१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मनसुन आयो, मल आएन

राष्ट्रिय धान दिवस

करिब चार लाख एक हजार नौ सय ६ हेक्टरमा रोपाइँ हुँदै आएकोमा असार १४ सम्म ६१ हजार नौ सय २० हेक्टरमा रोपाइँ सकिएको छ ।  सिरहा गोलबजार गुरुधाम टोलका किसान शुभनारायण यादव ६ बिघा खेत रोपाइँका लागि तयारी अवस्थामा राखेका छन्। आफ्नो १० बिघामध्ये बाँकी चार बिघामा तरकारी खेती गर्दै आएका उनले यसपालि मल नपाएकाले रोपाइँ सुरु गर्न पाएका छैनन्।  

उनी भन्छन्, ‘पहिले पाएसम्म अनुदानको मल लिन्थें। नपुगे भारतबाट ल्याउँथें। यसपालि अहिलेसम्म अनुदानको मल पाएको छैन। लकडाउन भएकाले भारत गएर ल्याउन पनि सकिएन।’  

प्रदेश–२ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सचिव डा. विमलकुमार निर्मलका अनुसार, लकडाउनका कारण बोर्डर बन्द हुँदा भारतबाट मल किनेर रोपाइँ गर्दै आएका करिब ४० प्रतिशत किसानको रोपाइँ रोकिएको छ। भारतबाट मल ल्याएर रोपाइँ गर्ने कारण यस प्रदेशमा मागको एक चौथाइ हिस्सा मात्र आपूर्ति हुँदा पनि मलको उति साह्रो हाहाकार हुँदैनथ्यो। उनी भन्छन्, ‘अहिले अुनदानको मल पनि छैन, पारिको बाटो पनि बन्द छ। कारण प्रदेशभर रासायनिक मल अभाव चुलिएको छ।’

प्रदेश–२ मा यसपालि जेठ तेस्रो सातादेखि रोपाइँ सुरु भएको छ। प्रदेश–२ भर बर्खे सिजनमा करिब चार लाख एक हजार नौ सय ६ हेक्टरमा रोपाइँ हुँदै आएको मन्त्रालयको तथ्यांक छ। यसपालि असार १४ सम्म ६१ हजार नौ सय २० हेक्टर अर्थात् १५ प्रतिशत रोपाइँ भएको छ।  

‘किसानले समयमै बीउ राखे,’ मन्त्रालयका सचिव डा. निर्मल भन्छन्, ‘मनसुन यही हिसाबले भयो भने रोपाइँ राम्रो हुन्छ।’  यस वर्ष बाँझो जग्गा नराख्ने अभियानस्वरूप पनि रोपाइँ बढाउने मन्त्रालयको दाबी छ। यस प्रदेशमा चैते धान खेती पनि हुने भएकाले भदौसम्म रोपाइँ चल्छ।  

असार १४ सम्म यस प्रदेशको पर्सामा ३० प्रतिशत, बारामा २० प्रतिशत, रौतहटमा २० प्रतिशत, सर्लाहीमा १६ प्रतिशत, महोत्तरीमा १४ प्रतिशत, धनुषामा १० प्रतिशत, सिरहामा ८ प्रतिशत र सप्तरीमा १० प्रतिशत रोपाइँ भएको मन्त्रालयको प्रवक्ता रजनिश मिश्रले बताए।  

अहिलेसम्म ४३ प्रतिशत रोपाइँ भइसक्नुपर्ने थियो। तर मनसुन ढिला गरी आउँदा रोपाइँ सुस्त भएको उनले बताए। नेपालको खेती प्रणाली मनसुनमै आधारित छ। पर्याप्त सिँचाइ सुविधा नहुँदा रोपाइँका लागि मनसुन नै कुर्नुपर्छ। मनसुन सक्रिय नहुँदा रोपाइँ पनि बढ्ने आकलन गरिएको छ।  

तर अन्य वर्षजस्तै यस वर्ष पनि मल अभावले उत्पादनमा असर गर्ने चिन्ता छ। ‘मनसुन सुरु भइसक्दा किसानलाई रोपाइँ चटारो छ, तर यस प्रदेशमा मलको हाहाकार छ,’ सचिव निर्मल भन्छन्, ‘१२ हजार मेट्रिक टन रासायनिक मल आउँदै छ। यो परिमाण मागको हिसाबले अपर्याप्त छ।’  

लकडाउन भए पनि किसानमा बीउ अभाव नभएको मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह मल अभाव यस वर्षको मात्र नभई पुरानो रोग भएको बताउँछन्। उनी भन्छन्, ‘यो समस्या कहिल्यै समाधान हुन सकेन।’  

किसानका लागि मल औषधीसरह हो। सिरहा, गोलबजारका किसान अर्जुन थपलिया ‘अनुदानको मल बिक्री गर्ने दायित्व पाएका कम्पनी र केही व्यापारीले बेइमानी गरिरहेको’ बताउँछन्।

मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ मा मात्र तीन लाख मेट्रिक टन रासायनिक मलको माग छ। ‘धान खेतीका लागि मात्र एक लाख मेट्रिक टन चाहिन्छ,’ सचिव निर्मल भन्छन्, ‘माग लाखमा छ, आउने १२ देखि १५ हजार मेट्रिक टन हो। यति थोरै परिमाणले माग धान्न मुस्किल छ।’  

सरकारले मलमा ६५ रूपैयाँ अनुदान दिएको छ। अनुदानको मल ‘कृषि सामग्री कम्पनी लिमिटेड’ र ‘साल्ट ट्रेडिङ कर्पोरेसन’ले खरिद–बिक्री गर्दै आएका छन्। कृषि सामग्रीले ७० र साल्टले ३० प्रतिशत कोटा पाएका छन्। अनुदानको मल कृषि सहकारी र डिलर सहकारीले मात्रै बिक्री गर्न पाउँछन्।  तर किसानले मल खरिद गर्न नेतालाई गुहार्नुपर्ने वा अतिरिक्त रकम खर्चिनुपर्ने अवस्था भएको सिरहा बरियारपट्टिका किसान बिल्टु यादव बताउँछन्। ‘पहुँचवालाले मात्रै मल पाउने अवस्था छ। सहकारीको निश्चित कोटा हुन्छ, उनीहरूले आफ्ना सदस्यलाई मात्रै बिक्री गर्छन्,’ उनले भने, ‘सदस्य नभएका किसानलाई ठूलो समस्या छ।’

प्रकाशित: १६ असार २०७७ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App