नेपाल पञ्चांग निर्णायक समितिले आइतबार खण्डग्रास सूर्यग्रहण लाग्ने जनाएको छ। समितिका अनुसार बिहान १०ः५० बजेदेखि दिउँसो २ बजेर २३ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण (आधा सूर्य ढाकिने) लाग्नेछ।
समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने जानकारी दिए। काठमाडौंबाट मध्याह्न १२ः४ मिनेटमा सूर्य करिब ८८ प्रतिशत ढाकिएको अवस्थामा देखिनेछ।
नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिनेछ। तर इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन र कुरुक्षेत्र, चीनको स्वाशासित क्षेत्र तिब्बत आदि ठाउँबाट वलय सूर्यग्रहण (पूरै सूर्य ढाकिएको) देख्न सकिनेछ।
नेपालको पूर्वी भेकबाट सन् १९६५ नोभेम्बर २३ तारिखको बिहान बलय सूर्यग्रहण देखिएको थियो। नेपालको दक्षिणपूर्वी भूभागबाट अर्को वलय सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा देखिने बताइएको छ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कार्य गर्दा शुभ हुने धार्मिक मान्यता छ। सूर्यग्रहणमा चार प्रहर (१२) घण्टा र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रमा उल्लेख छ। आइतबार आषाढ कृष्ण औंसी तिथि हो।
प्रकाशित: ७ असार २०७७ ०१:४४ आइतबार