२० श्रावण २०७७ मंगलबार
समाज

भारतबाट खसीको तस्करी

बन्दाबन्दीको समयमा नेपाल र भारत दुवैतिरबाट औपचारिकरुपमा आवतजावत बन्द रहेको भए पनि खसीको तस्करी हुने गरेको पाइएको छ । रौतहट प्रहरीले एकै रातमा साढे सात लाख रुपैयाँ मूल्य बराबरको तस्करीको खसी बरामद गरेपछि लुकीछिपी तस्करी हुने गरेको रहस्य खुलेको हो ।

रौतहटको राजपुर नगरपालिका ६ कुडिया गाउँको एउटा गोठबाट प्रहरीले ३५ थान खसी बरामद गरेको छ । रातिको समय पारेर भारतबाट धेरै खसी तस्करी गरी भित्र्याएको सूचनाको आधारमा प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय राजपुरको संयुक्त टोलीले खसी बरामद गरेको हो ।

खसीको बजार मूल्य ७ लाख ५० हजार रुपैयाँ रहेको अनुमान छ ।

भारत बिहारको पूर्वी चम्पारण जिल्लाको कुन्डवा चैनपुर बजारबाट रातीको समय पारेर प्रहरीको आँखा छली खसी तस्करी भएको प्रहरीको भनाइ छ । तस्करी गरी लुकाइराखेको अवस्थामा प्रहरीले खसी बरामद गर्न सफल भए पनि तस्करी गर्ने मानिस फरार भएको इलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।

बरामद गरिएको खसी भन्सार बुझाइने र फरार तस्करको खोजी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राजपुरका प्रमुख सई दीपक गुप्ताले जानकारी गराएका छन् ।

 

प्रकाशित: ६ असार २०७७ २१:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App