coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रौतहटका दुई नगरपालिका सिल

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले दुई नगरपालिकालाई सिल गरेको छ। रौतहटको इशनाथ र बौद्धिमाई नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखा परेपछि दुवै नगरपालिकालाई आइतबारदेखि नै सिल गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले दुवै नगरपालिकाबाट कोही पनि बाहिर जान नपाउने तथा नगरपालिकामा भित्र पस्न नपाउने गरी सिल गरिनुका साथै दुवै नगरपालिकामा पूर्ण रुपमा लकडाउन पनि घोषणा गरेको छ। बौद्धिमाई नगरपालिकाका केही कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएकोले नपाका अत्यावश्यकीय आन्तरिक कार्यबाहेक सम्पूर्ण सेवाहरु बन्द गरिएका छन्। बौद्धिमाई नपाको वडा नं. ७ र ८ का सम्पूर्ण कार्यालयहरु पनि बन्द गरिएका छन्। दुई वटा वडामा लकडाउनलाई थप कडाइ गरिएको जिप्रकाले जनाएको छ।

निर्वाचित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी तथा केही सर्वसाधारणमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। समुदायस्तरमा कोरोना संक्रमण पुष्टि भएपछि सबैतिरबाट चिन्ता व्यक्त गरिन थालिएको अवस्थामा दुई पालिकालाई सिल गरिएको हो। ईशनाथ नपामा क्वारेन्टिन बाहिर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ईशनाथ नपामा पनि क्वारेन्टिन बाहिर केही मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि नियन्त्रण गर्ने उदेश्यले दुई नगरपालिकालाई सिल गरिनुका साथै आवतजावतमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन्।

प्रकाशित: १५ असार २०७७ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App