२३ असार २०७७ मंगलबार
समाज

हिलाम्मे सडकमा व्यांग्यात्मक रोपाई

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थानीयले हिलाम्मे सडकमा रोपाई गरेका छन् । मुलुकभर धान दिवस मनाइरहेकाबेला संगमटोलका स्थानीयले सोमबार अस्पताल–दोर्पा दुम्ली सडक खण्डको थर्पुचोकदेखि बानियाँचोकबीचको हिलाम्मे सडकमा रोपाई गरेका हुन् । हिलाम्मे सडकको स्तरोन्नतीमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान नपुगेकाले व्यांग्यात्मकरुपमा सडकमै धान रोपेको स्थानीय सुमन आचार्यले बताए ।  

असन्तुष्ट स्थानीयले भगत आचार्य, किशोर आचार्य, सन्तोष आचार्य, बाबुराम आचार्य लगायतको घर अगाडिको हिलाम्मे सडकमा धान रोपेर बिरोध जनाएका हुन्् । वर्षाकाबेला सडक हिलाम्मे हुँदा पैदल आवत–जावतमा समेत सकस हुँदा समेत स्थानीय सरकारले बेवास्ता गरेको आचार्यले बताए ।  

साविकको गोरेटो बाटोलाई सडक बनाइए पनि स्तरोन्नती नहुँदा सडकको पेटीबाट हिँड्नुपर्ने वाध्यता रहेको उनीहरुको भनाई छ । ‘पहिलाको ग्राभेल पुरिएको छ । बिरामी लिएर हिँड्न सबैभन्दा गा¥हो छ,’ आचार्यले भने, ‘टुक्रे ढलान गर्ने भनिए पनि त्यहाँ ढलान नगरी अन्यत्रै ढलान गरिए । यस्तो ठाउँमा स्थानीय सरकारले ध्यान दिन पर्‍यो भन्ने स्थानीयको माग हो ।’ धान दिवसका दिन सडकमै धान रोप्दा कतिपयले भने उनीहरुको आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमा पक्ष र विपक्षमा समेत टिकाटिप्पणी भइरहेको छ । 

प्रकाशित: १५ असार २०७७ २१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App