८ वैशाख २०८१ शनिबार
समाज

जिउँदैलाई मरेको बनाई सम्पत्ति कब्जा

मृत्युको मुचुल्का बनाएर सम्पत्ति हडपेपछि पाटीको बास

गत फागुनमा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएकी पीडित लक्ष्मी पुतुवार। तस्बिर: नागरिक

बालाजुकी ६४ वर्षीया लक्ष्मी पुतुवार फागुन १४ गते नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगिन्। तर त्यहाँ उनको नागरिकता नबन्ने अवस्था आयो। किनकि वडाको सिफारिस आवश्यक भए पनि उनले लगेकी थिइनन्। उनले त आफैंलाई मृत भनेर अर्कैले झन्डै २५ वर्षअघि बनाएको मुचुल्काको कागजमात्र बोकेकी थिइन्।  

सहायक प्रजिअ तुलसी पौडेलले उनको मुचुल्काको फाइल पल्टाए। जीवित मान्छेलाई कागज (सर्जिमिन) मा मृत भनेर घोषणा गरिएको पाइएपछि लक्ष्मीसँग आवश्यक सोधपुछ भयो। लक्ष्मीले आफ्नो नागरिकता नबनेको र कागजमा आफूलाई मृत भनेर लेखिएको बताइन्। ‘हाउभाउ र बयानबाट उहाँ पीडित नै देखिनुहुन्छ। कागजी रूपमा भने मृत घोषणा गरिएको छ,’ सहायक प्रजिअ पौडेलले भने, ‘यो गम्भीर विषय हो। यसबारे हामी अनुसन्धान गर्छौं।’  

२०१२ सालमा जन्मिएकी लक्ष्मीको हालसम्म नागरिकता बनेको छैन। नागरिकताका लागि सहायता लिन उनी पाँच महिनाअघि बालाजु प्रहरी कार्यालय र आफ्नो बसोबास रहेको वडा १६ को कार्यालयमा पुगेकी थिइन्। तर वडाले सिफारिस दिन मानेन। त्यसपछि उनी फाइल बोकेर जिल्ला प्रशासन कार्यालय आएकी थिइन्।  

फाइलमा लक्ष्मीसहित मृत भनेर चारजनाको नाम उल्लेख छ। लक्ष्मीका पति, छोरा, बुहारीको मृत्यु भइसकेको छ। त्यसैमा जोडेर लक्ष्मीलाई पनि मृत भनेर मुचुल्का बनाइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार आफन्तले घरजग्गा आफ्नो बनाउन यस्तो प्रपञ्च रचेका थिए। लक्ष्मीका निकट आफन्त छैनन्। छोरा, बुहारी, पति र सासू, ससुराको मृत्यु भएपछि उनका देवर वाउने पुतुवार र अन्य छिमेकीको मिलोमतोमा किर्ते कागजात बनाइएको हुनसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

लक्ष्मीलाई मृत भनेर बनाएको मुचुल्का । तस्बिर: नागरिक

प्रजिअ जनकराज दाहालले यस्तो प्रकृतिको समस्या अनौठो रहेको बताए। उनका अनुसार उक्त मुचुल्का २०४९ असोज २२ गते बनाइएको थियो। तत्कालीन काठमाडौं महानगरपालिका– १६का सचिव नासु राम उपाध्यायले उक्त मुचुल्कामा हस्ताक्षर गरेका छन्। यसबाहेक अन्य स्थानीय तथा राजीतिक व्यक्तिहरू भीमदास मानन्धर, प्रेमकुमार थापा, श्याम फुयाँल, ईश्वर थापा, प्रेमकृष्ण मानन्धरलगायतले हस्ताक्षर गरेका छन्।

फाइलमा लक्ष्मीसहित मृत भनेर चारजनाको नाम उल्लेख छ। लक्ष्मीका पति, छोरा, बुहारीको मृत्यु भइसकेको छ। त्यसैमा जोडेर लक्ष्मीलाई पनि मृत भनेर मुचुल्का बनाइएको छ।

जिल्ला प्रशासन कार्यालयले फागुन १५ गते उक्त बेहोरा सर्जिमिनका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाएको छ। प्रहरीले प्रारम्भिक विवरण पठाएपछि यसबारे आवश्यक अनुसन्धान गरिने  प्रशासनले जनाएको छ। ‘यथार्थ बेहोरा बुझ्न हामीले मुचुल्का र अन्य कागजात प्रहरीमा पठाएका छौं। किर्ते रहेछ भने त्यस सम्बन्धमा कारबाही थाल्छौं,’ प्रजिअ दाहालले भने। उनका अनुसार प्रहरीको सर्जिमिन रिपोर्ट भने आएको छैन। रिपोर्टपछि उनको नागरिकता बनाउन कार्यालयले सहायता गर्नेछ। तर अहिले लकडाउन भएका कारण जिल्ला प्रशासनले यसबारे कुनै प्रक्रिया अघि नबढाएको उनको भनाइ छ।

पति र छोराबुहारीको मृत्युपछि पीडित लक्ष्मी नाति (छोराको छोरा) सजन पुतुवारलाई लिएर फागुनमा जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। सजन अहिले मनमैजुस्थित मामाघरमा बस्दै आएका छन्। लक्ष्मीले आफूहरू निर्दोष रहेकाले नागरिकता बनाउन र घरसम्म पुग्ने वातावरण मिलाइदिन प्रशासनसँग अनुरोध गरेकी थिइन्। तर लकडाउनका कारण उनको कागजी प्रक्रिया अघि बढेको छैन। उनका नाति सजनले हजुरआमा र आफ्नो नागरिकता बनाउन समस्या भइरहेको बताए। उनले छिमेकीहरू मिलेर हजुरआमालाई घरबाट धपाएर सम्पत्ति खोस्न खोजेको जानकारी दिए। ‘घर हुँदाहुँदै छिमेकीले उहाँलाई सडकमा आउने बनाए। यता आउन उहाँ नै मान्नुहुन्न,’ उनले भने, ‘म मामाघरमै बस्दै आइरहेको छु।’

लक्ष्मीको बालाजुमा दुईतले पक्की घर छ। छिमेकी ज्ञानबहादुर खड्काले पति, छोरा र बुहारीको मृत्युपछि लक्ष्मीलाई छिमेकी र आफन्तले नै घर निकाला गरेको बताए। त्यसयता लक्ष्मी बालाजुको एउटा पाटीमा बस्दै आएको उनको भनाइ छ।  

हालका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर तत्कालीन समयमा सोही वडाका वडाध्यक्ष थिए। आफ्नै वडाका नासु र अन्य व्यक्तिको मिलोमतोमा जीवित व्यक्तिलाई मृत भनी सर्जिमिन बनाउँदा समेत त्यसबारे आफूलाई केही जानकारी नभएको उनको दाबी छ। ‘२०४९ सालमा उक्त वडामा म नै वडाध्यक्ष थिएँ,’ राज्यमन्त्री मानन्धरले भने, ‘त्यति पुरानो कुरा सम्झन गाह्रो हुन्छ, सर्जिमिनबारे मलाई जानकारी छैन।’ उनले तत्कालीन समयमा आफूसँगै वडाको काम गरेका वडासचिव अहिले अवकाश भइसकेको बताए। उनले यसबारे आफूकहाँ पीडित आइनपुगेको जानकारी दिए। ‘मैले यसबारे बुझ्नुपर्छ,’ उनले भने, ‘म वडाध्यक्ष हुँदा यस्तो कसरी भए होला र ? म सोधपुछ अघि बढाउँछु।’

हालका वडाध्यक्ष मुकुन्द रिजालले पीडितले कागजात बोकेर आए आफूले त्यसबारे सोधिखोजी गर्ने बताए। ‘यसबारे मलाई जानकारी नै छैन,’ उनले भने, ‘त्यस्तो गल्ती तत्कालीन समयमा भएको हो भने ती व्यक्ति को–को हुन्, सोधखोज गर्नुपर्छ।’

प्रकाशित: १२ असार २०७७ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App