित क्षेत्रीय आइसोलसनमा राखेर उपचार थालिएको छ । बालिकाकी आमालाई पनि उनीसँगै आइसोलसनमा राखिएको छ। उनका बुबा भने क्वारेन्टिनमै छन्। सँगै थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको भए पनि बालिकाका आमाबुबाको रिपोर्ट भने आएको छैन।  

संक्रमितमध्ये एक महिलाको मृत्यु भइसकेको छ। मुलुकमा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो थिइन्। उपचारपछि निको भएर २० जना घर फर्किसकेका छन्। १४ को आइसोलेसनमा उपचार भइरहेको छ।

 

प्रकाशित: १९ असार २०७७ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App