५ वैशाख २०८१ बुधबार
समाज

घरमै राखिएको बम विष्फोट हुँदा एक जना घाइते

देउमाई नगरपालिकामा घरमा लुकाइ राखिएको बम विष्फोट हुँदा एकजना घाइते भएका छन् । देउमाई नगरपालिका–४, डाँडागाउँका २५ वर्षे मौसम श्रेष्ठ आफ्नै घरमा राखिएको बम अनौठो मान्दै हातले समात्दा घाइते भएका हुन् ।  

बमले श्रेष्ठका दुवै हातका सबै औंलामा चोट पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको छ । चिकित्सकले घाइतेको दाहिने हात नै काटेर फाल्नुपर्ने र देब्रे हातका पनि कुनै औंला काम नलाग्ने अवस्थामा रहेको जनाएको डिएसपी लालध्वज सुवेदीले बताए । घटनास्थलमा फलाम र कालो रबरका टुक्रा यत्रतत्र भेटिएका छन् ।  

सशस्त्र द्वन्द्वका समयमा घरनजिकै विद्रोही–सुरक्षाकर्मी भिडन्त हुँदा बम भेटेर घरमा ल्याएर राखेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘तर, बम कसरी त्यहाँ भेटियो भन्ने गम्भीर अनुसन्धान गर्दैछौं,’ सुवेदीले भने, ‘घटना निकै शंकास्पद छ ।’  घाइते श्रेष्ठ काठमाडौंमा ज्याला मजदुरी गरिरहेको र लकडाउनका बेला घर आएको परिवारजनले प्रहरीलाई बताएका छन् । ‘तर, घटना र व्यक्तिको पृष्ठभूमिबारे अनुसन्धान हुँदैछ,’ डिएसी सुवेदीले भने ।  

प्रकाशित: १२ असार २०७७ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App