८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

गिठाले छाक टार्ने वशन्तपुरबासीले खाद्यान्न पाए

वशन्तपुरमा खाद्यान्न वितरण गरिंदै । तस्बिर : नगेन्द्र /नागरिक

कोरोना भाइरसको संक्रमणका कारण भईरहेको बन्दाबन्दी (लकडाउन)ले थाकल र गिठाले छाक टार्दै आएका वशन्तपुरबासीले खाद्यान्न पाएका छन् । लकडाउनका कारण कमाउन कालापहाड (भारत) गएकाहरु नफर्किएपछि बराहताल गाउँपालिका–६ को वशन्तपुरमा खाद्यान्न संकट थियो । नागरिक दैनिकमा वशन्तपुरबासीको पीडाको समाचार प्रकाशित भएपछि विकास सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडीया नेपाल) सुर्खेतले यहाँका ८० परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो ।  

आइडीया नेपालका अध्यक्ष रचना सुनारले वशन्तपुरबासीको समाचार हेरेपछि सहयोग गरिएको बताइन् । ‘दुर्गम ठाउँको यो बस्तीमा खाद्यान्नको ठूलो समस्या हामीले देख्यौं,’ अध्यक्ष सुनारले भनिन्, ‘उनीहरुलाई अझै सहयोगको खाँचो छ ।’ अध्यक्ष सुनारका अनुसार प्रतिपरिवार ३० केजी चामल, डेढ केजी दाल, २ केजी आलु, २ पोका तेल, ५ केजी हरियो तरकारी, एक प्याकेट पीठो, १ प्याकेट नुन, खुर्सानी र मसला प्रदान गरिएको बताइन् ।  

‘सशस्त्र द्वन्द्वका क्रममा बसालिएको बस्तीका हरेक घरका सदस्यहरु कमाउन भारत जाने गर्छन्,’ अध्यक्ष सुनारले भनिन्, ‘कमाउन गएकाहरु लकडाउनका कारण नफर्केकाले बस्तीमा खाद्यान्न संकट उत्पन्न भएको थाहा पाएपछि सहयोग गरेका हौं ।’  

खाद्यान्न पाएपछि स्थानीय खुसी भएका छन् । ‘कमाउन कालापहाड गएकाहरु लकडाउनले आउन पाएनन्,’ स्थानीय तुल्सी सुनारले भनिन्, ‘थाकल र गिठाले छाक टार्दै आएका हामीहरु निःशुल्क खाद्यान्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सकिँदैन ।’

भेरी नदी किनारको यो बस्तीमा १०५ घर छन् । यहाँका सबै घरका कमाउने उमेरका सदस्यहरु कालापहाड जान्छन् । कोही भने घरमा ताला लगाएर बालबालिका र परिवारलाई पनि सँगै लगेर जान्छन् । २०६२ सालमा तत्कालिन विद्रोही नेकपा माओवादीले जंगल फाडेर यहाँ बस्ती बसाएको हो । परिवार संख्याको आधारमा प्रति परिवार दुईदेखि १२ कट्ठासम्म जमिन उपलब्ध गराइएको थियो । नजिकै भेरी नदी बगिरहेको छ । यहाँका फाँटहरु भने सुख्खा छन् । सिँचाइ नहुँदा भएको ऐलानी जमिनमा बाली लाग्दैन । कालापहाडमा गरेको मजदुरीले वशन्तपुरका घरहरुमा चुल्हो बल्छ । 

‘कमाउने उमेरका सबै युवाहरु कालापहाड जान्छन्, कोही–कोही परिवारलाई सँगै लिन्छन्,’ स्थानीय शिक्षक मिलन नाम्जालीले भने, ‘कालापहाडमा मजदुरी नगर्दासम्म वशन्तपुरमा चुल्हो बल्दैन ।’  

 

 

 

 

प्रकाशित: ११ असार २०७७ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App