१६ चैत्र २०८० शुक्रबार
समाज

सडकमा ग्राभेल खसाल्ने कामलाई रोक्न गएका नगर प्रहरी कुटिए

कुटपिटबाट टाउकोमा चोट लागेकी नगर प्रहरी कुशवाहा कलैया अस्पतालमा उपचार गराउँदै।

शहरी विकास मन्त्रालयबाट आएको बजेटबाट गुपचुप तरिकाले भैरहेको सिमरा–मलाही सडकमा ग्राभेल खसाल्ने कामको बारेमा बुझ्न गएको महागढीमाई नगरपालिकाका नगर प्रहरीलाई बुधबार कुटपिट गरिएको छ। कुटपिटबाट नगर प्रहरी नमिता कुशवाह लगायत घाईले भएका छन्। धारिलो हतियारबाट प्रहार गरिएको कुशवाहाको टाउकोमा चारवटा टाँका लागेको कलैया अस्पतालले जनाएको छ।

‘नगरप्रहरीको टाउकोमा गहिरो चोट लागेको छ,’ कलैया अस्पतालका डाक्टर रबी रोशन गुप्ताले भने, ‘चारवटा टाँका लगाइएको र थप उपचारको लागी वीरगन्ज पठाइएको छ।’ महागढीमाई नगरपालिकालाई जानकारी नै नगराएर ६५ लाखको उपभोक्ता समितीबाट ग्राभेल भैरहेको थाहा पाएपछि त्यसको बारेमा जानकारी गराउन शघन शहरी तथा भवन निर्माण आयोजना पर्सा विरगन्जलाई भने पनि कुनै जानकारी नगराएको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले बताएका छन्।  

नगरपालिका प्रमुख यादवका अनुसार उपभोक्त समितिलाई नगरपालिकालाई जानकारी गराएर मात्र काम गर्ने भन्न गएको नगरपालिकाको टोलीमाथी जनता समाजवादी पाटीका कार्यकर्ता र उपभोक्त समितिका पदाधिकारीले कुटपिट गरेका बताए।  

नगरपालिकामा पर्ने सडकमा केन्द्रबाट बजेट ल्याएर अनियमित गर्ने देखिएको र त्यसको पारर्दर्शी गर्ने भन्दा उल्टै कर्मचारीलाई कुटपिट गरिएको अवस्था रहेको उनले जानकारी दिए । सडकमा आएको बजेट रकमलाई ग्राभल खसाल्ने नाममा बारा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रामशहायक यादवले बजेट रकमलाई दुरुपयोग गराउन लागेको गुनासो आए पछि त्यसको बारेमा बुझ्न गएको टोली पठाइएको उनले बताए। बजेट रकमलाई २५÷३० प्रतिशत काममा लगाउने र बाँकी रकम भष्ट्राचारको नियत भएको नगरपालिकाको कर्मचारीले बताएका छन् ।

शहरी विकास मन्त्रालयबाट आएको ६५ लाख बजेटको ग्राभेल गर्न त्यस छेत्रका सांसद रामशहायक यादवले पेश गरेका उपभोक्ता समितिलाई नै काम गर्ने दिएको शघन शहरी तथा भवन निर्माण आयोजना पर्सा विरगन्जका प्रमुख रन्जन कुमार दासले बताएको छन्। स्थानीय निकायको सिफारिस बिना कुन प्रक्रियाले उपभोक्त समिति बनाएको प्रश्नमा दासले कुनै–कुनै काम व्यवहारीक तरीकाले पनि गर्नु पर्ने भएकोले यो व्यवहारीक तरीकाले गरिएको उनले बताए ।  

प्रतिनिधि सभा सदस्य रामशहायक यादवले केन्द्रिय बजेट नगरपालिकाको समन्यय बिना नै  उपभोक्ता समितीलाई  काम गर्न दिएको विषयमा बिवाद भएको र बिवाद नमिलेसम्म काम नगर्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले रोक्न लगाएको बाराक प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताए। नगर प्रहरी कुटपिट गर्ने कार्यमा दोषी रहेकोलाई कारवाही गरिने उनले बताए।

प्रकाशित: १० असार २०७७ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App