८ वैशाख २०८१ शनिबार
समाज

कोसी टप्पु आसपास हात्ती आतंक

फाइल तस्बिर।

कोसी टप्पु वन्यजन्तु आरक्ष तथा आसपासका क्षेत्रमा पछिल्लो समय जंगली हातीको समूहले सर्वसाधारणको घर भत्काउनुका साथै अन्नबाली सखाप पर्ने क्रम बढ्दो छ। बस्तीमा पसेर शृंखलाबद्ध रुपमा क्षति पु-याउन थालेपछि गाउँले त्राहीमाम भएका छन्।  

‘अहिलेसम्म मानवीय क्षति नपु-याए पनि मकै खाएर सर्वसाधारणको ठूलो क्षति गरेको छ,’ वराहक्षेत्र वडा नं. ९ का वडाअध्यक्ष दीपक लिम्बूले भने, ‘चार–पाँचजनाको घरमा पनि क्षति पु-याएको छ।’ उनका अनुसार दिउँसै हात्ती गाउँमा प्रवेश गर्नाले गाउँले त्राहीमाम भएका छन्। यसअघि रातको समयमा मात्र हात्ती गाउँमा प्रवेश गर्थे। ‘रातिभरी गाउँले त्रासले सुत्दैनन्,’ वडाअध्यक्ष लिम्बूले भने, ‘अन्नबालीसँगै केरा र बाँसको तामा खाएर नष्ट गरेकै छ, कुनै पनि बेला मानिस पनि दुर्घटनामा पर्ने सक्ने खतरा छ।’  

वराहक्षेत्र प्रकाशपुरका बाबुराम कार्कीले हात्ती कोसी टप्पु आरक्षको उत्तरी सिमानाबाट गाउँमा प्रवेश गर्ने गरेको बताए। ‘हात्ती समूहमा गाउँमा प्रवेश गरेपछि स्वाभाविक रुपमा सबैजना त्रसित हुने अवस्था छ,’ पत्रकारसमेत रहेका कार्कीले भने।  

कोसी टप्पु आरक्ष र आसपासका क्षेत्रमा यो वर्ष १७ वटा हात्ती रहेको र तिनैले आतंक मच्चाउँदै आएको आरक्ष प्रशासनले जनायो। ‘वराहक्षेत्रको प्रकाशपुर क्षेत्रमा किसानले मकैसँगै उखु र आँप लगाएकाले गर्दा लोभिएर गाउँ प्रवेश गर्ने गरेको पाइएको छ,’ आरक्षका वार्डेन रामदेव चौधरीले भने, ‘कोसी गाउँपालिका क्षेत्रको भण्टाबारीतिर मकै थन्क्याएकाले गर्दा उत्तरतर्फको गाउँमा यति बेला बढी असर गर्ने गरेका छन्।’ कोसी टप्पु क्षेत्रमा ११ वटा हात्ती थिए। पछि तिनैले छावा जन्माएर १४ वटा पुगेका थिए। यो वर्ष थप तीनवटा छावा जन्माएपछि १७ वटा पुगेको वार्डेन चौधरीले जानकारी दिए।  

मकुना नाम गरेको दाँत नभएको हात्ती बस्तीमा एक्लै पसे पनि अरु भने समूहमा प्रवेश गर्ने गरेको वार्डेन चौधरीले सुनाए। आरक्ष प्रशासनले हात्ती ‘कन्ट्रोल’ अभियान चलाइरहेको छ। तर कर्मचारीको भरमा मात्र सम्भव नहुने स्थिति रहेको उनले बताए। ‘खासगरी आरक्षको दक्षिणी क्षेत्रमा स्थानीयले विद्युतीय घेराबेरामा क्षति पु¥याउने गरेका छन्, जसले गर्दा सजिलै हात्ती गाउँ प्रवेश गर्छन्,’ उनले भने, ‘यसका लागि स्थानीयको पनि सहयोग चाहिन्छ।’ हात्तीले बर्सेनि अन्नबालीसँगै मानवीय क्षति पु¥याउँदै आएको छ।  

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हात्तीलाई गाउँ प्रवेश गर्नबाट रोक्न सुनसरीको बस्तीतर्फ विद्युतीय घेराबेरा गरिए पनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ। कोसीपूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ।  

नेपालमा २ सयदेखि २ सय २५ वटा जंगली हात्ती छन्। कोसी टप्पुमा १७ वटा हात्ती रहेकोमा भारतबाट झापाको बाहुनडाँगीमा १ सय ३० देखि १ सय ५० वटासम्म आउने गरेका छन्।  आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८ सय ६५ घर परिवारका ८४ हजार ४ सय २३ जना बसोबास गर्छन्।

प्रकाशित: १० असार २०७७ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App