१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चरिकोट अस्पताल पुग्ने सडककै बिजोग

दोलखाको सदरमुकाम चरिकोट स्थित पशुपतिडाँडा देखी भीमेश्वर नगरपालिका कार्यालय जाने सडकको अवस्था । तस्बिर : रमेश खतिवडा/नागरिक

जिल्ला सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल आउँजाउ गर्ने सडक हिलो र खाल्डाखुल्डीका कारण अस्तव्यस्त बनेको छ । शहरी विकास तथा भवन बिभागले ठेकेदार मार्फत पशुपतिडाँडाबाट अस्पताल, भीमेश्वर नगरपालिका कार्यालय हुँदै पाखाटोल सम्म बिस्तार र कालोपत्रे गराउँदै गरेको सडक वर्षातका कारण हिलाम्मे भएकाले अस्पताल जाने बिरामीहरू मर्कामा परेका छन् ।  

टुडिखेल गौंडाबाट उद्योग बाणिज्य संघ, आँखा अस्पताल, चरिकोट अस्पताल अगाडी सम्मको सडक आइतबार राती देखी परेको पानीले हिलाम्मे बनेको थियो । अस्पताल आउँजाउ गर्ने सडकको अवस्था नै बिजोग हुँदा सोमबार चरिकोट अस्पतालमा बालबालिकालाई खोप लगाउन गएका महिलाहरू सबैभन्दा धेरै प्रभावित बनेका देखिन्थे । ‘सोमबार अस्पतालमा खोप लगाउने दिन हुन्छ,’ अस्पतालको खोप शाखामा कार्यरत स्वास्थ्यकर्मी प्रतिमा थापाले भनिन, ‘सडकमा हिड्ने ठाउँ समेत नभएका कारण उहाँहरुको साह्रै बिजोग देखिन्थ्यो ।’ 

हिलाम्मे सडकका कारण बिरामी बोकेर अस्पताल जाने हलुका सवारी साधनहरू बाटोमै फस्ने गरेका छन् । बिरामी बोकेर दुई पांग्रेमा आउजाउ गर्नेहरूलाई कष्ट छ । एकातिर कोरोनाको माहामारी र अर्कातिर सामान्य रोगका बिरामी समेत आउँजाउ गर्नुपर्ने अस्पतालको मुख्य सडकको बेहाल देखेर सोमबार भेटिएका बटुवाहरू आक्रोशित थिए ।    

शहरी विकास तथा भवन बिभागले करिब १२ करोडको लगानीमा पशुपतिडाँडा देखी अस्पताल हुँदै नगरपालिका सम्म र भ्युटावर क्षेत्रमा गरेर डेढ बर्ष अघि तिन प्याकेजमा यो सडकको ठेक्का निकालेको थियो । सडकको ठेक्का कोशी एण्ड न्यौपाने तथा खम्पाचे निर्माण सेवाले साझेदारीमा पाएको थियो । दैनिक सैंयौको संख्यामा अस्पताल जाने बिरामी, नगरपालिकाका जनप्रतिनिधि, आँखा अस्पताल आउजाउ गर्नेहरू, जिल्ला प्रशासन कार्यालय, नापी सहितका सरकारी अड्डा आउजाउ गर्नेहरू यो सडक मार्ग हुदै ओहोरदोहोर गर्छन् । सडकका कारण नागरिकले सास्ती व्यहोरेको बारे नगरपालिकाको कार्यपालिका बैठकमा समेत सोमबार बिषय उठेको थियो ।  

यो सडक हेर्ने बिभागको रामेछाप स्थित मन्थलीमा रहेको कार्यालयका प्रमुख अमर थापाले केही दिन यता परेको पानीले सडक बिगारेको बताए । ‘ठेकेदार कम्पनीले लकडाउनको बिच देखी नै काम थालेको हो,’ उनले भने, ‘तर ग्राभेल बिच्छ्याइए लगत्तै पानी परेका कारण बाटो त्यस्तो भएको हो, छिट्टै आउजाउ सहज बनाउने गरी काम गर्न लगाउछौं ।’ थापाका अनुसार ठेकेदारको म्याद आगामी पुस सम्म छ ।  

ठेकेदार कम्पनीका प्रतिनिधि पासाङ शेर्पाले आफुहरूले नियमित काम गरिरहेको भएपनि पानीका कारण हिलाम्म्मे भएको बताए । ‘अन्त खास त्यस्तो समस्या छैन, टुडिखेल गौडा देखी उद्योग बाणिज्य संघ अगाडी सम्म समस्या भएको हो,’ उनले भने, ‘त्यहाँ हामीले अगाडी नै बेस बिच्छ्याई सकेको थियौं, तर सडक मुनी जिल्ला प्रहरी, प्रजिअ निवास, सशस्त्र प्रहरीको ब्यारेकमा गएको खानेपानीको लाईन रहेछ, त्यसले पनि बिगा¥यो, आकाशबाट परेको पानीले पनि समस्या दियो ।’ शेर्पाले घाम लाग्ने बितिकै हिलो पन्छाएर रोलरले पेल्ने र तुरुन्तै आउँजाउ सहज तुल्याउने बताए ।

प्रकाशित: ८ असार २०७७ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App