८ वैशाख २०८१ शनिबार
समाज

खोटाङमा एक जना कोरोना संक्रमित थपिए

खोटाङमा कोरोना भाइरस (कोभिड–१९)का एक जना संक्रमित थपिएका छन् । बहराईनबाट आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३० वर्षीय युवालाई कोरोना संक्रमण पूष्टी भएको हो । असार १२ गते दिक्तेल आइपुगेपछि क्वारेन्टिनमा राखिएका युवालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणका क्रममा संक्रमण भएको पूष्टी भएको जिल्ला अस्पतालका डा. शैलेस श्रेष्ठले बताए । संक्रमित युवालाई हाल जिल्ला अस्पताल दिक्तेलको आइसोलेसनमा लगेर राखिएको छ ।  

दिक्तेल आए लगत्तै माटिकोरेस्थित कवर्ड हलमा बनाइएको क्वारेन्टिनमा राखिएका उनलाई असार १४ गते सरस्वती माबिको क्वारेन्टिनमा सारिएको थियो । सरस्वती माबिमा राखिएका ११ जनाको स्वाब परीक्षण गर्दा उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पतालले जनाएको छ । पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट देखिएका ८ जनालाई बिहीबार घर पठाइएको नगरपालिकाले जनाएको छ  ।  

संक्रमित युवासँगै एउटै कोठामा राखिएका दुई जनालाई भने थप ५ दिन क्वारेन्टिनमै राखिने भएको छ । पाँच दिनपछि गरिने पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि मात्र दुई जनालाई घर पठाइने नगरपालिकाले जनाएको छ । थप एक जनामा संक्रमण देखिएसँगै खोटाङमा संक्रमितको संख्या छ जना पुगेको छ । त्यसमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र पाँच जना र ऐसेलुखर्क गाउँपालिकाका एक जना छन् । 

हलेसी तुवाचुङ नगरपालिकाका चार जना संक्रमित भने उपचारपछि घर फर्किसकेका छन् । कोरोना संक्रमित बढिरहँदा सावधानीका विषयमा भने हेलचक्र्याइ बढिरहेको छ । 

प्रकाशित: १८ असार २०७७ १५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App