८ वैशाख २०८१ शनिबार
समाज

४१ जना बालिका र किशोरीको उद्दार

मानव वेचविखनका घटना बढ्दै

२०७२ मंसिर २२ गते रोजगारीका लागि भन्दैं बालबालिका सहितलाई भारत लाने समूहका दुई जनालाई सुनसरी प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा मुद्धा चलायो।   भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल प्रहरीलाई जिम्मा लगाएका १६ जनालाई अनुसन्धान गर्दा बालबालिकालाई झुक्याएर भारत लगेको खुलेपछि मुद्धा चलाएको थियो। प्रहरीले त्यतिबेला दोलखा श्याम वडा नं.९ का मिनबहादुर बस्नेत र सोही ठाउँका कृष्णकुमार कार्कीलाई मुद्धा चलाएको थियो।  

दोलखा, उदयपुर र सप्तरीबाट भारत जाने ठूलो समूहलाई भेला पारेर ट्रयाक्टरमा चढाएर भारत भीमनगर लाने क्रममा पक्राउ परि मुद्दा चलाएको थियो।  रोजगारीका लागि भन्दैं भारत गएका ५२ जना नेपालीमध्ये भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बिरपुरबाट नियन्त्रणमा लिएर ३६ जनालाई छाडेको थियो। १६ जनालाई भने एसएसबीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो।  

अघिल्लो साउनमा आर्थिक प्रलोभन देखाएर युवतीलाई ग्राहकसँग बसाएर यौनधन्दा गरेको आरोपमा इनरुवा वडा नं. ३ की कञ्चन साहलाईं मानव बेचबिखन तथा ओसारपसार मुद्धामा पुर्पक्षका लागि जेल चलान भइन्। उनले एक युवतीलाईं इनरुवा वडा नं. ४ कै विनोदकुमार पण्डितसँग पैसा लिएर शारीरिक सम्पर्क गर्न लगाएको उजुरी असार २२ गते परेको थियो। कञ्चनलाईं मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ८ एवम् मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका राख्ने अदालतले आदेश दिइयो।  

केही समयअघि १७ वर्षे कार्की थरकी बालिकालाई सुनसरी कोशी गाउँपालिकाको भण्टाबारी नाकाबाट भारत लाने क्रममा प्रहरीकै सक्रियतामा उद्दार गरि आफन्तको जिम्मा लगाइयो। पूर्वी पहाड तेह्रथुम शुक्रबारे घर भएकी बालिकाको घरको आर्थिक अवस्था कमजोर भएकाले गर्दा कक्षा १० को पढाई पूरा गरेर मोरङ बासबारी आफन्तकोमा झरेकी थिइन्। आफन्त दिदीले मजदुरी गर्ने भएकाले गर्दा बालिका पनि दिदीसँगै काम गर्न थालिन्।  

काम गर्दा एक जना भारतीय युवासँग घनिष्ट सम्बन्ध भयो। घनिस्ट सम्बन्ध भएकाले गर्दा ती युवकसँग माया–प्रेम पनि बस्यो। ती युवा थिए, भारत घर भएका सदाम हुसेन थिए। ती युवा र बालिका विवाह गर्न राजी भए। बालिकाले आफ्नो परिवारका सदस्य कसैलाई सूचना दिइनन, तर आफन्त जुन दिदीको घरमा बसेकी थिइन, त्यहाँ दिदीलाई भने सूचना दिइन्। दिदीले प्रहरीलाई बालिकालाई राख्न आग्रह गरिन्। भण्टाबारीबाट उनलाई उद्दार गरि आफन्तकै जिम्मा दिइएको थियो।  

श्रृखलाबद्द रुपमा घटना हुने क्रममै नेपाली थरकी १७ वर्षे बालिकालाई पनि गत मंसिरमा भण्टाबारी क्षेत्रबाटै उद्दार गरि आफन्तको जिम्मा दिइएको थियो। गुल्मी तामघास ग्रामीण नगरपालिका वडा नं. १ घर भएकी  बालिका घरकी जेठी छोरी हुन्। घरको आर्थिक अवस्था कमजोर भएकैले गर्दा उनको कक्षा १० को बीचमै पढाईमा पूर्णबिराम लाग्यो।

आर्थिक अवस्थाकै कारणले गर्दा निर्माण क्षेत्रमा काम गर्न थालिन्। काम गर्दा भारतबाट आएका सिवास पासवानसँग अलिक नजिक भइन्। दिनहुँ भेटघाट हुँदा दुवै जनाबीच सम्बन्ध नजिकियो। विस्तारै दुवै जना एकअर्काले माया गर्छन र विवाह गर्न नै राजी हुन्छन्। छ महिनाको प्रेम सम्बन्धपछि दुवै जना गुल्मीबाट भागे। दुवै जना भागेर आउँदा सुनसरीकै कोशी गाउँपालिका भण्टाबारीमा सोधपुछ गरियो। अभिभावकको स्वीकृत विना नै बालिका भागेको पत्ता लगाएपछि परिवारलाई खबर गरि जिम्मा लगाइयो।  

यता, मोरङ कानेपोखरीकी १९ वर्षे किशोरीलाईं पनि सोही स्थान बस्ने महिलाले भारतमा काम लगाई दिन्छु भन्दै बेचबिखनका लागि लैजादै गर्दा पक्राउ परिन। रोजगारीको प्रलोभन दिई भारतमा बेचबिखनका लागि लैजादै गर्दा सशस्त्र प्रहरी र भारतीय एसएसबीको सहयोगमा भाण्टावारीबाट उद्दार गरी आफन्तको जिम्मा लगाएको प्रहरीको रेकर्डमा छ।

मानव तस्करीबिरुद्द समुदायलाई सचेत गराउने मुख्य उद्देश्य राखेर सुनसरी कोशी गाउँपालिकको भण्टाबारीमा सूचना बुथ राखिएको छ। यो सूचना बुथमा गाउँपालिकाका कर्मचारी, साझा सवालका लागि साझा मञ्च कोकन र प्रहरीको टोली बस्ने गर्छ।  

सुनसरी कोशी गाउँपालिका वडा नं. ८ भाण्टावारी नाकाबाट मात्र बेचबिखनका लागि लैजादै गर्दा दुई वर्षयता ४१ जनालाई जनाको उद्दार गरिएको साझा सवालका लागि साझा मञ्च कोकन सुनसरीको तथ्याङ्कमा उल्लेख छ।  

कोकनका कार्यक्रम संयोजक हेमन्त पौडेलका अनुसार सूचना दुई वर्षयता बुथमार्फत मोरङ, सुनसरी, सप्तरी, सिरहा, नुवाकोट, उदयपुर, खोटाङ्, गुल्मी, इलाम, दाङलगायतका जिल्लाका बालिका र किशोरीलाई उद्दार गरेर आफन्तको जिम्मा लगाइएको हो।  यो अवधिमा एक हजार सात सय ६५ जनालाई सचेतता गरिएको छ।

विभिन्न प्रलोभनमा दिई भारतमा बेचबिखन गर्ने उद्देश्यले लैजादै गर्दा १२ वर्षीया बालिकादेखि १९ वर्ष सम्मका किशोरीलाईं उद्दार गरिएको कोकनका कार्यक्रम संयोजक हेमन्त पौडेलले जानकारी दिए। उद्दार गरिएका लाई अभिभावकको जिम्मा लगाइएको छ भने तीनवटा मुद्दा चलाइएको छ। भारततर्फ तस्करीका लागि लाने जिल्लाको मुख्य रुट भने भण्टाबारी बन्न पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।  

मानव तस्करी नेपालको ठूलो सामाजिक समस्या हो। मानव तस्करी यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यकाका लागि हुने मानिसको अवैध व्यापार हो। यो एक सामाजिक अपराध हो।

विभिन्न प्रलोभन दिएर आकर्षक तलबको लोभ देखाइ विदेशमा लगेर फसाउने वा बेचबिखन गर्ने कामलाई मानव तस्करी भनिन्छ। जसमा महिला तथा पुरुष बेचबिखन पर्दछ। विभिन्न एजेन्टद्वारा फसाई भारतका तथा अन्य देशका कोठीमा बेचिनु मानव तस्करीको उच्चतम रुप हो।  

जिल्ला प्रहरी कार्यालय सुनसरीले २०७६ साउनदेखि अहिले २०७७ जेठ मसान्तसम्म आठवटा मुद्दा मानव वेचविखन तथा ओसारपसारबिरुद्द चलाएको  छ। यसमा संलग्न २२ जनालाई पक्राउ गरि मुद्दा चलाएको सई बिनु बस्नेतले बताइन्।

प्रकाशित: १२ असार २०७७ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App