coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यो वर्ष कति विद्यार्थी दीक्षित हुँदै छन् ?

अगामी पुसमा हुने त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहमा यस वर्ष ५६ हजार ७ सय १३ विद्यार्थीहरु सहभागिता जनाउने भएका छन्। सोमबार त्रिविको ६१ औं वार्षिक दिवसमा पारित भएको ५८ औं ग्रेसलिष्टले ०७६ साल असारदेखि ०७७ जेठसम्म परीक्षा पास भई ट्रान्सक्रिप्ट लिने विद्यार्थीहरुको संख्या निर्धारण गरेको हो।  

गत वर्षको तुलनामा यो वर्ष १३ हजार ३ सय ६४ विद्यार्थी घटेका छन्। गत वर्ष कुल ७० हजार ७७ विद्यार्थी दीक्षित भएका थिए। कोरोना भाइरसका कारण धेरै विद्यार्थीहरु बाहिर रहेकोले जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिन नपाएर विद्यार्थी घटेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। नियन्त्रक जोशीका अनुसार अझै पनि पनिकाले डेढ लाख विद्यार्थीको नतिजा प्रकाशन गर्न बाँकीनै रहेकोले पनि दीक्षित हुनेहरुको संख्या घटेको हो।  

यस वर्ष पास भएको ग्रेसलिष्ट अनुसार ब्यवस्थापन तर्फ विद्यार्थीको आकर्षण बढेको छ। यो वर्ष कुल दीक्षित हुने विद्यार्थी मध्ये ३४ प्रतिशत ब्यवस्थापनकै छन्। गत वर्ष ब्यवस्थापनमा ३२.५ प्रतिशत थिए। सबै भन्दा कम बन विज्ञान तर्फ छन्। यस तर्फ कुल विद्यार्थीमध्ये ०.४ प्रतिशत मात्र रहेका छन्। गत वर्ष पनि बनमा ०.४ नै थिए।

शिक्षा शास्त्र संकायमा यस वर्ष २६.१ प्रतिशत छन् भने गत वर्ष २८.५ प्रतिशत थिए। मानविकी तथा समाजकशास्त्र संकाय तर्फ १७ प्रतिशत विद्यार्थी दीक्षित हुँदै छन्  भने गत वर्ष १९.५ प्रतिशत थिए। यसैगरी कानून संकाय तर्फ भने यस वर्ष अलि बढैको छ। यस वर्ष ३.४ प्रतिशत छन् भने गत वर्ष २.४ प्रतिशत मात्र थिए।  

विज्ञान तथा प्रविधि तर्फ १०.८ प्रतिशत, इन्जिनियरिङ तर्फ ५ प्रतिशत रहेका छन्। यसैगरी चिकित्शा शास्त्र तर्फ २.६ प्रतिशत , कृषि तथा पशु विज्ञान तर्फ ०.७ र बन विज्ञान तर्फ ०.४ प्रतिशत विद्यार्थीहरु दीक्षित हुँदै छन्।  

त्रिवि रजिष्ट्रार प्राडा पेशल दाहालले लकडाउनकै कारण विद्यार्थीहरुले दीक्षान्त समारोहमा भाग लिन नपाएको बताए।  

‘लकडाउनकै कारण त्रिविका धेरै योग्य विद्यार्थीहरु यस वर्ष दीक्षित हुनबाट बन्चित भएका छन्,’ रजिष्ट्रार दाहालले भने‘स्नातक तहको पहिलो र दोस्रो वर्षको डेढ लाख विद्यार्थीको नतिजा प्रकाशन गर्न सकिएको छैन।’ उनले थपे‘यस वर्ष नौ महिना मात्र ५६७१३ विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका छन्।’

साधारण तर्फ घट्दै प्राविधिक तर्फ आकर्षण बढ्दै  

सभाले पास गरेको ग्रेसलिष्ट अनुसार त्रिविमा अध्ययन गर्ने विद्यार्थीको अकर्षण प्राविधिक शिक्षा तर्फ बढेको देखिएको छ।  यस  वर्ष कुल विद्यार्थी मध्ये ८०.५ प्रतिशत विद्यार्थी साधारण धार तर्फ छन् भने प्राविधि तर्फ १९.५ प्रतिशत रहेका छन्। परीक्षा नियन्त्रक जोशीका अनुसार  ०७५ सालमा साधारण तर्फ ८६ प्रतिशत थिए भने ०७६ सालमा ८४ मा झरेका थिए। भने प्राविध तर्फ ०७५ सालमा १४.५ प्रतिशत थिए भने ०७६ सालमा यो प्रतिशत झरेर १६.५९ मा कायम भएको थियो। ‘अवसर राम्रो भएकोले त्रिविमा प्राविधि शिक्षा हासिल गर्ने विद्यार्थीको सख्या बढीरहेको छ,’ नियन्त्रक जोशी भन्छन्‘साधारण तर्फ विगतमा शिक्षामा अत्याधिक विद्यार्थी हुने गरेकोमा विगत तीन वर्ष यता ब्यवस्थापन तर्फ विद्यार्थीहरु बढी रहेका छन्।’

विश्वविद्यालयको उपकुलपति प्राडा धर्मकान्त बाँसकोटाले कोरोना त्रासका कारण त्रिविका सबै भौतिक तथा शैक्षिक सुधारको  गतिविधि अवरोध गरेको बताउँदै उनले तैपनि त्रिविलाई विज्ञान तथा प्रविधि मैत्रि बनाउन लागि परेको जनाए। ‘एनआरइएन र माइक्रोसफ्टसंग समझौता गरी त्रिविको मेन डोमिन बनाई त्रिविका सबै निकाय तथा क्याम्पसहरुको सब डोमिन बनाउने काम अन्तिम चरणमा पुगेको छ,’उपकुलपति बास्कोटाले भने‘करिब ५ लाख शिक्षक, कर्मचारी र विद्यार्थीको इमेल आइडि बनाउने काममा त्रिवि जुटेको छ।’ उन ले थपे‘यसै मार्फत सम्भव भएसम्म सबैलाई समेटी अनलाइन विधि मार्फत कक्षाहरु संचालन सुरुवात गरिएको छ।’

 

प्रकाशित: १६ असार २०७७ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App