coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अस्पताल मार्गमा नाला बिनाको सडक बनाइदै

दोलखाको सदरमुकाम चरिकोट स्थित पशुपतिडाँडाबाट सरकारी अस्पताल जाने सडकमा नाला नबनाई केही दिन अघि बिच्छयाईएको सवबेस (कालोपत्रे गर्नुअघि बालुवा र रोडाको मिश्रण) । तस्बिर : रमेश/नागरिक

सरकारले भवन बिभाग मार्फत बिस्तार गरेर कालोपत्रे गराउने तयारी थालेको सदरमुकामको मुख्य चरिकोट अस्पताल जाने सडकमा कार्यरत निर्माण व्यवसायी कम्पनीले नाला बिनै सडक बनाउन थालेको छ । सडक हिलाम्मे र खाल्डाखुल्डी भएका कारण अस्पताल हिडेका बिरामी बटुवा र सवारीले भोगिरहेको सास्ती बारे चार दिन अघि नागरिकन्युजले समाचार प्रकाशन गरेपछि रातारात हिलो पन्छाएर कालोपत्रेका लागी बेस बिच्छ्याउन थालेको ठेकेदार कम्पनीले नाला बिनै सडक बनाइरहेको हो ।

तिन दिनमा ठेकेदार कम्पनीले पशुपतिडाँडा देखी चरिकोट अस्पतालको गेट भन्दा तल्लो भाग सम्म बेस बिच्छ्याएर सडक सुधार गरेको छ । तर टुडिखेल गौडा देखी टेलिकम कार्यालय, कभर्डहल उद्योग बाणिज्य संघ हुँदै नापी कार्यालयको मुख सम्म नाला बिनै बेस बिच्छ्याईएको एक स्थानीयले बताए । ‘हिजो अस्ती हिलाम्मे भएका कारण साह्रै दुख भोगेका थियौ,’ उनले नागरिकन्युजसंग भने, ‘अहिले रातारात बेस त बिच्छ्याईएको छ तर गौडा देखी नापी अफिस अगाडी सम्म नाला नै छैन ।’ उनले नाला नभएका कारण वर्षातमा हिलाम्मे हुने समस्या फेरी ब्यहोर्नुपर्ने हुन सक्ने भन्दै चिन्ता गरे ।

भवन बिभागको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय मन्थली मार्फत चलिरहेको यो सडक बिस्तारको ठेक्का कोशी एण्ड न्यौपाने तथा खम्पाचे निर्माण सेवाले साझेदारीमा लिएर काम गरिरहेको छ । चरिकोटको मुटुमा रहेको अस्पताल जाने यो सडकको काम भएको लापरवाही बारे यस अघि भीमेश्वर नगरपालिकाको नगर कार्यपालिका बैठकमा समेत प्रश्न उठेको थियो । भीमेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष नविन लामाले निर्माण कम्पनीको काम गराई प्रति असन्तोष व्यक्त गरे । ‘नगरबासीको हिसाबले हेर्दा काम गराईको तौरतरिका सन्तोषजनक पाएका छैनौं,’ उनले भने, ‘भोली नै निर्माण व्यवसायीलाई नगरपालिकामा बोलाएर छलफल गर्छौ ।’ यो सडक चरिकोट अस्पताल हुँदै भीमेश्वर नगरपालिकाको कार्यालयमा समेत पुग्छ ।

यो सडक हेर्ने भवन निर्माण आयोजना मन्थली कार्यालयका ईन्जिनियर टंक गौतमले नगरपालिका कार्यालयको टुडिखेल बिस्तार गर्ने योजना रहेकाले उक्त काम गर्दा टुडिखेलकै मुनी हुदै जाने सडकको नालालाई असर गर्ने कारण तत्कालका लागी नाला नबनाईएको सुनाए । टुडिखेल बिस्तार गर्दा नालालाई असर गर्ने तर सडकको कालोपत्रेलाई चाही असर नगर्ने भन्ने हुन्छ र भन्ने प्रश्नमा पाण्डेले छिट्टै नगरपालिका संग समन्वय गरेर बेस बिच्छ्याएपछि नाला बनाउन लगाईने बताए । पाण्डेले पशुपतिडाँडा देखी चरिकोट अस्पताल सम्म ४ सयक मिटर कालोपत्रे गरिने बताए ।

भवन बिभागको उक्त कार्यालय मार्फत दोलखामा ४ ओटा योजना चलिरहेका छन्। कोशी एण्ड न्यौपाने तथा खम्पाचे निर्माण सेवाले यो सडक सहित पाखाटोल र भ्युटावर सडक बिस्तारको काम गरिरहेको छ । यस्तै सोही कार्यालय मार्फत रितबहादुर प्रतिष्ठानले निर्माण गरिरहेको शहिद पार्कमा कम्पाउण्ड लाग्ने काम, जिलु भटमासे सडकमा ढलानको काम चलिरहेको छ भने बजेट अभावमा अलपत्र परेको पुरानो सिटि हल समेत यही कार्यालयले हेर्दै आएको छ ।

प्रकाशित: १३ असार २०७७ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App