coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा दुई असईमाथि कारवाही

रौतहटमा नेपाल प्रहरीका दुई जना असईमाथि कारवाही हुने भएको छ भने एक जना असईको सडक दुर्घटनामा मृत्यु भएको छ ।  

गए राति मध्यरातमा रौतहटका एकजना असई महिलासित आपत्तिजनक अवस्थामा भेटिएका छन् । प्रहरी चौकी बसतपुरका इन्चार्ज असई सन्जीप झालाई मध्यरातमा आपत्तिजनक अवस्थामा घेरा हाली नियन्त्रणमा लिएर बुधबार बिहान स्थानीयले जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएका हुन् । मंगलबार राति एक बजेको समयमा महिलालाई फोन गरी महिलाको घरभन्दा करिब तीन सय मिटर टाढा लगी करणी गर्न खोजेपछि महिला चिच्याएकी थिइन् । महिला चिच्याएपछि आसपासको क्षेत्रबाट मानिसहरू दौडेर असई झालाई नियन्त्रणमा लिएका थिए ।

रातभर स्थानीयको घेराबन्दीमा रहेका असई झालाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उद्धार गरेको हो । अनुसन्धान गरी कारवाही गर्ने आश्वासन जिल्ला प्रहरीको तर्फबाट आएपछि असई झालाई प्रहरीको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले कारवाही गर्ने आश्वासन दिएपछि स्थानीयले प्रहरीको जिम्मा लगाएको राजदेवी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सनुप महतोले जानकारी दिएका छन् । महिलाप्रति असई झाको दृष्टिकोण नै गलत रहेको र असई झाले महिलालाई फसाउन खोजेको स्थानीयको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले असई झामाथि कारवाही नगरे स्थानीयले आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

असई झालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याएर घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यसै गरी महिलासित पनि सोधखोज जारी रहेको रौतहट प्रहरी प्रमुख रविराज खडकाले जानकारी दिएका छन् ।  

गत हप्ता ईशनाथ नगरपालिका वडा नम्बर ३ मा रहेको प्रहरी चौकी औरैयाका इन्चार्ज असई ललित साहलाई कारवाहीको लागि प्रदेश प्रहरी कार्यालयमा बुझाइएको छ । भारतबाट हुन्डीको कारोबार गर्नेहरुसित मोटो रकम लिई कम मात्र राजस्व देखाउने गरेको आरोपमा असई साह प्रदेश प्रहरी कार्यालयमा तानिएका हुन् । गत हप्ता एक जनासित बरामद भएको आधा रकम असई साह र अर्का एकजना प्रहरी जवान दिनेश हजरा मिलेर पचाउन खोजेका थिए । यसअघि पनि एक जनाबाट बरामद भएको २१ लाख रुपैयामध्ये ११ लाख मात्र बुझाएको र १० लाख रुपैया आफैँले राखेको असई साहमाथि आरोप रहेको छ । असई साहसँगै जवान हजरा पनि प्रदेश प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा रहेका छन् ।  

यसैबीच लौकाहा प्रहरी चौकीका इन्चार्ज असई मुनमुन सिंहको मंगलबार सडक दुर्घटनामा मृत्यु भएको छ । विदामा घर जान लागेको असई सिंह दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । असई सिंहको मृत्यु भएकै रात असई झा महिलासित आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् ।

प्रकाशित: १० असार २०७७ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App