१६ चैत्र २०८० शुक्रबार
समाज

वीपीका चिकित्सक र कर्मचारीहरूको तलब २० प्रतिशतसम्म वृद्धि

कर्मचारीहरूद्वारा निर्णयको स्वागत, फ्याकल्टीहरू भने असन्तुष्ट

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यालय । तस्बिर : रोहित राई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ४३ औं सिनेट बैठकले निर्णय गरेअनुसार चिकित्सक र कर्मचारीहरूको तलब वृद्धि गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले कर्मचारी तथा चिकित्सकहरूलाई आन्तरिक स्रोतबाट तलब वृद्ध गर्ने निर्णय गरेका हुन् । नेपाल सरकारले कर्मचारीहरूको तलब वृद्धि गर्ने निर्णय गरेपछि प्रतिष्ठानका कर्मचारी तथा चिकित्सकहरूले पनि तलब वृद्धिको माग गर्दै आएका थिए । प्रतिष्ठानको ४३ औं सञ्चालक परिषद(सिनेट) बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तबल वृद्धि गर्नसक्ने निर्णय गरेको थियो । यसअघि तलब वृद्धिबारे स्रोत पहिचान तथा अध्ययन गर्न एक समिति पनि गठन गरिएको थियो ।

उपकुलपति डा.गिरीले वृद्धि भएको तलब १ साउन २०७६ देखि लागु हुने गरी वृद्धि गर्ने निर्णय गरेका छन् । उनको निर्णय अनुसार श्रेणीविहिनदेखि सहायक स्तरसम्मका कर्मचारीहरूको बेसिक तलबमान २० प्रतिशत वृद्धि भएको छ भने अधिकृतस्तरदेखि डेपुटी रजिष्टारसम्मका कर्मचारीहरूको तलब १५ प्रतिशत वृद्धि भएको छ । यस्तै, सिनियर रेसिडेन्टदेखि पदाधिकारीहरूको बेसिक तलबमा १० प्रतिशतका दरले तलब वृद्धि भएको छ ।

यस्तै, नियमअनुसार आकर्षण भत्ता पाउने शिक्षकलाईसमेत १० प्रतिशत तलब वृद्धि लागु हुने निर्णय भएको छ । उक्त निर्णयमा श्रेणीविहिन कर्मचारीलाई वृद्धि तलब शतप्रतिशतले हुन आउने रकम १५ गते असारसम्म उपलब्ध गराउने उल्लेख छ भने बाँकी अन्य पदाधिकारी, शिक्षक र कर्मचारीहरूलाई स्रोतको उपलब्धता भएसँगै क्रमिकरुपमा वृद्धि भएको तलब उपलब्ध गराउदै जाने पनि उल्लेख छ ।  

तलब वृद्धिको यो निर्णयप्रति कर्मचारी र चिकित्सक शिक्षकहरूको भने फरक फरक धारणा आएको छ । कर्मचारीहरूले यो निर्णयको स्वागत गरेका छन् भने चिकित्सक, शिक्षकहरू असन्तुष्ट छनत् । कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले तलब वृद्धिको यो निर्णय स्वागतयोग्य भएको बताए । ‘यो निर्णय कर्मचारीहरूको हितमा भएकोले सकरात्मक र स्वागतयोग्य छ । बिषयम परिस्थितिमा पनि उपकुलपतिबाट साहसपुर्ण निर्णय भएको मानेका छौं,’उनले भने ।

यता, चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले भने अन्यायपुर्ण तलवमान वृद्धि भएको भन्दै मंगलबार बिहान उपकुलपति कार्यालयअघि धर्ना दिएको थियो । प्रतिष्ठानको मेरुदण्ड चिकित्सक,शिक्षकहरू भएपनि उनीहरूलाई १० प्रतिशत मात्र तलब वृद्धि गरेर अन्याय भएको समाजको भनाई छ । धर्नासँगै मंगलबार बिहान उपकुलपति डा.गिरीलाई समाजले ज्ञापनपत्र पनि बुझाएको थियो । समाजले निर्णय सच्याउन माग गर्दै २४ घण्टे अल्टिमेटम दिएको समाजका अध्यक्ष डा.विष्णु पोख्रेलले जानकारी दिए । ‘वार्तामा पनि बस्यौं, सकरात्मक कुरा भएको छ,’उनले भने,‘हामीले १० प्रतिशत तलव वृद्धिको निर्णय अन्यायपुर्ण भयो, सच्याउनुपर्छ भनेर २४ घण्टा अल्टिमेटम दिएका छौं ।’

शिक्षक कल्याण समाजले तीन तहमा विभाजन गरेर गरिएको तलवमान वृद्धि सच्याएर २ तहमा मात्र विभाजन गरेर तलव वृद्धि गर्नुपर्ने सुझाव दिएको छ । अध्यक्ष डा.पोख्रेलका अनुसार तलव बृद्धि गरिदा अधिकृतभन्दा मुनि र अधिकृत माथि मात्र विभाजन गरेर तलब वृद्धि गर्दा सबैलाई न्यायोचितरुपमा समेटिने बताए । शिक्षक कल्याण समाजसँगको वार्तामा उपकुलपति डा.गिरी, रेक्टर प्रा.डा.गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह र कार्यकारिणी समिति सदस्य प्रा.डा.पशुपति चौधरी सहभागी थिए । वार्ता सकरात्मक रहेको कार्यकारिणी समिति सदस्य डा.चौधरीले जानकारी दिए । ‘उपकुलपतिबाट मागबारे थप गृहकार्य गर्ने, छलफल गर्ने र निर्णय लिने आश्वासन दिनुभएको छ । वार्ता, छलफल ज्यादै सकरात्मक रहयो । फेरि फ्याकल्टीहरूसँग वार्ता हुन्छ,’डा.चौधरीले भने ।

प्रकाशित: १६ असार २०७७ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App