coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

क्वारेन्टिन व्यवस्थापनमा समस्या

मोरङको सुनवर्षी स्थित पटियापाडा आधारभुत विद्यालयको क्वारेन्टिन । तस्बिर : चुमन बस्नेत/नागरिक

मोरङका स्थानीय तहहरूले सञ्चालन गरेको क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ । संघीय  सरकार र प्रदेश सरकारले आबश्यक सहयोग नगर्दा मोरङका विभिन्न स्थानीय तहहरूमा सञ्चालित क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको हो ।  

मोरङमा भारत तथा अन्य देशबाट आउनेहरूको संख्या दैनिक बढ्दो छ । तर, स्रोत साधनको अभावले स्थानीयतहहलाई क्वारेन्टिनको व्यवस्थापन गर्न हम्मे पर्न थालेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । क्वारेन्टिनको व्यवस्थापनमा समस्या भएपछि कतिपय स्थानीयतहहरूले क्वारेन्टिनको संख्यासमेत घटाउन थालेका छन् । मोरङको सुनवर्षी नगरपालिकाले विगतमा १४ वटा क्वारेन्टिन सञ्चालन गरेकोमा हाल संख्या घटाएर ६ वटामा झारेको छ । 

संघ र प्रदेश सरकारबाट प्रयाप्त सहयोग नपाएपछि आफ्नै स्रोतमा धेरै वटा क्वारेन्टिनको व्यवस्थापन गर्न कठिनाई भएकाले संख्या घटाउनु परेको सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले बताए । उनले भने ‘स्थानीय स्रोत साधनलेमात्रै धेरै वटा क्वारेन्टिनको व्यवस्थापन संभव नभएकाले संख्या घटाउनुपरेको हो ।’ सुनवर्षी नगरपालिकामा हालसम्म २ सय ५० जना भन्दा बढी क्वारेन्टिनमा राखेर सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ । 

सुनवर्षीले मात्र हैन मोरङकै रतुवामाई नगरपालिकाले पनि क्वोन्टिनको संख्या घटाएको छ । संघ र प्रदेश सरकारले आबश्यक सहयोग नगरेका कारण क्वारेन्टिनको व्यवस्थापनमा समस्या भएको रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले  बताए । ‘हामीले आफ्नो क्षमताले भ्याएसम्म क्वारेन्टिन व्यवस्थापन गरेका छौं ’ उनले भने‘तर, संघ र प्रदेश सरकारबाट आवश्यक सहयोग नपाइएको  साथै समयमै पीसीआर रिपोर्टसमेत नआउँदा क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ ।’ 

रतुवामाई नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा हालसम्म ५ सय जना भन्दा बढीलाई सेवा प्रदान गरिएको छ । कोभिड १९ महामारी फैलिएसंगै स्थानीय तहले मोरङमा  ७७ वटा क्वारेन्टिन सञ्चालनमा ल्याइएका छन् । अधिकाँश स्थानीयतहले विद्यालय, मदरसालगायतलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिरहेका छन् । विद्यालय र मदरसामा प्रयाप्न भौतिक पूर्वाधार नहु“दा शौचालय, खानेपानीलगायतका आधारभूत सेवा  सुविधासमेत पु¥याउन  गाह्रो हुने गरेको छ ।  

यता विराटनगर महानगरपालिकाले भने व्यवस्थित रुपमा क्वारेन्टिन सञ्चालन गरिरहेको दाबी गरेको छ । महानगरका मेयर भीम पराजुलीका अनुसार अन्य क्षेत्रको तुलनामा महानगरको क्वारेन्टिन व्यवस्थित र सुविधाजनक छ । उनले भने, ‘ हामीले आन्तरिक स्रोत जुटाएर क्वारेन्टिनको व्यवस्थापनलाई चुस्त बनाएका छौं । केही दिन अघि युएनको अनुगमन टोलिले महानगरपालिकाका क्वारेन्टिनहरूको अनुगमन गरेर उत्कृष्ट व्यवस्थापन भएको ठहर गरेको प्रमुख पराजुलीले बताए । विराटनगरस्थित माडवारी सदनमा महिला, सुत्केरी, अपाङ्गता भएका र बालबालिकालाई राखिएको छ । उनीहरूका लागि महिलाहरूले सबै प्रकारका सेवा उपलब्ध गराइरहेका छन् । 

मेयर पराजुलीका अनुसार हाल महानगरको क्वारेन्टिनमा ५६ पुरुष र ३६ महिला गरी कुल ९३ जनालाई राखिएको छ । ट्राभल हिस्ट्रि अनुसार एउटा कोठामा दुई वटा वेड वा एकल वेडको व्यवस्था गरिएको छ । यस्तै ग्रीन जोन बनाउन स्थानीयले पनि सहयोग गरिरहेकाछन् । यस्तै महानगरपालिकाका सबै वडामा नागरिक निगरानी समितिसमेत गठन गरी सिमा क्षेत्रमा निगरानी बढाइएको महानगर प्रमुख पराजुलीले जानकारी दिए । सबै पक्षबाट निगरानी भएकाले विराटनगर बजारसमेत खोलिएको, राहत बाँडिएको र पछिल्लोसमय रोजगारलाई महत्व दिंदै यस क्षेत्रका उद्योग खोल्नसमेत सहयोग गरेको बताए । ‘संघीय  र प्रदेश सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएकाले आफ्नै स्रोतबाट राहत बितरण देखि क्वारेन्टिनसम्मको व्यवस्थापन गरिरहेका छौं’ पराजुलीले भने  ।  

नगरक्षेत्रमा पीसीआरको दायर बढाउन जरुरी भए पनि बढाउन नसकिएको पराजुलीले बताए ।  विराटनगर स्थित कोसी अस्पातलको प्रयोगशाला  र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट आउन ढिला सुस्ती भइरहेका कारण पीसीआर परिक्षणको दायरा बढाउन नसकिएको महानगरपालिकाले जनाएको छ । पिसीआरको दायार बढाउन महानगरपालिकाले आफ्नै पीसीआर ल्याव स्थापनाको लागि पहलसमेत  थालेको जनाएको छ  । 

पराजुलीका अनुसार महानगरका भगिनि सम्बन्ध भएका विभिन्न देशका स्थानीयसरकारसँग पिसीआर ल्याव स्थापनाका लागि सहयोग मागिएको छ । तत्काल सहयोग नआए आफ्नै स्रोतबाट भए पनि ल्याव स्थापना गर्ने सोचमा महानगरपालिका रहेको छ । ‘भगिनी सम्बन्ध भएका विदेशी शहरहरूबाट तत्काल सहयोग नआएको खण्डमा महानगरपालिकाले आफ्नै स्रोतबाट चा“डै पिसीआर ल्याव स्थापना गरेर परिक्षणको दायरा बढाउने छ ’ पराजुलीले भने ।  

महानगरपालिका अनुसार महानगरपालिकाले कोरोनाका शंकास्पद व्यक्तिहरू र विदेशबाट आएकाहरूलाई राख्न  नगरका ५ स्थानमा क्वारेन्टिनको व्यवस्था गरेको छ । महानगरले बैजनाथपुरस्थित स्वास्थ्य उपचार केन्द्र, काली मन्दिर, अथिति सदन, मारवाडी सेवा सदन र पाञ्चाली मन्दिरमा  क्वारेन्टिनको व्यवस्थ गरेको छ ।  महानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा हालसम्म ३ सय ६४ जनालाई सेवा उपलब्ध गराईएको महानगरपालिकाले जनाएको छ ।  

भारत, ओमान, साउदी अरब, बंगलादेश लगायतबाट आएकाहरुलाई पनि क्वारेन्टिनमा राखिएको  महानगरले जनाएको छ । महानगरकै पहलमा शुल्क तिरेर बस्न चाहानेलाई होटलकोसमेत ब्यवस्था गरिएको छ ।  

मोरङका १७ वटा स्थानीय तहमा हालसम्म ७७ वटा क्वारेन्टिन बनाइएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार  मोरङमा हालसम्म ३ हजार १ सय ७ जनालाई क्वारेन्टिनमा राखिएको छ । जसमा १ हजार ८ सय ३८ जना क्वारेन्टिनबाट  फिर्ता पठाइसकिएको छ । अझै १ हजार २ सय ६९ जना जिल्लाका विभिन्न क्वरेन्टिनमा  छन् ।

प्रकाशित: ७ असार २०७७ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App