१६ चैत्र २०८० शुक्रबार
समाज

‘सिल’ गर्ने भन्दै कोरोना संक्रमितका परिवारलाई घर भित्र थुनेर वडाध्यक्षले ताल्चा लगाए

सर्लाहीको बरहथवा नगरपालिकामा एक कोरोना संक्रमितका परिवारले आफूहरूलाई घरभित्रै थुनेर वडाध्यक्षले मुल गेटमा ताल्चा लगाईदिएको गुनासो गरेका छन् । बरहथवा नगरपालिका–५ निवासी शत्रुधन साहले आफूहरू घरभित्र बसेको बेला वडाध्यक्ष संजय गुप्ताले घरबाट बाहिर निस्कने गेटको सटर झारेर ताल्चा लगाइदिएको गुनासो गरे । 

‘म घरभित्र खाना खान छिरेको मौका पारेर गाउँका केही केटाहरूलाई साथमा लिएर डेढ घण्टा अघि वडाध्यक्षले मूलगेटमा ताल्चा लगाइदिनु भयो’, साहले शुक्रबार दिउँसो नागरिकसँग टेलिफोनमा गुनासो गरे, ‘नगरपालिकाकाका डाक्टर साबहरूसँग सल्लाह गरेरै मैले छोरालाई यत्रो दिनदेखि घरमा सुरक्षित राखेको थिएँ, तर आज एक्कासी किन ताला लगाईयो बुझ्न सकिन, अहिले म लगायत परिवारका ६ जना सदस्य घरभित्रै थुनिएका छौं ।’

साहका अनुसार उनका छोरा भारतको दिल्लीबाट जेठ ३१ गते घर आएका थिए । सर्पदंश उपचार केन्द्रमा बनाइएको क्वारेन्टिनमा बसेका उनको असार ४ गते स्वाब निकालेर परीक्षणका लागि काठमाडौं पठाईएको थियो । ‘५ दिन क्वारेन्टिनमा बसेपछि छैठौं दिनमा छोराको स्वाब परीक्षणका लागि निकालेर पठाईयो’, साहले भने, ‘अनि मैले नगरपालिकाका डाक्टरसाबहरूसँग बरु घरमै सुरक्षित राख्छु, दुईवटा घर छ, शाैचालय पनि छुट्टै छ भन्ने जानकारी गराएर होम क्वारेन्टिनमा राखेको थिएँ, केही दिनपछि छोराको रिपोर्ट पोजेटिभ आयो र उ सुरक्षित रुपमा घरमा एक्लै बसिरहेको थियो ।’ 

नगरपालिकाको क्वारेन्टिनमा धेरैजना भएकाले असुरक्षित हुने ठानेर आफूले छोरालाई घरमै ल्याएको साहले प्रश्ट्याए । वडाध्यक्ष गुप्तासँग आफ्नो पहिलादेखि विवाद रहँदै आएकाले अहिले आएर एक्कासी घरमा ताल्चा लगाईएको साहको आरोप छ । साह र वडाध्यक्ष गुप्ता छिमेकी पनि हुन् ।

यता वडाध्यक्ष संजय गुप्ता भने गाउँलेहरूले दबाब दिएपछि घरमा ताल्चा लगाईदिएको बताउँछन् । ‘गाउँका सय दुईसय जनाको भिडले घर नै तोडफोड गर्ने तथा गाउँमा बाटो नै अवरोध गर्न थालेपछि घर सिल गर्न ताल्चा लगाईएको हो’, वडाध्यक्ष गुप्ताले शुक्रबार दिउँसो नागरिकसँग भने, ‘हिजोबाट गाउँलेहरूले मलाई निकै दबाब दिए अनि बाध्य भएर आज घर सिल गरियो र अहिले बाटो पनि खुलेको छ, अब मेयर साबहरू लगायतसँग छलफल गरेर साँझसम्म एउटा निचोड निकाल्छु ।’ 

स्वयं साहका भाई सुरेन्द्र साहले नै ताल्चा किनेर दिएको र गाउँका युवाहरूले तालाबन्दी गरिदिएको वडाध्यक्ष गुप्ताको दाबी छ  । आफूले ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक लगायत सुरक्षा निकायलाई समेत जानकारी गराएर तालाबन्दी गरेको उनले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाका प्रमुख जनस्वास्थ्य अधिकृत सत्यनारायण यादव भने नेपाल सरकारको मापदण्ड अनुसार सुरक्षित होम आईसोलेसनमा बसेको भन्ने आफूले जानकारी पाएको बताउँछन् । ‘६ दिन नगरपालिकाको क्वारेन्टिनमा बसेपछि स्वाब कलेक्सन गराएर धेरै भिड देखेका कारण युवकको अभिभावकले बरु घरमै सुरक्षित रुपले उसलाई एक्लै राख्ने प्रतिबद्धता सहित लगेका हुन्’, यादवले भने, ‘४ गतेदेखि आफ्नो घरमा बसिरहेको अवस्थामा उतिबेलै सचेत नगराएर अन्तिम समयमा यस्तो कार्य गर्दा बिरामी सहित उक्त परिवारमा मानसिक दबाब सृजना हुन सक्छ, त्यसैले यस्ता कार्यहरूमा सबैले सचेत हुनु जरुरी छ ।’

यता बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोलाई यसबारे बुझ्न सम्पर्क गर्दा दुईवटै मोबाईल स्वीच अफ रहेकाले कुरा हुन सकेन । प्रमुख जिल्ला अधिकारी मोहन जिसीले घटनाबार आफूलाई विस्तृतमा थाहा नभएको जानकारी दिए ।

प्रकाशित: १२ असार २०७७ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App