२२ असार २०७७ सोमबार
समाज

परिवार सवार जीप दुर्घटना: आमा र छोराको मृत्यु

दुर्घटनाग्रस्त स्कारपियो ।

मुग्लिन–नारायणगढ सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका –२९ स्थित सत्र किलोमा स्करपियो र ग्यास बुलेट एक आपसमा ठोक्किदाँ दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन् । सोमबार साँझ भएको दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ५ की ४८ वर्षिया प्रभा गौतम र २५ वर्षिय अनुज धितालको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

मृत्यु भएकाहरु आमाछोरा हुन् । प्रभाको सोमबार साँझ र अनुजको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) एवम् सूचना अधिकारी सूर्य थापाले जानकारी दिए । मोडमा तीब्र गतिका कारण सवारी दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।  

काठमाडौँबाट हेटौडा जाँदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपियो र विपरित दिशाबाट आउँदै गरेको एन एल ०१ क्यु ५१०६ नम्बरको ग्याँस बुलेट एकआपसमा ठोक्किदाँ दुर्घटना भएको हो । दुर्घटनामा स्करपियो चालक हेटौंडा उपमहानगरपालिका वडा नं ५ का ४८ बर्षिय राजन घिमिरे, सोही ठाउँका ५३ बर्षिय कृष्ण धिताल र २७ वर्षिया बर्षा धिताल घाइते भएका छन् ।  घाइते राजन गैह्र सरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष हुन् ।  

घाइतेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर छ भने दुई जनाको अवस्था सामान्य छ । चालक बाहेक चार जना एकै परिवारका हुन् । घटनापछि बुलेटका चालक फरार छन् । उनको खोजी कार्य भइरहेको चितवन प्रहरीले जानकारी दिए ।

*अध्यावधिक गरिएको। 

प्रकाशित: १६ असार २०७७ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App