३० श्रावण २०७७ शुक्रबार
समाज

परीक्षा मोडेल परिवर्तन गर्दै त्रिवि

लकडाउनका कारण रोकिएका त्रिविका परीक्षाको गाँठो फुकाउन त्रिभुवन विश्वविद्यालयले गठन गरेको परीक्षा सम्बन्धी समितिले विश्वविद्यालयको प्रोफेसरलाई नै परीक्षाको सर्वेसर्वा बनाउने सुझाव अन्तिम चरणमा पुर्एको छ।  

१३ सदस्यीय समितिका संयोजक प्राडा सुवर्ण शाक्यले विश्वभरिकै विश्वविद्यालयमा प्रध्यापक नै सर्वेसर्वा हुने र उनीहरूले नै विद्यार्थीको मूल्यांकन गर्ने प्रणाली रहेकोले अब त्रिविले पनि यो परीक्षा प्रणाली अपनाउनुपर्ने सुझाव तयार पारेको बताए। उनले युरोपियन देश जर्मन, इटाली, युक्रेन, स्पेनका साथै अमेरिका, क्यानाडा, रुस, बेलायत, भारतलगायतका विश्वका धेरै देशहरूमा प्राध्यापकहरूलेनै विद्यार्थीको हरेक सेमेस्टरको मूल्यांकन गर्ने र अन्तिम परीक्षाका समेत प्रध्यापकले नै मूल्यांकन गरेर विद्यार्थीको ग्रेडिङ गर्ने व्यवस्था छ।  

विभिन्न देशको तुलनात्मक अध्ययनका आधारमा नेपाल पनि यो मोडेलमा जानुपर्ने सुझाव तयार पारेको समिति संयोजक शाक्यले बताए। हाल त्रिविमा स्नातक तहमा सेमेस्टर कार्यान्वयन भएका सबै संकायको प्रथम, तेस्रो, पाँचौ र सातौं सेमेस्टरको परीक्षा सकिएको छ। यी तहका विद्यार्थीले २० नम्बरको आन्तरिक परीक्षा सकेर सेमेस्टर अपग्रेडका लागि फारम भरिसकेका छन् भने द्वितीय, चौथो, छैठौं र आठौं सेमेस्टरको अनलाइन कक्षा सञ्चालन भइरहेको छ। स्नातकोत्तर तहका सबै कोर्ष सकेर ४० नम्बरको आन्तरिक परीक्षा सकिएको छ। विद्यार्थीको कोर्ष सकिए पनि परीक्षा कहिले हुने भन्ने चिन्तामा विद्यार्थी र कलेज प्रमुखहरू छन्। सकिएको कोर्षको परीक्षा नभएकोले अनलाइन कक्षामा समेत विद्यार्थी आकर्षण घटेको कलेजका प्रमुखहरूले बताएका छन्।  

समिति संयोजक शाक्यले एक महिना अध्ययन गरी परीक्षाको मोडेल तयार पार्ने काम भइरहेको जनाए। उनका अनुसार स्नातक तहको समेस्टर परीक्षामा कलेजहरूले २० नम्बरको आन्तरिक मूल्यांकन गरिसकेका छन्। अब स्नातकोत्तर र स्नातक तहको अन्तिम परीक्षाको पर्खाइमा विद्यार्थी र कलेजहरू छन्। सुझावमा स्नातक तहको सवालमा आन्तरिक र अन्तिम परीक्षाको नम्बरमा ठूलो अन्तर भएकाले यो तहको सेमेस्टरको अन्तिम परीक्षामा विद्यार्थीको अनलाइन कोर्षमा आधारित मौखिक परीक्षा गराउनुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारेको छ।  

‘स्नातक तहमा प्रत्येक कलेजले परीक्षा कमिटी बनाउने र आन्तरिक तथा मौखिक परीक्षको नम्बर जोडेर ग्रेडिङ गर्ने जिम्मेवारी कलेज परीक्षा कमिटीले गर्ने छ,’ संयोजक शाक्यले नागरिकसँग भने, ‘स्नातकोत्तर तहमा भने सबै जिम्मेवारी प्रध्यापकलाई नै दिने उनीहरूले नै विद्यार्थीको आन्तरिक र अन्तिम परीक्षाको नम्बरको आधारमा ग्रेडिङ गरिदिन्छन्। अल इन अल प्रोफेसर’ परीक्षा मोडेलमा जान सुझाव तयारी अन्तिम चरणमा छ। लकडाउनको समयलाई मात्र होइन त्रिविमा यही प्रणाली लागू गर्दा समग्र उच्च शिक्षासमेत गुणस्तरीय हुन्छ।’  

लकडाउनका कारण त्रिविका वार्षिक प्राणाली र सेमेस्टर प्रणालीअन्तर्गतका करिब ७ लाख बढी परीक्षार्थी कोर्ष सकेर पनि परीक्षा दिनबाट बन्चित भएका छन्। पहिलो सेमेस्टर, तेस्रो सेमेस्टर, पाँचौं र सातौं सेमेस्टरका विद्यार्थीको सेमेस्टर अपग्रेडिङको बाटो रोकिएको पब्लिक युथ कलेजका प्रमुख बलराम थापाले बताए।  

‘हाम्रो कलेजले बिबिए, बिटिटिएम, बिआइ, बिएचएम, बिआइएमका प्रथम, तेस्रो, पाँचौं र सातौं सेमेस्टरका आन्तरिक परीक्षा सञ्चालन गरी नम्बर दिइसकेको छ। अन्तिम परीक्षाका लागि विद्यार्थी कुरिरहेछन्। माथिलो सेमेस्टरको अपग्रेडिङ रोकिएकाले विद्यार्थीमा निराशा छाएको छ,’ प्रमुख थापाले नागरिकसँग भने, ‘जसका कारण अनलाइन सञ्चालन कक्षाको आकर्षण घटिरहेको छ,’ उनले थपे, ‘त्रिविले छिट्टै परीक्षाको टुंगो लगाउनुपर्छ।’

शंकरदेव कलेजका प्रमुख कृष्णप्रसाद आचार्यले स्नातक र स्नातकोत्तर तहका विद्यार्थी आन्तरिक परीक्षामा योग्य भएर पनि उनीहरूको सेमेस्टर अपग्रेड लक भएकोले विद्यार्थीमा डिप्रेसनसमेत बढिरहेको बताए।  

कोभिड–१९का त्रासका कारण चैत्र ११ गतेदेखि भएको बन्दाबन्दीले त्रिभुवन विश्वविद्यालयको सबै नियमित परीक्षा प्रभावित भएका छन्। जसका कारण विश्वविद्यालयमा परीक्षा दिने तयारीमा रहेका ७ लाख बढी विद्यार्थीको भविष्य अनिश्चित बनेको छ।

प्रकाशित: १९ असार २०७७ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App