२२ असार २०७७ सोमबार
समाज

जो अरूका दुःख देख्न सक्दैनन्

अमर क्षत्री

भनिन्छ- धन हुनेको मन हुँदैन, मन हुनेको धन । यी दुवै गुण भएका व्यक्ति संसारमा बिरलै पाइन्छन् । यस्तै व्यक्तिमध्ये एक हुन्– काठमाडौं स्थायी घर भई अमेरिकालाई कर्मथलो बनाइरहेका ४२ वर्षीय अमर क्षत्री । जसको मन कसैको दुःख देख्याे कि थामिँदैन । सक्ने सहयाेग गर्न अघि सरिहाल्छन् । जब दुःखी मानिस खुसी हुन्छन्, तब उनी संसारकै सुख प्राप्त भएको अनुभूति गर्छन् ।  यही भावनासाथ उनी दशकदेखि समाज सेवामा सक्रिय छन् । 

सन् २००९ देखि विभिन्न दुःख/पीडामा परेकाहरूको सहयोग गर्न थालेका क्षत्रीले अहिलेसम्म कैयौंका आँसु पुछिसकेका छन् ।   

क्षत्रीले हालै नेपाल घर भई भारतमा रहेका अग्निपीडित ज्ञानबहादुर विकका छोरा कृष्ण विकको उपचारका लागि २ लाख ३० हजार सहयोग गरेका छन् । यसमा क्षत्रीकी बहिनीको पनि सहभागिता छ । वैदेशिक रोजगारीका क्रममा भारतको पन्जाबमा रहेका ज्ञानबहादुरका सानो छोरा कृष्ण पोलेको घाउले छट्पटाइरहेका थिए । तर उनीसँग छोराको उपचार गर्ने खर्च थिएन ।  

जब दुःखी मानिस खुसी हुन्छन्, तब उनी संसारकै सुख प्राप्त भएको अनुभूति गर्छन् । यही भावनासाथ उनी दशकदेखि समाजसेवामा सक्रिय छन् । 

कसोकसो यो दर्दनाक पीडाको खबर अमर क्षत्रीसम्म पुग्यो । समस्या सुन्नेबित्तिकै उनले पन्जाबमा ज्ञानबहादुर बस्ने ठेगाना पत्ता लगाएर पैसा पठाइहाले । त्यही खर्चमा अहिले कृष्णको उपचार भइरहेको सहयोगमा खटिएका बागलुङका होम गोतामेले जानकारी दिए । उनका अनुसार खाना पकाउने स्टोभ पड्केर लाग्दा कृष्णको शरीरको ७० प्रतिशत भाग जलेको हो ।  

कृष्ण पूरै निको नहुन्जेल सहयोग पठाइरहने प्रतिबद्धता क्षत्रीले व्यक्त गरेका छन् । नागरिकसँग उनले भने, ‘अरूको देश (भारत) मा कस्तो आपत् परिरहेको होला, अब म कृष्णको उपचार पूरा नहुँदासम्म सहयोग गरिरहनेछु ।’  

सिर्जनशील सामुदायिक समाज, बागलुङबाट मायाको चिनो लिँदै क्षत्री।

उसो त एक दशकको अवधिमा उनले कृष्णजस्ता कैयौंको घाउमा मलम लगाइसकेका छन् । ज्ञानबहादुरजस्ता कैयौंको आँखाको आँसु पुछेका छन् । तर उनी कोहीजस्तो केही सहयोग गर्नेबित्तिकै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै प्रचारप्रसार गर्न रुचाउँदैनन् ।  

सन् २०१९ यता क्षत्रीले वास्तविक पीडित कसै न कसैलाई सहयोग नगरेको वर्ष छैन ।  

गत वर्ष बागलुङ नगरपालिका–२, पयौंडाँडाकी खगी नेपालीले मुटुरोगका कारण पति गुमाइन् । कमाउने मुख्य मान्छे नै बितेपछि उनको परिवारलाई बिहान–बेलुका हातमुख जोड्नसमेत मुस्किल भयो । जब यो कुरा क्षत्रीको कानमा पर्यो तब उनको सहयोगी मन भतभती पोल्न थाल्यो । त्यसपछि उनले हरेक महिना खगीको परिवारको गुजाराका लागि १५ हजार रुपैयाँ पठाइरहेका छन् । जबसम्म खगीका बालबालिका कमाउन सक्ने हुँदैनन्, तबसम्म सहयोग गरिरहने वचन उनले पीडित परिवारलाई दिएका छन् ।  

यस्तै उनले गल्कोट नगरपालिका वडा नम्बर २ की अर्की एकल महिला निर्मला सुनारको परिवारलाई पनि ८ महिनादेखि यस्तै सहयोग गरिरहेका छन् । महिनाको १२ हजार रुपैयाँ पठाइरहेका उनले निर्मलाका साना सन्तान सक्षम नहुन्जेल सहयोग जारी राख्ने बताएका छन् ।  

त्यसैगरी म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीकी अमर गोतामे एकल पुरुष हुन् । ज्याला मजदुरी गरेर जीविका चलाउने गोतामेकी पत्नीको अल्पआयुमै मृत्यु भएपछि उनलाई बालबच्चाको पालानपोषण गर्न मुस्किल प¥यो । यो समस्या थाहा पाएपछि क्षत्रीले तत्कालै ८ हजार रुपैयाँ सहयोग गरे र यसलाई हरेक महिना जारी राखे । क्षत्री भन्छन्, ‘हामीले थोरै ठानेको पैसाले उनीहरूलाई महिनाभरि खाने दाल–चामल आउँछ । त्यही भएर सा–सानो सहयोग गरिरहन्छु ।’  

क्षत्रीले लक्ष्मी प्रतिष्ठान (काठमाडौं), इस्नियाँ काग (काठमाडौं), दीक्षा चापागाईको संस्था पवित्र सेवा समाज र सिर्जनशील समाज (बागलुङ) लाई लामो समयदेखि आर्थिक सहयोग गरिरहेका छन् ।  चेपाङ बालबालिकाको शिक्षा र खानपानका लागि लक्ष्मी प्रतिष्ठान र वृद्ध तथा असहायका लागि पवित्र सेवा समाजलाई क्षत्रीले एक दशकदेखि वर्षको २–३ लाख सहयोग गरिरहेका हुन् । लक्ष्मी प्रतिष्ठानको संयोजनमा काभ्रेकाे चौरीदेउरालीमा ध्यान केन्द्र भवन निर्माणका लागि पनि उनले सहयोग गरिरहेका छन् । आफ्नी हजुरआमाको नाममा ‘सावित्रीदेवी ध्यानकेन्द्र’ निर्माण गर्न लागिएको क्षत्रीले सुनाए । हाल कोरोना महामारी एवं लकडाउनका कारण भवन निर्माण रोकिएको छ । यो ध्यान केन्द्र बनेपछि नजिकको सहर काठमाडौंबाट थकित बनेर आउनेहरूलाई आनन्द मिल्ने उनको भनाइ छ ।  

क्षत्रीले गरेका यस्ता सहयोग कति सम्झनामा छन्, कति छैनन् । उनले  पिता मनमोहन पहिला बसेको भारतको कलकत्तामा साथीहरूले कोराना महामारीका कारण दुःख पाएको सुनेपछि त्यहाँ पनि राहत पठाए । यस्तै सहयोग उनले आफ्नो घर रहेको काठमाडौंको बालुवाटार/महाराजगन्जका छरछिमेकलाई पनि गरेका छन् ।  

यसैगरी समाजसेवी क्षत्रीले काठमाडौंस्थित एकल महिलाहरूको संस्था मातृभूमि सेवा समाजलाई मासिक ३० हजारका दरले सहयोग गरिरहेका छन् । संस्थाले एकल महिलाको सीप विकासका लागि तालिम दिने गर्छ ।  

क्षत्रीले सहयोग गर्दा आफ्नो देश वा विदेश भनेर पनि छुट्याउने गरेका छैनन् । उनको सहयोग जहाँ भए पनि केवल मानवताका लागि हुने गरेको छ । हरेक वर्ष क्रिसमसका बेला घरविहीन  अमेरिकनहरूलाई पनि उनले सहयोग गर्ने गरेक छन् । जाडोका बेला उनले त्यस्ता अमेरिकी नागरिकलाई टोपी, सुइटर किनेर दिने गरेका हुन् ।  ‘सहयोग गर्न नेपाली नै हुनुपर्छ भन्ने लाग्दैन,’ उनी भन्छन् ।  

क्षत्रीले सहयोग गर्दा आफ्नो देश वा विदेश भनेर पनि छुट्याउने गरेका छैनन् । उनको सहयोग जहाँ भए पनि केवल मानवताका लागि हुने गरेको छ ।

व्यक्ति तथा संस्थालाई गरेर अहिलेसम्म झन्डै १ करोड रुपैयाँ बराबर सहयोग गरिसकिएको उनको अनुमान छ । तर सबै सहयोगको हिसाब–किताब राख्ने फुर्सद उनलाई छैन । न त फेसबुकमा फोटो हालेर हल्ला गर्छन् ।  ‘सहयोग भन्दा ठूलो हल्ला गर्ने चलन मलाई राम्रो लाग्दैन, सहयोग गर्दा मलाई आनन्द प्राप्त हुन्छ । मैले गरेको असल कर्मले भावी सन्तानलाई राम्रो हुन्छ,’ उनले भने । आफूले सकुन्जेल विपदमा परेकाहरूलाई सहयोग गरिरहने उनको मन छ ।  

उनले सहयोग गर्दा दुःखी÷असहाय बालबालिका प्राथमिकतामा पर्छन् । जसलाई साँच्चिकै सहयोगको खाँचो छ, उसलाई सहयोग गर्ने उनको सिद्धान्त छ । पछिल्लो समय अफगानिस्तानलाई कर्मथलो बनाइरहेका बागलुङका होम विकले क्षत्रीको अभियानमा संयोजनमा सहयोग पुर्याइरहेका छन् ।  

‘सहयोग गर्ने संस्कार बुबाआमाबाटै’  

अमर क्षत्री काठमाडौंको ठमेलमा हुर्केका हुन् । बुबा मनमोहन ठमेलेको पर्यटनसम्बन्धी एक कार्यालयमा जागिरे गर्थे भने आमा गृहिणी । जतिखेर बस्ने आफ्नै घरसमेत थिएन । तैपनि क्षत्री दम्पती दुःखी÷पीडितलाई सकेको सहयोग गर्न अघि सर्थे । आफन्तको व्रतबन्धदेखि खाना नपाएका व्यक्तिसम्मलाई उनीहरू सहयोग गर्थे ।  

जसले गर्दा क्षत्री दम्पती स्थानीयबीच असल व्यक्तिका रूपमा स्थापित थिए । यो कुराले पनि अमरलाई पे्ररणा मिलिरहेको थियो । भन्छन्, ‘मैले सहयोग गर्ने संस्कार बुबाआमाबाटै सिकेको हुँ ।’  

सन् २००२ मा वातवरण विज्ञान अध्ययनका लागि विद्यार्थी भिसामा अमेरिका छिरेका क्षत्री अन्ततः उतै व्यवसायीका रूपमा स्थापित भए । जसबाट हुने कमाइको  १०–१५ प्रतिशत रकम समाज सेवामा खर्चिने गरिएको उनले सुनाए ।  

प्रकाशित: १६ असार २०७७ १५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App