coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सलह नियन्त्रण गर्न प्रदेशद्वारा संघसँग समन्वय

सलह जातको फट्यांग्रा भारत हुँदै बारा र सर्लाही जिल्लामा प्रवेश गरेसँगै प्रदेश २ सरकारले नियन्त्रणका लागि प्रयास अघि बढाएको छ। प्रदेश सरकार संघीय सरकारसँग समन्वय गरेर सलह नियन्त्रण कार्य अघि बढाएको हो।

प्रदेश २ को बारा र सर्लाही हुँदै सलह भित्रिएको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्री शैलेन्द्र साहले बताए। ‘प्रदेशभित्र सलह भित्रिएको जानकारी पाएलगत्तै नियन्त्रण तथा अनुसन्धानका लागि विज्ञ टोली परिचालन गरेको छुँ। बारा र सर्लाहीमा सलह भेटिएको छ । विज्ञ टोलीले दिएको जानकारी उद्धृत गर्दै उनले भने, ‘झुन्ड पातलै देखिएको छ, नियन्त्रणका लागि औषधि छर्न भनेका छौं।’  

‘नियन्त्रणका लागि हामी सक्षम छैनौं,’ उनले भने, ‘संघीय सरकारको कृषि मन्त्रालयसँग समन्वय भइरहेको छ। हामीसँग प्रयोगशाला छ तर उपकरण छैन, न त जनशक्ति न उपकरण नै। संघीय सरकार गुहार्नुको विकल्प छैन।’ मन्त्री साहले संघीय सरकारसँग कुरा राखे पनि संघले कुनै चासो नदेखाएको उनले आरोप लगाए।

अफ्रिकी मुलुकबाट सुरु भएको यो सलह किरा अरब देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो। करोडौंको संख्यामा हुने यस किराको झुन्ड एकै दिनमा १ सय ५० किलोमिटरभन्दा बढी टाढासम्म पुग्न सक्छ।

अघिल्लो महिना नै भारतमा सलह प्रकोप देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा सलहको जोखिमबारे अध्ययन गरेको थियो। प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंको संयोजकत्वमा गठित समितिले जेठ २३ गते मन्त्रालयलाई नेपालमा सलह भित्रिन नसक्ने प्रतिवेदन बुझाएको थियो।

यसअघि पनि भारतको राजस्थानसम्म जुलाईमा पटकपटक सलहका नयाँ झुन्ड आइरहने गरेको र अहिले आएको सलहको ठूलो झुन्ड पनि राजस्थान आइपुगेपछि तितर–बितर भएको प्रतिवेदनमा उल्लेख छ। सलहका स–साना झुन्डले भारतको बिहार र उडिसासम्म आक्रमण हुनसक्ने अनुमान गरिए पनि सरकारी प्रतिवेदनमा सलह नेपाल छिर्ने परिकल्पना गरिएको थिएन।

सलहको ठुलो बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको वेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्तै न्यून रहेको समितिको निष्कर्ष थियो।

बारामा पनि देखियो सलह

अन्नबालीलाई छिन भरमै सखाप पार्ने सलह किरा बाराका विभिन्न स्थानमा पनि देखा परेको छ। शनिबार बिहानै सिमरा, डुबरवाना र निजगढमा सलह किरा देखा परेपछि किसान चिन्तित बनेका छन्।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जितपुरसिमरा उप–महानगरपालिकाको सिमरा र डुबरवाना र निजगढमा सलह देखा परेको बताएका छन्। सहल भित्रिएको सुचना पाएपछि त्यसबारे बुझ्न ती स्थानमा पुग्दा सलह किरा नै भएको र यसबाट बालीनाली र बोटबिरुवालाई सुरक्षित राख्न उपायहरू निकाल्नतिर लागिएको यादवले बताए।

अहिले थोरै संख्यामा भए पनि पछि संख्या बढ्दा धेरै क्षति गर्ने डरसमेत रहेको उनले बताए। किराले किसानको खेतमा रहेको धान, मकै, उखुलगायत अन्नबाली, तरकारी, केरा, मेवालगायत बोटबिरुवामा अन्य देशमा धेरै नै क्षति गरेको हुँदा यसलाई समयमै नियन्त्रण गर्दा राहत मिल्ने उनको भनाइ छ।

प्रकाशित: १४ असार २०७७ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App