coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो

कोरोना संक्रमणबाट मृत्यु भएका दैलेखका ४५ वर्षिय पुरुषलाई वीरेन्द्रनगर–२ को जंगलमा गाड्दै नेपाली सेनाको टोली। तस्बिर सौजन्य : सुशील खड्का

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। कर्णाली प्रदेश अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षिय पुरुषको सोमबार राति साढे ९ बजे मृत्यु भएको हो। योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।  

दुई महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका उनी असार एक गते राति साढे दुई बजे उपचारका लागि कर्णाली प्रदेश अस्पताल आएका थिए। उनलाई दुई दिनसम्म इमरजेन्सी कक्षमा राखिएको थियो भने त्यसपछि आइसियूमा राखेर उपचार भइरहेको थियो। प्रदेश अस्पतालका कोभिड–१९ फोकलपर्सन डा. केएन पौडेलका अनुसार अस्पताल भर्ना भएपछि उनको कोरोना परीक्षण गरिएको थियो। असार चार गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

‘असार एक गते उहाँ इमरजेन्सीमा भर्ना हुनु भएको थियो, चार गते टेष्ट गर्दा कोराना पोजेटिभ देखियो,’ पौडेलले भने, ‘त्यसपछि कोरोना विशेष अस्पतालको आइसियुमा राखेर उपचार गरिरहेका थियौं, सोमबार राति मृत्यु भयो।’

प्रदेश अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएका विरामी मध्ये मृतकसहित तीन जनामा असार चार गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालनै सिल गरिएको थियो। कोरोना संक्रमण पुष्टि भएकाहरुको उपचारमा संलग्न चिकित्सकदेखि सहयोगीसम्मको पीसीआर परीक्षण गरिएको थियो। सोक्रममा अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।  

‘अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो,’ प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले भने, ‘उनीहरुमध्ये पाँच जनालाई कोरोना संक्रमण देखिएको हो।’ संक्रमितलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

कोरोना संक्रमणका कारण मृत्यु भएका पुरुषका श्रीमती पनिसँगै अस्पताल आएकी थिइन्। श्रीमतीलाई भने कोरोना नेगेटिभ देखिएको डाक्टर पौडेलले बताए। ‘हामीले तीन पटक पिसीआर गरिसक्यौं’, उनले भने, ‘महिलामा नेगेटिभ छ।’ श्रीमानको दाहसंस्कारपछि श्रीमतीलाई घर पठाएर उतै क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइने छ। कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि दैलेख र डोल्पामा एक–एक जना र सुर्खेतमा दुई जनाको मृत्यु भएको थियो। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।

 

 

प्रकाशित: ९ असार २०७७ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App