६ वैशाख २०८१ बिहीबार
समाज

उदयपुरमा थप ५ मा कोरोना पुष्टि

संक्रमित संख्या ५२ पुग्दा ३५ निको भएर फर्के

उदयपुरमा भारतबाट घर फर्कनेहरुमा धमाधम कोरोना भाइरस (कोभिड–१९) पुष्टि हुने क्रम जारी छ । आइतबारसम्म कोरोना पुष्टि भएका ५२ संक्रमितमध्ये पछिल्लो पटक थपिएका १९ जना सबै भारतबाट फर्केकाहरु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।  

स्वास्थ्य अधिकृत मोहन सुबेदीका अनुसार सोमाबर थपिएका ५ संक्रमित पनि भारतबाटै आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । संक्रमितहरुमा त्रियुगा नगरपालिका ५ की ३८ वर्षीया महिला र त्रियुगा ९ का ४० वर्षीय पुरुष दुवै त्रियुगा नगरपालिकाको क्वारेन्टिनमा राखिएकाहरु हुन् । त्यस्तै कटारी ५ का १९ वर्षीय पुरुष, ताप्ली ५ घर भई उदयुरगढी ६ को क्वारेन्टिनमा पिसिआर चेक गरिएका ३५ वर्षीय पुरुष र उदयपुरगढी ७ का २० वर्षीय युवामा संक्रमण देखिएको सुबेदीले बताए ।  

अन्य सबै संक्रमितहरु क्वारेन्टिनमै रहे पनि ताप्लीका संक्रमित पिसिआर परीक्षण गर्न उदयपुगढीमा स्वाब दिएर घर गएपछि संक्रमित पुष्टि भएका छन् । भारतबाट घर फर्केका युवामा संक्रमण पुष्टि भएपछि ताप्लीबासीमा त्रास बढेको स्थानीयले बताएका छन् । यसअघि गाईघाटमा कार्यरत एक पत्रकार ताप्लीकै हुन् भने आइतबार संक्रमित पुष्टि भएका युवा भारतबाट साताअघि मात्र नेपाल आएका हुन् । भारतबाट फर्कने उदयपुरगढीका स्थानीयसँगको समूहमा रहेका कारण उनलाई पनि उदयपुरगढीकै क्वारेन्टिनमा राखिएको थियो ।  

कुनै लक्षण नदेखिएकाले अन्यको सँगै स्वाब संकलनपछि उनी ताप्ली घर गएका थिए । उनलाई चौदण्डीगढी नगरपालिकामा भर्खरै बनाइएको आइसोलेसन वार्डमा उपचार गर्न ल्याउने तयारी भईरहेको स्वास्थ्यले जनाएको छ ।  

भारतका बिभिन्न ठाउँमा मजदुरी गर्न गएकाहरु घर फर्केसँगै सातादिनभित्र डेढदर्जन बढीमा संक्रमण फेला पर्न थालेपछि जिल्लामा पुनः त्रास बढ्न थालेको छ । वैशाख पहिलो सातादेखि भुल्केमा सल्किएको संक्रमण धेरै मेहनेत र चलाखीपूर्वक नियन्त्रणमा ल्याउन सफल भए पनि भारतबाट फर्केकालाई व्यवस्थित गर्न नसक्दा पुनः संक्रमणको खतरा बढेकोमा स्वास्थ्य अधिकृत सुबेदीलाई चिन्ता लागेको छ ।  

वैशाख ५ गतेदेखि भुल्के मस्जिदमा भेटिएका १२ भारतीयसहित १६ जमाति र अन्य १६ जना भुल्केबासीमा फैलिएको संक्रमण पनि भारतबाट आएका युवाहरुबाटै भएको थियो । चैत १२ गते भारतको लखनउमा उद्र्धु भाषा अध्ययनरत स्थानीय संक्रमित युवा फर्केपछि मस्जिदमा संक्रमण फैलिएको निश्कर्ष निस्केको थियो ।  

स्वास्थ्य कार्यालयका अनुसार उदयपुरमा अहिलेसम्म ३ हजार ८२ जनाको स्वाब परीक्षण गरिसकिएको छ । जसमध्ये १० महिला र ४२ पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ भने ८ सय ६० महिला र १ हजार ९ सय ६८ पुरुषको रिपोर्ट नेगेटिभ आएकोछ । संक्रमित देखिनेहरुमा सबभन्दा बढी त्रियुगा नगरपालका ८ महिलासहित ३९, बेलका नगरपालिकामा १ महिलासहित ५, कटारी, चौदण्डीगढी र उदयपुरगढीमा १÷१ जना छन् ।  

संक्रमितमध्ये सुरुका ३३ र पछिल्ला दुईजना निको भएर घर फर्किसकेका छन् । संक्रमित पुष्टि भएपछि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचार गर्न लगिएका भुल्केका ६ महिलासहित ३२ घर फर्किसकेका छन् । जेठ १ गते संक्रमित पाइएका ताप्ली घर भई गाईघाटमा बस्दै आएका एक पत्रकार तथा जेठ अन्तिममा सक्रमित बेलका ३ की एक महिला र चौदण्डीगढी ५ का १ पुरुषले पनि कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रकाशित: ७ असार २०७७ १५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App