६ चैत्र २०८० मंगलबार
समाज

सदा मृत्यु प्रकरण : न्याय माग्दै दलित समुदायको प्रदर्शन, प्रहरीद्धारा अश्रुग्यास प्रहार

राजु सदा, शम्भु सदा लगायतका मृत्युको घटनामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै प्रदेश भरका दलित समुदायले जनकपुरमा प्रदर्शन गरेका छन्। ईलाका प्रहरी कार्यालय सबैलाको हिरासत कक्षभित्रै झुण्डिएको अवस्थामा फेला परेका सम्भुको हत्या भएको र कोभिड अस्पताल जनकपुरको आइसोलेसन कक्षमा उपचार नपाएर राजुको मृत्यु भएको भन्दै उनीहरूले न्यायको माग गर्दै घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गरेका हुन् ।  

सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही लगायतका जिल्लाबाट प्रदर्शन गर्न ट्रायाक्टर चढेर जनकपुर आएका उनीहरूले सरकार, प्रहरी, प्रशासन विरुद्ध चर्को नारावाजी गरेका थिए । हजारौंको संख्यामा प्रदर्शनमा उत्रेका दलित समुदायले नारावाजी गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यायतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेका थिए ।  

स्थीती अनियन्त्रित हुन थालेपछि प्रहरीले ५ राउण्ड आश्रु ग्यास प्रहार गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए । अवस्था तनावग्रस्त भएपछि प्रहरीले लाठीचार्ज समेत गरेको थियो । लाठीजार्जबाट करिब आधा दर्जन घाइते भएको बताइएको छ । उनीहरूलाई समान्य चोटपटक लागेको छ भने २ जनाको टाउको फुटेको छ ।

प्रदर्शनकै क्रममा मुसहर अभियानमा लागेको पत्रकार समेत रहेका विपी साहलाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ढुंगामुढा गरेपछि उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जनाए । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत भित्र राखिएको छ । उनको रिहाइको माग गर्दै प्रदर्शनकारीहरू रंगभूमी मैदानमा धर्नामा बसेका छन् । 

‘प्रहरीले हाम्रो शान्तिपुर्ण आन्दोलनमा बर्बर दमन गरेको छ । पक्राउ गरेका हाम्रा साथीलाई अबिलम्ब रिहाइ गनुपर्ने, घाइतेहरूको उपचार, शम्भु र राजुको हत्यामा संलग्नलाई कडा कारवाही नभए हामी थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौ,’ आन्दोलनरत पचु माझीले भने । मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि हुँदै जिल्ला प्रशान अगाडि प्रदर्शन गर्दै जनक चोकमा आएर कोण सभा गर्ने उनीहरूको कार्यक्रम दलित संघर्ष समितिले सार्वजनिक गरेको थियो ।  

सवैला नगरपालिका–१२ रघुनाथपुर वर्कुवाका शम्भुको गत जेठ २७ गते प्रहरी हिरासतभिकै शौचालयमा झुन्डिएको अवस्थामा शव बरामद भएको थियो थियो । प्रहरीले उक्त घटना आत्महत्या भएको बताएपनि उनको परिवारजनले हत्या भन्दै सरकारी वकिलको कार्यालय मार्फत किटानी जाहेरी दिएका छन् ।  

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादव, सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्ष पारस साह, वडा नम्बर ३ का अध्यक्ष सन्तोष साह, वडा नम्बर ४ बस्ने राजकुमार यादव, वडा नम्बर २ बस्ने कारी यादव र सञ्जय साह तथा वडा नम्बर ३ बस्ने कालीप्रसाद साहविरुद्व जाहेरी परेको छ ।  

यस्तै हंसपुर नगरपालिका—७ प्रसाहीका राजुको उपचार अभाव र चिकित्सककै लापरबाहीका कारण जनकपुरस्थित कोभिड अस्पतालमा मृत्यु भएको परिवारजनको आरोप छ । सो घटना छानविनकालागि संसदीय समितीले बुधवारबाट छानविन सुरु गरिसकेको समितीकी सदस्य चमेली देवी दासले बताइन्।

प्रकाशित: १८ असार २०७७ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App