coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुस्मितालाई ससुरा, नन्दले मारेको प्रहरीको दाबी

हेटौंडा उपमहानगरपालिका–४, कर्राकी २४ वर्षीया सुस्मिता क्षेत्री थापाको हत्याको आरोपमा प्रहरीले सोमबार चार जनालाई सार्वजनिक गरेको छ । हत्यामा संलग्न भएको आरोपमा मृतक सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासु तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया जेठी नन्द दुर्गा थापालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

सुस्मितामाथि आर्थिक, मानसिक र यौनजन्य हिंसा पछि सुनियोजित रुपमा परिवारबाटै हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते शंकास्पद मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले सुस्मिताको हत्या आरोपमा मृतकका ससुरा र नन्दलाई असार ४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान थालेको थियो । प्रहरीले १३ दिनको अनुसन्धानबाट हत्याराहरुको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताए ।

‘उनको हत्या असार १ गते राति १० बजेको समयमा नै भएको अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेको अवस्थामा एक्कासी ससुराले पछाडीबाट काठले सुस्मितालाई हानेको देखिन्छ ।’

ससुराले काठले हानेपछि नन्दले लोहोरोले हानेर हत्या गरेको र अभियोगबाट बच्न आत्महत्या देखाउँने प्रयास गरेको उनले बताए । २०७६ बैशाख १८ गते विवाह भएको सुस्मिताको श्रीमान् रुपेन्द्रको ९ महिना अघि ससुराली कपिलवस्तुबाट एक्लै फर्कने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घटनामा निधन भएको थियो ।

‘श्रीमानको मृत्यु पश्चात् दिनहुँजसो सुस्मितालाई परिवारका सदस्यहरुबाटै यातना दिने गरेको अनुसन्धानमा पाईयो,’ प्रहरी उपरीक्षक राठौरले भने, ‘सुसराले बुहारी सुस्मितालाई बाथरुममा जबरजस्ती करणी उद्योग(बलात्कार प्रयास)समेत गरेको देखिएको छ ।’ करणी प्रयास बाहिर आउँदा सामाजिक प्रतिष्ठामा आँच आउने र छोराको निधन पश्चात् प्राप्त हुने रकमको विषयलाई लिएर सुस्मितालाई मारेको देखिएको उनको भनाई छ ।

रुपेन्द्रको सवारी दुर्घटना बिमाको पाँच लाख रुपैंया सुस्मिताले पाएकोमा घर पक्षले आफुहरुले पाउनुपर्ने भन्दै विवाद सृजना गरेका थिए । त्यस्तै, रुपेन्द्र कार्यरत क्लोजर सिस्टम इन्टरनेश्नल नेपभल प्रालि हेटौंडाबाट मृत्यु पश्चात पाउने बिमा, बोनस, तलब, भत्तागरी ३८ लाख २८ हजार आमा, बाबु, बुहारीबिच विवादका कारण भुक्तानी नभएको पाईएको प्रहरीको अनुसन्धानले खोलेको छ ।

मृतक रुपेन्द्रको मृत्यु पश्चात् दुर्घटना, बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा कलहको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । बिमाको रकम दश लाख ६३ हजार रुपैयाँ भने ससुराले झिकिसकेको र सामाजिक सुरक्षा कोषबाट एक लाख ७७ हजार रुपैयाँ भने सुस्मिताको खातामा जम्मा भएको प्रहरीले जनाएको छ । उक्त सबै रकम ससुरालाई झिकेर दिन घरपरिवारले बारम्बार दबाब दिने गरेको अनुसन्धानले पत्ता लगाएको बताईएको छ ।

प्रकाशित: १५ असार २०७७ १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App