coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना समुदायमा फैलिन सक्ने चेतावनी

लकडाउनको मापदण्ड पालनामा कडाइ गरिने

आइतबार बिहान स्टार अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहट स्थायी घर भएका ती पुरुषमा सोमबार कोरोना पुष्टि भएको हो। उनको स्वाब परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो।  

उनीसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। मृतकलाई श्वास–प्रश्वासमा समस्या भएपछि असार १३ गते रौतहटबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ। तीमध्येमा १५ सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष छन्। थप १ सय २१ जना निको भई विभिन्न अस्पालबाट निको भएका छन्। नेपालमा कोरोना निको हुनेको संख्या ३१ सय ३४ पुगेको छ। तीमध्ये महिला २ सय ६८ र पुरुष २८ सय ६६ जना छन्।  

पछिल्लो चौबिस घण्टामा थप ७ हजार ७ सय ९१ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण भएको थियो। हाल क्वारेन्टिनमा ५७ हजार ३ सय ६७ जना र १० हजार ८५ जना आइसोलेसनमा छन्।  

सोमबार सबैभन्दा बढी संक्रमित हुने जिल्लामा बाजुरामा ६६ जना, दाङमा ५८, कैलालीमा ५८, अर्घाखाँचीमा ३८, गुल्मीमा २०, पाल्पा र वाग्लुङमा १४, पर्वतमा १३ जना छन्। काठमाडौं उपत्यकामा सोमबार थप ८ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेहरूमा काठमाडौका ६ जना, ललितपुरका १ जना र भक्तपुरमा १ जना छन्। पछिल्लो समय काठमाडौं उपत्यकाको घनावस्ती भएका ठाउँहरूमा कोरोना पुष्टि भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकावासीलाई सचेत हुन आग्रह गरेका छन्।

काठमाडौं उपत्यकामा पछिल्लो समयमा पुष्टि भएका संक्रमितहरूको जोखिम ठाउँमा गएको र विदेशवाट आएको, कसैलाई भेटेको हिस्ट्री नभएका दुई÷चारवटा केस भेटिएकाले समुदायमा फैलिनसक्ने जोखिम रहेको प्रवक्ता गौतमले बताए। तर उल्लेख्य संख्यामा नभेटिएसम्म समुदायमा फैलिएको भन्न नमिल्ने उनले बताए।

काठमाडांैको घनावस्तीमा कोरोना संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।  

टाउकोमा चोट लागी उपचारको लागि पाटन अस्पताल पु¥याइएका ललिपतुरका अढाई वर्षीय बालकको ट्राभल हिस्ट्री नभएको पाइएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। उनको ट्राभल हिस्ट्री नभएको र काठमाडौंमा भेटिएका अन्य केही संक्रमित पनि उपत्यका बाहिरबाट नआएको अवस्था रहेको पाइएको छ।  

काठमाडौ उपत्यकामा कोरोना संक्रमण समुदाय स्तरमा पुगेको हुन सक्ने महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले संकेत गरेका छन्। समुदायमै फैलिसकेको÷नसकेको भन्नेबारेमा भने अध्ययन नभइसकेको महाशाखाको सर्भिलेन्स शाखा प्रमुख महेन्द्रध्वज अधिकारीले बताए।  

लकडाउनको मापदण्ड पालनामा कडाइ गरिने  

सरकारले हाल अपनाउँदै आएको लकडाउनको प्रावधान साउन ७ गतेसम्म कायम राख्ने निर्णय गरेको छ।  

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले काठमाडौंमा संक्रमण बढ्दै गएको र लकडाउन मापदण्ड लागू नभएको भन्दै मापदण्ड कडाइका साथ लागू गर्ने निर्णय पनि गरेको छ।  

सोमबार बसेको सिसिएमसी बैठकले सरकारलाई सोही अनुसारको सिफारिस गरेको थियो। सिसिएमसीका सचिव महेन्द्र गुरागाईंका अनुसार भाषा तथा अन्य परीक्षा तथा उद्योग सञ्चालन गर्दा कर्मचारीले र सामान खरिदका क्रममा उपभोक्ताले पालना गर्नुपर्ने मापदण्ड पालन नभएकाले सरकारले यसलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको हो।

उनले क्वारेन्टिनमा विभिन्न संघसंस्थाले स्वास्थ्य सामग्री उपहार स्वरूप दिनका लागि क्वारेन्टिमा जाने र त्यसले संक्रमण हुनसक्ने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नै ती सामग्री दिएर मन्त्रालयमार्फत पठाउन सकिने व्यवस्था गरिएको उनले जानकारी गराए। आफैं क्वारेन्टिनमा जानुपरेमा मन्त्रालयबाट अनुमति लिएर मात्र जान सकिने निर्णय गरेको सिसिएमसीले जनाएको छ।  

त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जाने व्यक्तिहरूको जाँच गर्नका लागि प्रस्थान गर्ने ठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने, विमानस्थलमा काम गर्ने लोडरलगायत चेकजाँचमा खटिने कर्मचारीका लागि स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने निर्णय पनि सिसिएमसीले गरेको छ।  

हवाई वा स्थलमार्गबाट उपत्यका भित्रने व्यक्तिले घरमै क्वारेन्टिन बस्न चाहेमा र स्थानीय निकाय र प्रहरीको सिफारिस भएमा होम क्वारेन्टिनमा बस्ने अनुमति दिनसक्ने व्यवस्था भएको हुमागाईंले जानकारी गराएका छन्।

प्रकाशित: १६ असार २०७७ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App