बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बिओपी स्थापना गरिएको हो ।
पञ्चेश्वर बहुउद्देशीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै बिओपीमा रुपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख डिएसपी अमित सिंहले बताए । उक्त बिओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथाकीले गरे । बिओपीमा सशस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ । बिओपी स्थापनाका लागि पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा उपलब्ध गराएको हो । यसअघि बैतडीको झुलाघाटमा पनि गत जेठ १० गते बिओपी स्थापना गरिएको थियो ।
बिओपी स्थापनाले सीमा सुरक्षाका लागि सजिलो हुने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ ।
प्रकाशित: १७ असार २०७७ १३:४७ बुधबार